उपाध्यायका एकै साथ ७ एल्बम सार्वजनिक ८ विश्व रेकर्ड कायम



गत वर्ष मंसिरमा एकसाथ ७ गीति एल्बम सार्वजनिक गरेर विश्व रेकर्ड राखेका गीतकार डा. डीआर उपाध्यायका पुनः ७ एल्बम एकसाथ सार्वजनिक गरिएको छ।राजधानीको कमलपोखरीस्थित रसियन सांस्कृतिक केन्द्रमा सोमबार एक विशेष कार्यक्रमबीच डा. उपाध्यायका सात गीति एल्बम अन्जान तिर्खा, सुधारस, स्वर्गघर, नजरको तीर, सेभेन्थ कड्स, सौभाग्यको सिन्दुर र अनुभूतिको मझेरीमा सार्वजनिक गरिएको हो।

कार्यक्रममा बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले डा. उपाध्यायका सात गीति एल्बमका साथमा एक उपन्यास सपनाकी रानी र यसअघि प्रकाशित आठ उपन्यासको एउटै संगालो सार्वजनिक गरे।

यसअघि कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे र बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको हातबाट एल्बम सार्वजनिक गरिने भनिए पनि राष्ट्रकवि घिमिरेको अस्वस्थताका कारण उपस्थिति हुन नसके पछि राष्ट्रकविकै निवासमा एल्बम सार्वजनिक तथा अभिनन्दनपछि रसियन साँस्कृतिक केन्द्रमा एल्बम सार्वजनिक तथा अभिनन्दन गरिएको थियो।

कार्यक्रममा दुवै शताब्दी पुरुषलाई ५१ हजार नगदसहित दोसल्ला र ताम्रपत्र प्रदान गर्दै सम्मान गरिएको थियो। एल्बम सार्वजनिक कार्यक्रममा हास्य साम्राज्ञी बसुन्धरा भुसाल र वरिष्ठ गायिका ज्ञानु राणालाई पनि अभिनन्दन गरिएको थियो।

त्यस्तै युथ क्रिएसन म्युजिक प्रालिबाट डा. डीआर उपाध्यायलाई म्युजिक क्रिएसनका अध्यक्ष रमेश थापा र सल्लाहकार कृष्ण भुसालले दोसल्ला र ताम्रपत्रले सम्मान गरेका थिए। कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठले स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पारेका थिए भने साहित्यकार सञ्चारकर्मी अच्युत घिमिरेले डा. उपाध्ययाका उपन्यासका बारेमा चर्चा गरेका थिए।

डा. डीआर उपाध्यायका यसअघि जखम, माउन्टेन मेलोडी, नसालु नजर, जोहो, अन्तराप, प्रतिनाद, सहेली, परिष्कृत, कृति र पृथक गरी ११ एल्बम सार्वजनिक भएका थिए भने बज्रघात, त्यागी, भाग्यचक्र, अपवित्र छायाँ, स्वार्थी, बिटुली, अतिरिक्त, दगाबाज, अधुरो प्रेम र सपनाकी रानी शीर्षकका उपन्यास प्रकाशित छन्।

गीत लेखेर एक पछि अर्को कीर्तिमान कायम गरेका डा. उपाध्यायले सोमबार सार्वजनिक गीतमार्फत पनि ८ विश्व रेकर्ड कायम गरेका छन्। सार्वजनिक कार्यक्रममा एभरेस्ट वल्र्ड रेकर्डका फाउन्डर निर्देशक मथुरा श्रेष्ठले डा. उपाध्यायलाई आठवटा वल्र्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

उनले एउटै एल्बममा २४ फरक गीत १२ मेजर १२ माइनर स्केल, ५ फरक संगीतकारले संगीत गरेको एउटा गीत, अधिकांस हिन्दू देवीदेवताको नाम राखेर बनाइएको गीत, एउटा एल्बममा सबै गीत सेभेन्थ कड्स, सबैलाई स्वस्थ राखौं भन्ने योगसम्बन्धी गीत, महिला प्रताडनसम्बन्धि गीत, त्यसमा ७१ वर्ष र ५ वर्षकी गायिकाको स्वर, अत्यधिक हिमाललाई समेटेर पर्यटन वर्ष २०२० लाई लक्षित गरी तयार पारिएको गीत र १६ महिनामाा १८ एल्बम सार्वजनिक गरेका रेकर्ड कायम गरेका छन्।

यसअघि उनले ६ विश्व रकेड राखेका थिए भने उनको जम्मा विश्व रेकर्डको संख्या १४ पुगेको छ।कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले डा. डीआर उपाध्यायले नेपाली गीत संगीतलाई विश्वमा चिनाउने काम गरेको चर्चा गरे। कार्यक्रममा गायक गायिकाहरू सागर अधिकारी ‘शरद’, नरहरि प्रेमी, योगेश काजी, राज सगर, मनोज राज र सारिका घिमिरेले एल्बममा रहेका गीत प्रस्तुत गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्