“फ्री तिब्बतको कुरा उठाउन खोजेको होइन”



नेपाल समाचारपत्रमा गत असोज २७ गते पृष्ठ ५ मा प्रकाशित ‘फ्री तिब्बतको पक्षधरविरुद्ध मुद्दा’ शीर्षकमा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। समाचारमा उल्लिखित ‘चिनियाँ राष्ट्रपति सी जिनपिनको भ्रमणका बेला विरोध प्रदर्शन गर्ने घोषणा गरेका बीपी पौडेललाई पनि प्रहरीले पक्राउ गरेको छ’ भन्ने वाक्यप्रति मेरो भन्नु केही छैन।

मैले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा नै लिखित निवेदन वा जानकारी दिएर शान्तिपूर्ण विरोध गर्ने घोषणा गरेकै हुँ। तर, त्यसपछिको समाचार विवरणप्रति मेरो असहमति छ। समाचारमा भनिएको छ, ‘मानवअधिकारकर्मी भएको बताउने पौडेलले फ्री तिब्बतका विषयमा कुरा उठाउन पाउनुपर्ने बताउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए’ भनी लेखिएको छ, जो सही होइन।

मैले असोज २३ गतेका दिन निवेदन त दिएको हुँ तर त्यसको व्यहोरामा फ्री तिब्बतको कुरा गरिएकै छैन, किनभने त्यो मेरो सरोकारको विषय नै होइन। मेरो निवेदनको पूर्ण पाठ देहायबमोजिम रहेको छ ः

विषय ः विरोध प्रदर्शन सम्बन्धमा।

उपर्युक्त सम्बन्धमा मेरो निवेदन यो छ कि जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रप्रमुख सी जिनपिनको आसन्न नेपाल भ्रमणको आवागमन मिति २०७६ असोज २५ र सोही समयमा चिनिया दूतावसासअगाडि म मानवअधिकार तथा शान्ति समाज केन्द्रीय युवा संयोजक निम्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा केन्द्रित रही शान्तिपूर्ण विरोध प्रदर्शन गर्नका लागि सूचित गराउँछु।

हाम्रा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू ः

१. जलवायु परिवर्तनमा कार्बन उत्सर्जन प्रमुख कारण भएको र कार्बन उत्सर्जनको प्रमुख राष्ट्र चीन नै भएकाले कार्बन उत्सर्जनमा न्यूनीकरण गरी वातावरण संरक्षणमा योगदान गर्न आग्रहसहित विरोध गर्ने।

२. परमाणु अस्त्र निशस्त्रीकरण ः उत्तर कोरियाको परमाणु हतियारको निर्माणमा चीनको भूमिका रहस्यमय भएको साथै उत्तर कोरियाको आणविक अस्त्र निशस्त्रीकरण गर्न चीनले स्पष्ट योगदान गरी चीन पनि परमाणु निशस्त्रीकरणको बाटोमा लाग्न आग्रहसहित विरोध गर्ने।

३. लिपुलेक सम्बन्धमा ः दुई ठूला राष्ट्र चीन र भारतबीच एक सार्वभौम राष्ट्रको मर्यादा विपरीत लिपुलेक सम्बन्धमा भएको व्यापारिक सहमतिको विरोध गर्ने।
निवेदक

बीपी पौडेल
केन्द्रीय युवा संयोजक
मानवअधिकार तथा शान्ति समाज

प्रतिक्रिया दिनुहोस्