कांग्रेसद्वारा प्रशासनमा धर्ना



बाँके, (नेस) । तरुण दलको अगुवाइमा नेपाली कांग्रेसले सोमबार नेपालगन्जमा प्रदर्शन गर्दैै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ।तरुण दलका नेपालगन्ज नगर सभापति सन्दीपजंग शाहलगायत चार जना हतियारसहित पक्राउ परेपछि नेपाली कांग्रेस निरन्तर सडकमा ओर्लिएको छ।
कांगे्रसले तरुण दलका नगर सभापति शाहसहित चार जनालाई प्रहरीले पेस्तोल राखेर फसाएको दावी गर्दै आएको छ।कात्तिक १४ गते गनापुरमा रहेको नमस्ते भिलेजमा रहेका शाहलगायतको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएर कार जाँच गर्दा अटोमेटिक पेस्तोल बरामद भएको थियो। कांग्रेसले कोहलपुरका डीएसपी हेम शाहीले राखेर फसाएको दाबी गर्दै आएको छ।
कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रिय सभाका प्रतिपक्षी नेता सुरेन्द्र पाण्डेले बाँकेको प्रहरी प्रशासन सत्ताको साझेदार भएको टिप्पणी गर्नुभयो। उहाँले बाँके प्रहरी प्रमुख एसपी, डीएसपीलाई नेकपाको कार्यकर्ता नहुन चेतावनी दिए। ‘खसी, कुखुरा, रक्सी नदिएको भरमा थुन्न पाइँदैन,’ केन्द्रीय सदस्य पाण्डेले भन्नुभया– ‘प्रहरी प्रशासन बेलैमा नसच्चिए आन्दोलनको आधिबेहरी सिर्जना गर्छौ।’
तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागार्इंले प्रहरी प्रशासनको ज्यादति लोकतन्त्रमाथिको हस्तक्षेप भएको बताउनुभयो। उहाँले बिहीबारसम्म बाँकेका एसपी र कोहलपुरका डीएसपीलाई निलम्बन नगरे शुक्रबारदेखि ७७ वटै जिल्ला ठप्प पार्ने चेतावनी दिनुभयो।
नेपाली कांगे्रेस बाँकेकी सभापति किरण कोइरालाले बाँकेको प्रहरी प्रशासनले कांगे्रसको विरुद्धमा काम गरिरहेको बताउनुभयो। उहाँले कांग्रेसको जागरण अभियानका क्रममा सीतापुरदेखि सन्दीपको घटनासम्म हेर्दा प्रहरीले नेकपाको कार्यकर्ता भएर काम गरेको बताउनुभयो।
तत्काल बाँकेका एसपी र डीएसपको सरुवा हुनुपर्ने र नभए आन्दोलन जारी रहने चेतावनी कोइरालाको भनाइ थियो।नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालय अगाडिबाट प्रहरी प्रशासन तथा सरकारको विरोधमा चर्को नारा लगाउँदै निस्केको र्याली बीपीचोक, त्रिभुवनचोक हुँदै जिल्ला प्रशासन कार्यालयअगाडि पुगेको थियो। नेताहरूले मन्तव्य राखिरहँदा जिल्ला प्रशासनअगाडिको सडक बन्द गरिएको थियो। कार्यकर्ताहरू सडकमा उभिएका थिए।

प्रतिक्रिया दिनुहोस्