इन्टरनेसनल च्यालेन्ज ब्याडमिन्टन बुधबारदेखि



नेपाल समाचारपत्र, काठमाडौं।
नेपाल ब्याडमिन्टन संघको आयोजना तथा एशियाली ब्याडमिन्टन महासंघको तत्वावधानमा नेपालमा पहिलो पटक “योनेक्स – सनराईज नेपाल ईन्टरनेशनल ब्याडमिन्टन च्यालेन्ज २०१९” आयोजना हुने भएको छ। नेपाल ब्याडमिन्टन संघले आईतबार पत्रकार सम्मेलन गरि उक्त प्रतियोगिता यही कार्तिक २७ गतेदेखि हुने जानकारी गरायो।
प्रतियोगितामा नेपाल लगायत २१ राष्ट्रका १ सय ४९ खेलाडीले कुल ५ विधामा प्रतिस्पर्धा गर्नेछन्। जसमा पुरुष एकलमा विश्व बरियतामा ५८औं स्थान सम्म रहेका खेलाडीले र महिला एकलमा ३८औं बरियता सम्मका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
यस्तै पुरुष युगलमा २७औं, महिला युगलमा ३३औ र मिक्स युगलमा ४४औं स्थान सम्मका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।करिव ६८ लाख ७५ हजार अनुमानित लागत रहेको च्यालेन्जमा २५ हजार डलर पुरस्कार राशी रहेको छ।
जसमा राष्ट्रिय खेलकुद परिषद्ले २० लाख, योनेक्स सनराईजले ६ हजार, ब्याडमिन्टन एशियाले ११ हजार डलर सहयोग गर्ने र बाँकी रकम ब्याडमिन्टन खेलप्रेमी संघसंस्था र ब्यक्तिहरूबाट सहयोग जुटाईने समेत पत्रकार सम्मेलनमा बताइयो।
च्यालेन्जमा पुरुष तथा महिला एकल तर्फ विजेताले १ हजार ८ सय ७५ युएस डलर, उपविजेताले ९ सय ५० डलर, तेश्रोले ३ सय ६२ डलर हासिल गर्नेछन्। त्यस्तै अन्तिम ८ प्रवेश गर्नेले १ सय ५९ डलर तथा अन्तिम १६ मा प्रवेश गर्नेले ८७.५० डलर प्राप्त गर्नेछन्।
यस्तै पुरुष/महिला तथा मिश्रीत युगल तर्फका विजेताले १ हजार ९ सय ७५ डलर, उपविजेताले ९ सय ५० डलर, तेश्रोले ३ सय ५० डलर, अन्तिम ८ मा प्रवेश गर्नेले १ सय ८१.२५ डलर र अन्तिम १६ मा पुग्नेले ९३.७५ डलर प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्