जमिन लिने नलिने निर्णय वाक्फ बोर्ड बैठकले गर्ने



लखनउ, (एजेन्सी)।

सुन्नी सेन्ट्र वाक्फ बोर्डले सर्वोच्च अदालतको निर्देशनमा अयोध्यामा ५ एकड जमिन लिने मामिलामा नोभेम्बर २६ को प्रस्तावित आफ्नो बैठकबाट फैसला लिन सक्ने बताइएको छ।
बोर्डका अध्यक्ष जुफर फारुकीले आइतबार बोर्डको साधारणसभा आगामी नोभेम्बर २६ मा हुने सम्भावना रहेको जानकारी दिए।

सोही बैठकमा सर्वोच्च अदालतको निर्देशनअनुसार अयोध्यामा सरकारद्वारा दिइने पाँच एकड जमिन लिने वा नलिने भन्ने विषयमा निर्णय लिइने उनले बताए। अयोध्या विवादमा मुस्लिम पक्षको हितलाई हेर्ने जिम्मेवारी पाएको वाक्फ बोर्डको बैठक नोभेम्बर १३ मा हुने कार्यक्रम थियो तर अयोध्या मामिलाको निर्णय आउने भएपछि त्यसलाई सारिएको थियो।

अब यो बैठक नोभेम्बर २६ हुने सम्भावना रहेको छ।फारुकीले जमिन लिने विषयमा आफूलाई मान्छेहरुको फरकफरक सुझाव आइरहेको बताए। तर उनको व्यक्तिगत मान्यता नकारात्मकतालाई सकारात्मकताबाट अन्त्य गर्न सकिन्छ भन्ने रहेको छ।

धेरैले सुन्नी वाक्फ बोर्डलाई बाबरी मस्जिदको सट्टा कुनै वैकल्पिक जमिन लिन नहुने सुझाव दिइरहेको उनले बताए। उनीहरुको भावनाको सम्मान गरेपछि त्यसले नकारात्मकता मात्र बढ्ने उनी बताउँछन्। अयोध्या मामिलामा आफूले मध्यस्थता गर्नुमा दुबै पक्षबीच व्याप्त नकारात्मकता अन्त्य होस् भन्ने अभिप्राय रहेको उनले बताए।

यस अभियान सफल भयो वा भएन भन्दा पनि अभिप्राय भने प्रष्ट रहेको उनले थपे।केहीले भने वाक्फ वोर्डले जमिन लिनुपर्ने र त्यसमा कुनै शिक्षण संस्थान बनाउनुपर्ने मत राखेको फारुकीले बताए। त्यसको परिसरमा एक मस्जिदको पनि निर्माण होस भन्ने उनीहरुले चाहेका छन्।

जमिन उपलब्ध गराउने विषयमा सोधिएको प्रश्नको जवाफमा त्यो सर्वोच्च अदालतको आदेशको हिस्सा भएको उनले बताए। त्यसको पालना सरकारले गर्नुपर्नेछ। यद्यपि बोर्डको बैठकले जमिन लिने वा नलिने भन्ने विषयमा तय गने उनले बताए। जमिन कसरी लिने, त्यसमा कस्तो सर्त हुनेछ भन्ने विषयमा पनि बोर्डले तय गर्नुपर्नेछ।

राम जन्मभूमि बाबरी मस्जिद विवादमा सर्वोच्च अदालतले शनिबार ऐतिहासिक निर्णय सुनाउँदै सरकारलाई विवादित स्थलमा मन्दिर निर्माणका लागि ट्रष्ट बनाउन फैसला सुनाएको थियो। आदेशमा मुसलमानलाई अयोध्यामै कुनै प्रमुख स्थानमा मस्जिद बनाउन ५ एकड जमिन दिन पनि निर्देशन दिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्