जिज्ञासु भावनाहरू



साँच्चै मानव जाति भएपछि जिज्ञासु हुनु त स्वाभाविक हो तर किन मानिस जिज्ञासु हुन्छन् त भन्ने एक प्रकारको मनमा कौतुहलता जाग्यो। यसको बारेमा मनमा उठेका आफ्ना विचार पोख्न मन लाग्यो। मान्छेको मनमा हरेक भावनाहरू खेलिरहेका हुन्छन्। कहिलेकाहीँ नकारात्मक भावनाहरू पनि उठिरहेका हुन्छन्।

मानिस कतिखेर पनि एक्लो हुँदैन, चाहे बाटोमा हिँड्दा होस्, चाहे कसैसँगको वार्तालाप, मानिसको मनमा भावनाहरू उत्पन्न भइरहन्छन्। प्रकृतिको लिला पनि अचम्मको छ, मानिस जन्मसँगै बिस्तारै–बिस्तारै शारीरिक वृद्धि हुनुका साथै मानसिक रूपमा पनि वृद्धि हुन थाल्छ।

जब दुधेबालक पनि तोते स्वरमा आमा, बाबा भन्छ तबबाटै ऊ आफ्नो बाबा, आमा, दाइ, दिदीसँग केही न केही सिकिरहेको हुन्छ। हरेक वस्तु देखेर त्यो के होला, कस्तो होला भनी अनेक प्रश्नहरू गर्दछ। हामी कहिलेकाहीँ तिनै प्रश्नको उत्तर दिँदा–दिँदा हैरान हुन्छौं।

भनिन्छ नि जिज्ञासु भावनाले नै भोलिको भविष्य निर्माण गर्दछ रे ! हाम्रो गाउँघरमा भन्ने गरिन्छ कि हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको फुस्रो पात। तिनै राम्रा अनि नराम्रा कुराहरूले नै कोही मानिस महान् बन्छ त कोही खराब, साँच्चै हरेक मनमा केही न केही भावनाहरू उत्पन्न हुने गर्छन् तर वैज्ञानिक तथा सामाजिक हिसाबले किशोरावस्थालाई जिज्ञासु उमेर पनि भन्ने गरिन्छ।

वास्तवमा किन किशोर अवस्थालाई जिज्ञासु उमेर भनिएको होला त ? यो अवस्थामा के–कस्ता परिवर्तन र जिज्ञासाका भावना उत्पन्न हुन्छन्। यहाँनेर थोरै विश्लेषण गर्न मन लाग्यो।किनकि हाम्रो गाउँघरमा प्रायजसो किशोर अवस्थामा धेरै परिवर्तन देखिन्छन्।

अन्य उमेरभन्दा यो उमेरमा केटाकेटीहरू बढी जिज्ञासु हुने शारीरिक विकास क्रमसँगै विभिन्न क्रियाकलापहरूमा परिवर्तन आउने गर्दछ। हुन त जिज्ञासा जुनसुकै उमेर, व्यक्ति सबैको मनमा उत्पन्न भइरहन्छ। उमेरअनुसार फरक–फरक विचार भावना जागृत हुन्छ।

फरक स्वभाव, फरक रुचि, गीत–संगीतकै कुरा गर्दा पनि केटाकेटीदेखि लिएर वृद्धावस्थाको उमेरमा फरक–फरक हुन्छ। तर पनि विशेष गरी जिज्ञासु उमेरकै कुरा गर्दा बालबालिकाको उमेर परिवर्तनसँगै शरीरमा तीव्ररूपमा परिवर्तनहरू देखिन थाल्छन। बालक र बालिकाहरूबीच उमेर वृद्धिसँगै शारीरिक परिवर्तनमा पनि फरकपन आउँछ।

शारीरिक स्वरूपमा नै परिवर्तन आउने उमेरलाई जिज्ञासु उमेर भनिन्छ। किनकि बाल्यकालबाट वयष्क हुने परिवर्तनशील अवस्था हो। यो अवस्थामा किशोर तथा किशोरीको प्रजनन, मानसिक, बौद्धिक, आर्थिक तथा अन्य क्षेत्रमा विकास भई उनीहरू परिपक्व हुने गर्दछन्।

शारीरिक परिवर्तनहरू पनि आउने गर्दछ। हलक्क बढ्नु, काँध चौडा हुनु, दाह्री–जुँगा आउनु, स्वर धोद्रो हुनु, काखीमुनि रौं आउनु, डण्डिफोर आउनु तथा केटीहरूमा आउने परिवर्तनमा तिघ्रा सोली आकारको हुनु, स्वर अझै सुरिलो हुनु, काखीमुनि रौं आउनु, डण्डिफोर आउनु, महिनावारी हुनु, स्तन बढ्नु आदि शारीरिक परिवर्तन किशोरावस्थामा आउछन्।

यी अवस्था त स्वाभाविक भए तर यो उमेरमा किन बढी जिज्ञासु हुन्छन् त भन्ने कुरा अलि गम्भीर रूपमा लिने गरिन्छ। सही, गलत निर्णय लिने यही अवस्था हो। ज्ञानले भरिपूर्ण हुने, आफु कस्तो बन्ने असल या खराब, राम्रा र नराम्रा विचार उत्पन्न हुन्छन्। के जिज्ञासा उमेरअनुसार परिवर्तन हुन्छन् त ?

यदि त्यसो हो भने किन बालबालिका बढी जिज्ञासु हुन्छन् ? कुनै विचारले यो उमेर, त्यो उमेर भन्दैन। हुन सक्छ उमेरअनुसार नयाँ–नयाँ विचार वा जिज्ञासा आउँछ। कहिले ती जिज्ञासाहरू सकारात्मक भइदिन्छन् र मानिस विचारले महान् भइदिन्छ।

तर कहिलेकाहीँ तिनै विचार, जिज्ञासा नकारात्मक हुन्छ अनि हाम्रो मन मस्तिष्कमा गलत धारणा पैदा गर्छ। हो, मानिस जन्मसँगै विचार विमर्श गर्दछ अनि कोही जीवनमा महान् बन्छ त कोही खराब। तर पनि विचारले मानव भरिपूर्ण छ।

साँच्चै जीवन अमूल्य छ। जीवनमा केही गर्नु र भोलिका पुस्ताको लागि महान् प्रेरक बन्नु छ। जिज्ञासा जीवनको सत्मार्ग हो। किनकि महान् विचारक आज वैज्ञानिक, दार्शनिक, आध्यात्मिक बनेका छन्। हो, यो सब जिज्ञासाको कारण नै त म कस्तो बन्छु, कुन मार्गमा हिँड्छु, त्यो आफैं अन्तरमनमा उत्पन्न भइरहने जिज्ञासु भावनाले नै हो।

तसर्थ जिज्ञासा र जिज्ञासु भावना हरेक मन मस्तिष्कमा उत्पन्न भइरहन्छ। तर तिनै जिज्ञासाले मानिसको भविष्य निर्माण हुन्छ। यदि मानिसले सदा राम्रा अनि सकारात्मक विचार विमर्श गर्यो भने जीवन सरल र आनन्ददायक हुन्छ।

सत्कर्म गरौं, सकारात्मक बनौं भन्ने यस लेखको प्रमुख आशय हो। किनकि जिज्ञासा सबैमा हुन्छ, चाहे धनी होस्, चाहे गरिब, चाहे प्रतिष्ठित, आममानिसमा जिज्ञासा र जिज्ञासु भाव उत्पन्न हुन्छ। त्यसैले त मानव प्राणीमध्ये सर्वश्रेष्ठ छ।

– कृषिता अधिकारी, बाग्लुङ।

 

प्रतिक्रिया दिनुहोस्