खुम्बुतिर जागिर पाम् प्रभु !



केही वर्षअघि एक तीर्थयात्री मनकामना माईको दर्शन गर्न मस्र्याङ्दी पार गरेछन्। केबल कार चलेपछिको कुरा हुन्थ्यो भने, त्रिशूली पार गर्थे होलान्, पुरानो कथा भएकाले आबुखैरेनीबाट पैदलै जघाँर तरेकारे मस्याङ्दी !
जब मस्र्याङ्दी तरेर पारि उकालो चढ्दै थिए, झमक्क साँझ परेछ। रात कटाउन बास मागेछन् गाउँलेसँग। पिढीमा बास मिलेछ तर बाच्छाले ओछ्यान कुल्चेर दुख दिएछ। बाच्छालाई ठेलठाल गरेर धपाउन खोज्दारहेछन्, सक्दारहेनछन्। पछि घरबेटीले थाहा पाएर बाच्छो बाँधिदिएछन्।
‘आमाको शुद्ध दूध खाएर बलियो भएको बाच्छो, तपाईं पानी हालेको दूध खानेले ठेलेर के सक्नु !’घरबेटीको व्यंग्यमिश्रित जबाफ अतिथिको छातीमा बिझ्यो, उनले सोधे, ‘पानी नहालेको शुद्ध दूध खान के गर्नुपर्ला त हजुर ?’ जबाफ आयो, ‘त्यसको लागि त यी यस्तै बाच्छो भएरै जन्मिनुपर्छ, हामी मान्छेको भाग्यमा शुद्ध दूध, असम्भव !’
भोलिपल्ट तीर्थालु मनकामना पुगे र देवीसँग वर मागे, ‘मलाई अर्को जुनीमा बाच्छो बनाइदिनुस् देवी मा !’धरहराले गत साता सोही कथा दोहोर्यायो सगरमाथा आधारशिविर जाने क्रममा।
लुक्ला र मोञ्जोमा मस्तले बसेका र पर्यटकहरूलाई लान मिल्ने–नमिल्ने ड्रोनलगायतका सामग्री खुलमखुल्ला लान दिएर घाम तापेका कर्मचारी देखेपछि धरहराले सगरमाथासँग बर माग्यो, ‘मलाई अर्को जुनीमा त्यतैतिरको जाँचकी बनाइदिनुस् प्रभु !’
फिरोचेतिर पुगेर विदेशीले हिमालजत्तिकै अग्लो बनाएर ड्रोन उडाए उडाउन् त, आफ्नो सरकारी जागिर उड्दैन क्यारे !

प्रतिक्रिया दिनुहोस्