आत्महत्यातर्फ उद्वेलितलाई उद्धार गर्ने आर्टिफिसियल इन्टेलिजेन्स



बेइजिङ, (एजेनसी)।

भ्यालेन्टाइन्स डेपछि २१ वर्षिय चिनियाँ विद्यार्थी लि फानले चीनको ट्विटर जस्तो प्लेटफर्म वेइवोमा संक्षिप्त सन्देश छाडेर आत्महत्या गर्ने प्रयास गरेका थिए। उनले लेखेका थिए, ‘म यो भन्दा बढि खप्न सक्तिन। म हिम्मत हार्दैछुं।’

त्यसको केहि क्षणपछि नै उनी अचेत भए। आमासँग पनि ठाकठुक परेका उनी ऋणमा चुर्लुम्मै डुबेका थिए। उनी लामो समय देखि डिप्रेसन पिडित पनि थिए। आफ्नो नाविंगस्थित विश्वविद्यालयदेखि करिब ८ हजार किमि टाढाको एम्सटर्डम्स स्थित एउटा प्रोग्राम चलाइरहेको कम्प्युटरमा उनको यो पोस्ट डिटेक्ट गरियो।

यसले उनको आत्महत्या असफल बनाउन चीनका विभिन्न स्थानका स्वयंसेवकहरुलाई आग्रह गर्दै सन्देश पठाउन थाल्यो। घटनास्थलबाट निकै टाढा रहेका ति स्वयंसेवकहरुले लि लाई प्रत्यक्ष सहयोग गर्न नसकिने देखिएपछि स्थानिय प्रहरीलाई घटनाको सूचना दिइयो।

अन्तमा प्रहरी लिको जीवन जोगाउन सफल भयो। यो घटना अलि अपत्यारिलो जस्तो देखिए पनि ट्रि होल रेस्क्यु नामक टोलीले धेरै पटक यस्तो सफलता हासिल गरिसकेको छ। फ्रि युनिभर्सिटी एम्सटर्डम्सका वरिष्ठ आर्टिफिसियल इन्टेलिजेनस (एआई) का वरिष्ठ अनुसन्धानकर्ता हुआंग झिसोग यस अभियानका संस्थापक हुन्।

विगत १८ महिनाभित्र चीनभरि ६ सय जना स्वयंसेवकले उनको यो प्रोग्राम प्रयोग गर्दै आएका छन्।तिनीहरुले अहिलेसम्म करिब सात सय मानिसको ज्यान जोगाइसकेको दाबी गर्छन्। हुआंगले बीबीसीलाई भनेका छन् , ‘यसकार्यमा यदि एक सेकेन्डमात्र यताउता भयो भने पनि थुप्रै ज्यान गुम्न सक्छ।

हरेक साता हामीले करिब १० जना मानिसको ज्यान जोगाउने गरेका छौं।’ सन् २०१८ को २९ अप्रिलमा पहिलो पटक रेस्क्यु अपरेसन शुरू गरिएको थियो। त्यतिवेला उत्तरी चीनको सान्दोङ प्रान्तको एक २२ वर्षिया ताओ युये नामक कलेजका छात्राले वेइवोमा दुई दिनपछि आफूले आत्महत्या गर्ने योजना बनाएको कुरा लेखेकी थिइन्।

चिनियाँ एकेडेमी अफ साइन्सेजका एकजना स्वयंसेवक पेंग लिंग लगायत अन्य थुप्रैले यसप्रति प्रतिक्रिया जनाए।पेंगले बीबीसीलाई बताएका छन् – ‘विगतका पोस्टहरुका आधारमा हामीले ती छात्राका एकजना साथीको फोन नम्बर पत्ता लगाएर आत्महत्या योजनाको सूचना कलेजमा पठाइदियौं। सुत्नुअघि मैले उनलाई सन्देश पठाउने प्रयास गरें।मैले उनलाई बचाउन सक्छु भनें।’ 

उनले मलाई चिनियाँ एप विच्याटमा फ्रेन्ड लिस्टमा राखिन्। कुराकानी हुँदा हुँदै उनी शान्त हुन थालिन्। त्यतिबेलादेखि मैले उनले समयमा खाना खाइन् वा खाइनन् भन्ने समेत जाँच्न थालें। हामीले प्रत्येक साता इन्टरनेटको मार्फत पुष्प गुच्छासमेत किनेर पठाउने गरेका छौं। ’

यस सफलतापछि यस टोली पुलबाट हाम फाल्न लागेका एकजना पुरुष र यौन उत्पीडनको कारण आत्महत्या गर्न लागेकी एक महिलाको ज्यान पनि जोगाउन सफल भयो। यस कार्यमा करिब एक वर्षदेखि लाग्दै आएका बेइजिङ निवासी मनोविशेषज्ञ लि होँगले भने उद्धार कार्यका लागि भाग्य र अनुभव दुवै आवश्यक रहेको बताउँछन्।

जाभामा आधारित प्रोग्रामले वेइवोका थुपै्र ‘ट्रि होल्स’ मोनिटर गर्नुका साथै त्यहाँ पोस्ट भएका सन्देशहरुको विश्लेषण गर्ने गर्दछ। ‘ट्री होल’ अन्य मानिसहरुलाई पढ्न दिन गोप्य रूपमा पोस्ट गरिने नेटको स्थानको चिनियाँ नाम हो। एउटा मानिसले आफ्नो गोप्य कुरा लुकाएको सम्बन्धी आइरिस कथाबाट यो नाम जुराइएको हो।

प्रतिक्रिया दिनुहोस्