डा. केसीलाई राजधानी लैजाने योजना असफल



राम धामी, डडेल्धुरा।

डडेल्धुराबाट आठ दिनदेखि सत्याग्रहमा रहेका चिकित्सा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीलाई अपहरणको शैलीमा काठमाडौं लैजान डडेल्धुरा पुगेको नेपाली सेनाको हेलिकोप्टर रित्तै काठमाडौं फर्किएको छ।

अनशनको सातौं दिन आइतबारसम्म डा. केसीको स्वास्थ्यबारे सामान्य सोधनीसमेत नगरेको सरकारले डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि सोमबार हेलिकोप्टर पठाएको थियो। तर, डा. केसीले माग पूरा नभई डडेल्धुरा अस्पताल छोड्न इन्कार गरेपछि हेलिकोप्टर उहाँलाई नलिई फर्किएको हो।

डा. केसीलाई राजधानी लैजान सोमबार हेलिकोप्टर पठाइएको हो। डडेल्धुरा सदरमुकामदेखि ५ किलोमिटर दूरीमा रहेको दहस्थित नेपाली सेनाको गणमा हेलिकोप्टर ल्यान्ड गरिएको थियो।

स्थानीय प्रशासनले डा. केसीलाई होलिकोप्टरमार्फत राजधानी लैजाने तयारी गरेपछि डा. केसीले इन्कार गर्नुभएको थियो भने डा. केसीको समर्थनमा आन्दोलित डडेल्धुराबासीले अवरोध पुर्याएका थिए।

सरकारले आफ्ना माग पूरा नगरुन्जेल डडेल्धुरा नछोड्ने र बरु सत्याग्रहकै क्रममा मृत्युवरण गर्न आफू तयार भएको डा. केसीले बताउनुभयो। उहाँले अपहरणकारी शैलीमा आफूलाई राजधानी लगेर आन्दोलन असफल बनाउने सोच त्यागेर वार्तामार्फत समस्या समाधानका लागि सरकारसँग माग गर्नुभयो।

‘वार्ता टोली गठन गर्नुपूर्व डडेल्धुरा अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक पठाउन सरकारलाई आग्रह गर्दछु’, स्वास्थ्य अबस्था गम्भीर रहेका डा. केसीले सोमबार अपराह्न सञ्चारकर्मीहरूसँग भन्नुभयो– ‘अनि मात्रै सरकारसँग वार्ताका लागि वातावरण बन्नेछ।’

उहाँले डडेल्धुरामा दरबन्दीअनुसारका चिकित्सक नपठाएसम्म सरकारसँग वार्ता गर्नुको औचित्य नरहेको स्पष्ट पार्नुभयो।स्थानीय प्रशासनले जबर्जस्ती गर्न खोजेपछि सत्याग्रहीको इच्छाविपरीत लान नपाइने भन्दै डडेल्धुराबासी विरोधमा उत्रिएका हुन्। स्थानीयको अवरोधपछि प्रशासन पछि हटेको हो।

समस्या समाधानमा पहलकदमी लिनुपर्ने सरकारले आफैंले गरेको सम्झौता कार्यान्वयन नगरेर समस्या थप बल्झाएको डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टले बताउनुभयो। अनशनको ८ दिनसम्म वार्ताको सामान्य पहलसमेत नगर्ने सरकारले उहाँको स्थानान्तरणका लागि भने जबर्जस्ती गर्न नमिल्ने अडान स्थानीय अगुवाहरुको छ।

डा. केसीले दूरदराजमा बस्ने विपन्न नागरिकको समेत स्वास्थ्य र शिक्षामा सहज र समान पहुँच हुनुपर्ने माग उठाएर निरन्तर सत्याग्रह चलाउँदै आएकाले उनका जनमुखी मागको सम्बोधन हुनुपर्ने नागरिक समाज डडेल्धुराका अध्यक्ष रमेशप्रसाद जोशीले बताउनुभयो।

स्थानीय प्रशासनले आन्दोलनमाथि दमन गर्न खोजेको र डा. केसीलाई अपहरण गरेर काठमाडांै लैजान खोजेको भन्दै सोमबार दिउँसो डडेल्धुरा सदरमुकाममा चक्काजाम गरिएको थियो।डा. केसीको समर्थनमा सोमबार डडेल्धुराका स्थानीय तथा नागरिक समाजले विरोध प्रदर्शन गर्दै ७ जिल्लामा सरकारी गाडी आवागमनमा रोक लगाएका छन्।

नागरिक समाज, विभिन्न व्यावसायिक तथा पेसागत संघ संस्था, स्वास्थ्यकर्मी, विद्यार्थी तथा स्थानीयले डा. केसीको मागमा ऐक्यबद्धता जनाउँदै दिनहुँ डडेल्धुरा सदरमुकाममा प्रदर्शन गर्दै आएका छन्।

आन्दोलनमा जननिर्वाचित प्रतिनिधि, सरकार र राजनीतिक दलले भने उदासीनता देखाउँदै आएका छन्।हेलिकोप्टरमार्फत डा. केसीलाई लैजान असफल भएपछि डा. केसीको अनशन, स्वास्थ्य अवस्था र थप उपचारबारे छलफलका लागि सोमबार जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सर्वपक्षीय बैठक बोलाएको थियो।

बैठकमा डा. केसीलाई हेलिकोप्टरबाट काठमाडौं लाने प्रशासनको प्रस्तावमा स्थानीयले असहमति जनाउँदै विरोध गरेका थिए। प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले डा. केसीलाई काठमाडांै लैजानका लागि आएको नेपाली सेनाको हेलिकोप्टर फिर्ता गइसकेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्