प्रेम गीत ३ सुटिङमा



नामको आधारको हिट फिल्म सिरिज प्रेम गीतको तेस्रो संस्करण प्रेम गीत ३ सुटिङ प्mलोरमा गएको छ। प्रेम गीत र प्रेम गीत २ को सफलतापछि प्रेम गीत ३ को निर्माण शुरू गरिएको हो।

फिल्मको गत शुक्रबार दक्षिणकाली मन्दिरमा शुभमूहर्त गरी सोही दिनबाट छायांकन कार्य शुरू गरिएको हो। आगामी चैत २८ गतेका लागि रिलिज डेट तोकिसकिएको फिल्म १ महिना लगाएर कीर्तिपुर क्षेत्रमा निर्माण गरिएको सुटिङ सेटमा सुटिङ गरिनेछ भने त्यसपश्चात मनाङको रमणीय स्थलमा छायाँकन गरिने फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी गराएका छन्।

फिल्ममा अभिनेता प्रदीप खड्का र नव अभिनेत्री क्रिस्टिना गुरुङको जोडी बाँधिएको छ भने प्रदीप र क्रिस्टिनासँगै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, क्रिजन गौतम, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, योगिसा खत्री, माओत्से गुरुङ, लक्ष्मी बर्देवालगायत यसका प्रमुख कलाकार रहेका छन्।

प्रेमकथामा आधारित फिल्मको निर्देशन सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रूपमा गरिरहेका छन्। फिल्ममा निर्देशक गुरुङ र मन्दिप गौतमको लेखन, कल्याण सिंह र एलिश कार्कीको संगीत, हिमाल केसीको द्वन्द्व निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको डीओपी तथा बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ। चक्रबहादुर चन्द र डम्बरविक्रम सेन कार्यकारी निर्माता रहेको फिल्ममा कुमार सेन र ओएसआर डिजिटल सह–निर्मातामा छन्।

प्रतिक्रिया दिनुहोस्