पर्यटन पूर्वाधारमा चासो



नेपाल भ्रमण वर्ष आउन करिब–करिब डेढ महिनाको समय बाँकी छ। नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्रयाउने नेपाल सरकारको लक्ष्य रहेको छ। यो लक्ष्य पूरा गर्न र नेपाल घुम्न आउने पर्यटकहरूलाई थप सुविधा दिन पूर्वाधार निर्माण कार्य तीव्र गतिमा अघि बढाउनुपर्ने सबैतिरबाट अपेक्षा गरिएको छ।

यस्तो अवस्थामा थप सुविधा जुटाउने त परै जाओस् चीनको ल्हासाबाट हुँदै आएको उडान सेवा रोकिनु सबैको अपेक्षा विपरीतको काम भएको छ। ल्हासाबाट हुने एक मात्र अन्तर्राष्ट्रिय उडान नेपालसँगको मात्रै रहेको बेला उडान सेवा नै बन्द हुनु अहिलेका लागि विडम्बना नै मान्नुपर्दछ।

पर्यटनको पूर्वाधारका रूपमा रहेको अन्तर्राष्ट्रिय हवाई उडान र पाहुनाको स्वागतका लागि तयार भएका होटेलको सेवा पर्यटन व्यवसाय सफलताका पूर्वाधार हुन्। यसबेला विश्वमा नेपाल जान सजिलो र खानबस्न सुविस्ता छ भन्ने सन्देश दिन सकिए मात्र पर्यटन वर्ष सफल हुनेछ।

गत महिना चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा नेपाल आउने सो मुलुकका पर्यटकको संख्या बढाउने द्विपक्षीय छलफल भएको चर्चा सेलाउन नपाउँदै चिनियाँ राष्ट्रिय ध्वजावाहक एयरलाइन्सले ल्हासा–काठमाडौं उडान रोकेको छ।

चिनियाँ राष्ट्रिय ध्वजावाहक सो एयरलाइन्सले यही महिनाको कात्तिक १० (गत अक्टोबर २७ तारिख) देखि नेपालतर्फको सेवा स्थगित गरेको हो। ल्हासा र काठमाडौंको सम्बन्ध आजको मात्र नभई सयौं वर्ष पुरानो हो। इतिहासकालदेखि नै नेपाल–तिब्बतबीच विशेषतः व्यापारिक, सांस्कृतिक र धार्मिक सम्बन्ध रहेको छ।

चिनियाँ सांस्कृतिक क्रान्तियता ल्हासा र काठमाडौंबीच हिजोको स्वरूपमा व्यापारिक सम्बन्ध नरहे पनि विभिन्न मेला र प्रदर्शनीमा नेपाली हस्तकला व्यवसायीहरू सहभागी हुँदै आएका छन्। त्यसै गरी सांस्कृतिक र धार्मिक सम्बन्ध विशेषतः बुद्ध धर्मावलम्बीबीच भावनात्मक सम्बन्ध रहेको छ।

भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीस्थित महामायादेवी मन्दिरको दर्शन गर्न ल्हासाबाटै धेरै पर्यटकहरू नेपाल आउने गर्छन्। भ्रमण वर्षको पूर्वसन्ध्यामा एयर चाइनाले यो रुटमा उडान स्थगित गरेसँगै नेपाल हुँदै तिब्बत जाने तेस्रो मुलुकका पर्यटक र चीन हुँदै नेपाल आउने यात्रुलाई प्रत्यक्ष असर पारेको छ।

काठमाडौं–ल्हासा नेपाल–चीनबीचको पहिलो हवाई रुट पनि हो। चिनियाँ राष्ट्रपति सीको भ्रमणपछि नेपाल एक आकर्षक गन्तव्य भएको सन्देश प्रवाह भएको छ। यसले गर्दा ल्हासाबाट अघिपछिभन्दा थप पर्यटकहरू आउने अपेक्षा गरिएको छ।

त्यसमाथि चिनियाँ राष्ट्रपति सीको नेपाल अब भूपरिवेष्ठित नभई भूजडित हुने भन्ने अभिव्यक्तिले सबैलाई हौस्याएको बेला उडान रोक्नुले अहिले आशामा तुषारापात भएको छ।
हवाई सञ्चालन रोकिनुको कारण सरकारले खुलाएको छैन। हवाई सेवा खुलाउन नसके नेपाल भ्रमण वर्षमा यसले प्रत्यक्ष असर पार्नेछ।

त्यसैले रोकिएको हवाई सेवा सञ्चालन गर्न सरकारले कूटनीतिक पहल गर्नु आवश्यक छ। कूटनीतिक पहलले अपेक्षाकृत परिणाम ल्याउन सके नेपाल भ्रमण वर्षप्रति सरकारी प्रतिबद्धतालाई अझ जनतामाझ पुष्टि गराउन सकिनेछ। नत्र सरकारले अपेक्षा गरेअनुरूप परिणाम ल्याउन कठिन हुनेछ।

प्रतिक्रिया दिनुहोस्