बार्सिलोनाका जितमा मेसीको ह्याट्रिक



लन्डन, (एजेन्सी) ।
स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई हराउँदा लियोनल मेसीले ह्याट्रिक पूरा गरेका छन्। मेसीले खेलको २३ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता सुरुवाती दिलाएका थिए। तर, ४२ औं मिनेटमा सेल्टाका लागि गोल गर्दै ओल्जाले खेल बराबरीमा ल्याएका थिए।
पहिलो हाफको अतिरिक्त समयमा मेसीले दोस्रो गोल थप्दा बार्सिलोनाले मध्यान्तर अघिसम्म २–१ ले अग्रता लियो। ४८ औं मिनेटमा मेसीले ह्याट्रिक गोल पूरा गरेपछि बार्सिलोनाको गोलसंख्या तीन पुग्यो। त्यस्तै खेलको ८५ औं मिनेटमा बुस्क्वेटले गोल थप्दा बार्सिलोनाले ४–१ ले खेल आफ्नो पक्षमा पार्दै तीन अंक बटुल्यो।
त्यस्तै अर्को खेलमा रियल मेड्रिडले पनि इबरमाथि ४–० को जित निकाल्यो। मेड्रिडको जितमा करिम बेन्जेमाले २ तथा रामोस र भ्यालभर्डेले समान एक–एक गोल गरे। रियलले १७औं मिनेटमा बेन्जेमाको गोलबाट अग्रता लिएको थियो।
२० औं मिनेटमा रामोसले पेनाल्टीमार्फत् दोस्रो गोल थपे। त्यस्तै खेलको २९ औं मिनेटमा बेन्जेमाले पेनाल्टीमार्फत अग्रता तेब्बर पार्दा रियल पहिलो हाफसम्म ३–० ले अगाडि रहेको थियो। दोस्रो हाफमा भ्यालभर्डेले ६१ औं मिनेटमा चौथो गोल गरेका थिए।
त्यस्तै गरी अन्य खेलमा एलाभेजले रियल भालाडोलिडलाई ३–० ले हराउँदा भ्यालेन्सियाले पनि ग्रानाडामाथि ३–० गोलअन्तरको जित निकाल्यो। शनिबारको खेलपछि समान २५ अंक बनाएका बार्सिलोना र रियल मेड्रिड अंक तालिकाको पहिलो र दोस्रो स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस्