फलोअपका लागि अस्पताल पुग्दैनन् बिरामी



रोशन पराजुली/हेटौंडा

हेटौंडा–१ की पम्फा भुसाल आफ्नो छोरी खुश्बु बिरामी भएका कारण केही दिनअघि हेटौंडा अस्पताल पुगिन्। अस्पतालका डा. हरिबहादुर खड्काले खुश्बुलाई जाँच गरे।
उनलाई भाइरल ज्वरो आएको रहेछ। त्यसपश्चात् डा. खड्काले खुश्बुलाई पाँच दिनको औषधि दिएर पठाए।

उनले त्यो औषधिसँगै खुश्बुकी आमालाई भनेका थिए–पाँच दिनपछि आउनुहोला। पाँच दिन बित्यो तर खुश्बुका आमाछोरी अस्पताल पुगेनन्। कारण थियो उनको ज्वरो ठीक भयो।
हेटौंडा–१७ की समृद्धि अधिकारी छालाको समस्या लिएर फार्मेसी पुगिन्।

छाला तथा यौन रोग विशेषज्ञ डा.रजनी अग्रवालले उनको जाँच गर्दा एलर्जी भएको पाइयो। डा. अग्रवालले उनलाई सात दिनको औषधि र केही मल्हम लेखिदिएर सात दिनपछि पुनः आउनुहोला भनेर पठाइन्। लगभग एक महिना नै बित्यो। अधिकारी फलोअपका लागि अस्पताल फर्किनन्।

डा.अग्रवाल भन्छिन्– ‘सायद उहाँलाई ठीक भयो होला वा चित्त नबुझेर डाक्टर परिवर्तन गर्नुभयो होला।’हेटौंडा–१६, हटियाकी निर लामा खोकीले ग्रस्त भएका थिए। लामा जचाउनका लागि शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र हटिया स्वास्थ्यचौकी पुगे।

त्यहाँ डा. नेहा गुप्तासँग आफ्नो समस्या राखी खोकीको औषधि लगे। डा. गुप्ताले ‘तीन दिनपछि आउनु है’ भनेर पठाइएकी थिइन्। तर, उनी तीन दिनपछि आएनन्। डा. गुप्ताले उनलाई भेट्दा सोधेकी थिइन् ‘फलोअपका लागि किन नआएको ? उनले झट्ट जवाफ दिइहाले।मलाई निको भइसक्यो डाक्टरसाब’

रोगको शिकार भएर डाक्टरको ठाउँसम्म पुग्छौं। डाक्टरले लेखिदिएको औषधि लिएर हामी घर फर्किन्छौं र औषधि सेवन गर्न थाल्छौं। त्यसले निको पार्छ कि पार्दैन भन्ने ध्यान मात्र हामीमा हुन्छ। तर, डाक्टरलाई फेरि भेट्न जानुपर्छ भन्ने कुरा ख्याल गरेका हुँदैनौं।

यो एक अस्पतालको मात्र कुरा होइन, अधिकांश फार्मेसी तथा अस्पतालमा दैनिक चलिआएको छ। फलोअपका लागि धेरै बिरामी आउन नचाहने गरेको विशेषज्ञ डाक्टरको भनाइ छ।चुरेहिल अस्पतालका डा. विकास थापाका अनुसार फलोअपमा २५ प्रतिशत पनि बिरामी आउँदैनन्।

‘धेरैजसोलाई निको भइसकेको हुन्छ। त्यसकारण आउन चाहँदैनन्। फलोअपमा नआउनाले बिरामीले दैनिक खानुपर्ने खाना, रेगुलर गर्नुपर्ने कुराहरू बिर्सन्छन्। जसले पछि गएर ठूलो रूप पनि लिन सक्छ,’ डा. थापा भन्छन्– ‘रोग सामान्य मानेर फलोअपमा नगए पछि ठीक नहुने खालको रोगसमेत बल्झिन सक्ने हुन्छ।

हेटौंडा अस्पतालका डा. खड्का भन्छन्– ‘प्रायःजसो बिरामी निको भएर फलोअपमा नआउने हुन्छन्।’ ‘रोग निको भइहाल्यो। अब किन जानु, पैसा खर्च गर्न भनेजस्तो गर्छन् बिरामी,’ –खड्काले भने।

हटिया स्वास्थ्य चौकीकी डा. गुप्ता भन्छिन्– ‘फलोअपका लागि आए दुवैलाई फाइदा हुन्छ। बिरामीलाई रोग लाग्ने खतरा भएन।’ ‘हामीले जाँच गरेका बिरामी निको भए कि भएनन् भन्ने कुरा हामीले थाहा पाउन पाए अझ जाँचमा आफूहरूले राम्रो गर्दै लैजाने गुप्ताको भनाइ छ।

स्वास्थ्य चौकीमा ८० प्रतिशत बिरामी फलोअपका लागि आउन नचाहने डा. गुुप्ताले बताइन्। ‘कर गरेर ल्याउन मिलेन,’ उनले भनिन्।डा. खड्काका अनुसार फलोअपमा नजाँदा रोग बल्झिने तथा पछि रोग पत्ता नलाग्ने समेत हुनसक्छ। कतिपय केसमा बिरामी डाक्टर परिवर्तन गर्छन्। तर, प्रायः निको भएर नै आउने नगरेको खड्काले बताए।

प्रतिक्रिया दिनुहोस्