चिताएको पुर्याउने बागेश्वरी



कुमार श्रेष्ठ
बाँके
नेपालगन्जको बागेश्वरी मन्दिर पश्चिम नेपालको प्रमुख शक्तिपीठमध्येमा पर्छ। हरेक वर्ष हजारौं मानिसले बागेश्वरी माताको दर्शन गर्छन्। सतिदेवीको जिब्रो पतन भएको ठाउँ भएकाले वाक्य–ईश्वरी हुँदै बागेश्वरी नामकरण भएको मन्दिरका महन्त हरिहरनाथ योगी बताउनुहुन्छ।
बागेश्वरी मन्दिरको उत्पत्तिबारे महन्त योगी भन्नुहुन्छ, दक्ष प्रजापतिले ठूलो ‘यज्ञ’ आयोजना गरेका थिए। सबै देवतालाई निम्ता दिइयो। छोरी सति र शिव (महादेव)लाई बोलाइएन। माइतीमा ठूलो यज्ञ आयोजना गरेको नारदले सतिलाई सुनाए। सतिले जाने इच्छा गरिन्। शिवले नबोलाएको ठाउँमा जान उचित नहुने सल्लाह दिए। सतिले मानिनन्।
माइतीमा जान बोलाउनुनपर्ने अडान लिइन्। सति यज्ञ भएको ठाउँमा पुगिन्। दक्ष प्रजापतिले सतिको ठूलो बेइज्जत गरे। शिवलाई लल्कारे। सबैको अगाडि शिवलाई कपाली, पाखण्डी भने। सतिले सहन सकिनन्। उनले त्यही आगोमा हामफालेर प्राण त्याग गरिन्।
सतिले प्राण त्याग गरेपछि शिव आक्रोशित भए। सतिको मृत शरीर बोकेर हिँड्न थाले। शिव बहुलाजस्तो भए। शिवले सतिको मृत शरीर नछोडेपछि भगवान् विष्णुले सुदर्शन चक्र प्रहार गरेर सतिको शरीर छियाछिया पारिदिए। सतिको शरीरका विभिन्न भाग विभिन्न ठाउँमा खसे। त्यसक्रममा सतिको वाक्य (जिब्रो) खसेको ठाउँमा बागेश्वरी मन्दिर बनेको छ।
श्री स्वस्थानीमा सतिको २४ करोड अंग खसेको बयान गरिएको छ।सतिको जिब्रो खसेकाले पहिला यो मन्दिरको नाम वाक्यश्वरी थियो। पछि त्यही वाक्यश्वरी अपभ्रंश हुँदै बागेश्वरी नामाकरण भयो। ‘तेत्रायुगको अन्तिममा जिब्रो पतन भएको हो, मिति त भागवतमा पनि छैन’, महन्त योगी भन्नुहुन्छ– ‘बागेश्वरी मन्दिर कहिले बन्यो यकिन छैन।’
सन् १८५७ मा भारतको लखनउमा भएको सैनिक विद्रोह (गदर) दबाउन श्री ३ महाराज जंगबहादुर राणाले ब्रिटिसलाई सहयोग गरेपछि प्राप्त नयाँ मुलुकमा पर्छ, बाँके जिल्ला। त्यसअघि बाँके तुलसीपुर स्टेट (बलरामपुर) भित्र पथ्र्यो। तुलसीपुर स्टेटमा पाटनदेवी मन्दिर रहेको छ। यो मन्दिर पनि सतिको अंग खसेको ठाउँ मानिन्छ।
त्यहाँ सतिको बामपट खसेको थियो। पहिला एउटै स्टेटमा पर्ने भएकाले बागेश्वरी र पाटनदेवीको सीधा ‘कनेक्सन’ रहेको छ। कतिपयले बागेश्वरी र पाटनदेवी मन्दिरलाई दिदी–बहिनी मान्छन्। तर, वास्तविकता के हो भने बागेश्वरी मन्दिर र पाटनदेवी मन्दिरको गर्भ (भित्र) मा सधैं बत्ती बलेको हुन्छ। कुनै मन्दिरमा त्यो बत्ती निभ्यो भने एक अर्का मन्दिरमा गएर बालेर ल्याउने गरिन्छ।
त्यसो त गर्भको बत्ती निभ्नुहुँदैन। महन्त योगीका अनुसार बागेश्वरीको गर्भको बत्तीलाई भीडभाडमा पनि निभ्न नदिन विशेष सतर्कता अपनाइन्छ।बागेश्वरीमा भाकल गर्ने र दैनिक आउने भक्तजनबाहेक चार नवरात्रमा भीड हुने गर्दछ। असोज, माघ, असार र चैत्रमा नवरात्र (शुक्ल पक्ष) पर्छ। माघ र असारको नवरात्रबारेमा धेरैलाई थाहा छैन।
थाहा पाएकाजति मन्दिर आउँछन्। तीज र शिवरात्रीमा भीडभाड हुन्छ। अन्त कहीं नभएको जुँगे महादेवको मन्दिर यहाँ रहेको छ, त्यो पनि तालको बीचमा। सति भएको ठाउँमा महादेव अनिवार्य हुन्छन्। मन्दिर परिसरमा सिद्धबाबाको समाधी रहेको छ। यो मन्दिरलाई सिद्धबाबाले खोजेको भन्ने पनि गरिन्छ।
सिद्धबाबा भनेका शिव या त कुनै ऋषिमुनि हुन सक्ने महन्त योगीको भनाइ छ। भगवतीको दाहिने पारेर कहीं न कहीं शिव बस्ने भएकाले सिद्धबाबालाई शिव हुन सक्ने अनुमान गरिन्छ। सिद्धबाबालाई पनि सधैं भोगप्रसाद चढाइन्छ।
बागेश्वरीले चिताएको कुरा पुर्याइदिने जनविश्वास रहेको छ। सन्तान नभएकाहरू, हण्डर खाएकाले बागेश्वरीमा आएर मन्नत माग्ने गरेका छन्। महन्त योगीका अनुसार भारतका एकजना फकिर मुसलमान छन्।
उनी वर्षेनी नवरात्रीमा आउँछन्। उनको कुनै सन्तान थिएन। बागेश्वरी मन्दिरमा आएर उनले सन्तान माग गरे। महन्त योगीले भनेअनुसार नै तीनदेखि नौ पटकसम्म परिक्रमा गरे। शिर झुकाए।
पछि उनलाई पुत्र लाभ भयो। मुसलमान भए पनि उनले आफ्नो छोराको बागेश्वरी मन्दिरमै ल्याएर मुण्डन गरे।बागेश्वरी सबैको विश्वास र आस्थाको धरोहर मानिन्छ। नेपालका मात्रै होइन, वर्षेनी ठूलो संख्याका भारतीयले मन्दिरमा पूजा गर्छन्। कतिपयले मन्दिरमा आएर जिब्रो चढाउँछन्।
विशेष गरेर नवरात्रीमा नेपाल र भारतबाट आएका दर्जनौंले जिब्रो छेड्ने गर्दछन्। नेपालगन्जका सूर्यलाल गुप्ता (फेटेरा)ले जिब्रो नै काटेर चढाएको महन्त योगी बताउनुहुन्छ। ‘माता बागेश्वरीको शक्ति हेर्नुस् न सूर्यलालले जिब्रो काटेर चढाए। २४ घण्टाभित्र पलायो।’ –योगीले भन्नुभयो।
बागेश्वरी मन्दिर पहिला खरको झुप्रो थियो। २०१८ सालमा यसलाई व्यवस्थित गरियो। पुरानोलाई भत्काएर प्यागोडा शैलीमा बनाइयो। २००६ सालमा तत्कालीन बडाहाकिम प्रकाश शमशेरले तलाउको बीचमा रहेको जुंगे महादेवको मन्दिरलाई व्यवस्थित गरेका थिए।
श्री ३ जंगबहादुरले सहयोग गरेबापत ब्रिटिसले नयाँ मुलुक दिएपछि बाँकेमा विभिन्न नाम गरेका बडाहाकिमहरू आएर बस्ती व्यवस्थित गरेका थिए। त्यसक्रममा बागेश्वरी मन्दिरको व्यवस्थापनमा कुनै न कुनै सहयोग भएको थियो।
शुरूमा जंगबहादुरले सिद्धिमानसिंह राजभण्डारीलाई नयाँमुलुक पठाए। उनी जंगबहादुरसँग बेलायत भ्रमण गर्नेमध्येका एक हुन्। जंगका विशेष पात्र। राजभण्डारीले नै शुरूआती बस्ती बसाएका मानिन्छ। त्यसपछि राजशमशेर, मेघराजशमशेर, प्रकाशशमशेर, धु्रवशमशेर नेपालगन्जको बडाहाकिम भए।
सबैले नेपालगन्जको विकासमा कुनै न कुनै योगदान दिए। बागेश्वरी मन्दिर त त्यतिबेलादेखि नै प्रसिद्ध थियो। त्यसो त राणाहरूको धर्मकर्मप्रति बढी नै आस्था र विश्वास रहेको थियो।
बागेश्वरी मन्दिरको उत्पत्तिबारेमा जनश्रुति धेरै छन्। बलरामपुर स्टेटका राजाको सपनामा एक दिन भगवतीले मन्दिर बनाउन भनिछन्। त्यतिबेला जंगलको बीचमा बाँसको घारी थियो रे। बाँस काट्दै जानु जुन बाँस काट्दा रगत आउँछ, त्यहीं मन्दिर बनाउनु भन्ने सपनामा भनिएको थियो।
त्यहीअनुसार बाँस फाँडियो। काट्दै जाँदा एउटा बाँसबाट रगत आएछ। त्यहीं नै खरको मन्दिर बनाइएछ। त्यही खरको मन्दिरलाई पछि व्यवस्थित गरिएको भन्ने गरिन्छ। मन्दिरमा चढाउनका लागि आसपासमा मिठाई पसलहरू राखिएछन्। घरबारीटोलका रामहरि शर्माको संयोजकत्वमा मन्दिरको जीर्णोद्धार गरिएको अधिवक्ता सुदीप भट्टराईले बताउनुभयो।
नेपालगन्ज घुम्न आउने जो कोहीका लागि बागेश्वरी मन्दिर पहिलो रोजाइमा पर्ने गर्दछ। धार्मिक, सांस्कृतिकरूपमा मात्रै होइन, यो पर्यटकीय गन्तव्य पनि हो। जनप्रतिनिधिहरू आएपछि मन्दिरको व्यवस्थापन चुस्त हुँदै गएको छ। आस्थाको धरोहर बागेश्वरीको महिमा दिनप्रतिदिन बढ्दै गइरहेको छ।
मन्दिरको सम्पत्तिबारे चासो
बागेश्वरी मन्दिरको सम्पत्ति संरक्षणको सवालमा वर्षौंदेखि आवाज उठ्दै आएको छ। खास गरी जनप्रतिनिधि आएपछि (२०७४ असार १४) मन्दिरको सम्पत्ति खोजबिन थालियो। मेयर डा. धवलशमशेर राणाको संयोजकत्वमा बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति बनाइयो।
व्यवस्थापन समितिले मन्दिरको सम्पत्ति अर्थात् जग्गा खोजी थाल्यो। मन्दिर आसपासमा रहेका झुपडी पसलहरू हटाएर सटरमा व्यवस्थित गर्यो। मन्दिरको आम्दानी पारदर्शी गराउने अभियान थाल्यो। खोज्दै जाँदा मन्दिरको नाममा रहेको ८४ बिगाहा जमिन व्यक्तिको नाममा पुगिसकेको पत्ता लाग्यो।
मालपोतबाट समेत मन्दिरको जग्गा व्यक्तिको नाममा नामसारी भएको कागजात फेला पार्न सकिएन। गुठी व्यवस्थापन समितिका साथै केन्द्रबाट सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण जाँचबुझ आयोगको टोली आएर जग्गाबारेमा बुझ्यो।
आयोगका सदस्य जगत देउजा र कानुनी अधिकृत जनक पोखरेलको टोली भदौ तेस्रो हप्ता छानबिन गर्न नेपालगन्ज आइपुगेको थियो।बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति, नेपालगन्जले करिब दुई वर्षको अवधिमा मन्दिरको सम्पत्ति खोजबिन गर्दा इन्द्रपुरमा रहेको ८४ बिगाहा १० कठ्ठा १० धुर जग्गा कसरी व्यक्तिको नाममा गयो भन्ने पत्ता लगाउन सकेको छैन।
समितिले असोज ४ गते शनिबार पत्रकार सम्मेलन गरेर मन्दिरको सम्पत्ति सार्वजनिक गर्दा ८४ बिगाहा जमिन कानुनतः हो कि अवैधानिकरूपमा व्यक्तिको नाममा नामसारी भएको हो भन्ने पत्ता लगाउन नसकेको जनायो।
२०२७ पुस १३, २०२८ कात्तिक १४ र २०५७ असोज १७ गतेको निर्णयअनुसार बागेश्वरीको नाम कट्टा भई रैतान नम्बरी कायम गरी इन्द्रपुरको ८४ बिगाहा जमिन करिब तीन सय जनाको नाममा नामसारी भएको छ। त्यतिबेलाका निर्णयहरू प्राप्त हुन सकेको छैन।
सम्पत्ति खोजबिन उपसमितिकी संयोजक एवं नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले मन्दिरको नाममा रहेको ८४ बिगाहा जमिन कसरी व्यक्तिको नाममा गयो? कानुनतः गएको हो कि अवैधानिकरूपमा गएको हो खोजबिन गरिरहेको बताउनुभयो।
उहाँले यी जग्गा रैकर कायम गरेर नामसारी भएको देखिएको जानकारी दिँदै रैकरसम्बन्धी व्यवस्था २०४०÷४१ सालमा भएकाले २०२७÷२०२८ सालमा कसरी त्यो व्यवस्थाअनुसार काम भयो अन्योल रहेको बताउनुभयो।
२०२७, २०२८ र २०५७ सालको शुरूआती निर्णयअनुसार ६३ जनाको नाममा जग्गा गएको छ। २०५७ सालमा करिब १५ बिगाहा जमिन महन्तको नाममा आएको छ। फेरि–फेरिको निर्णयअनुसार ८४ बिगाहा जमिन करिब तीन सय जनाको नाममा पुगेको छ। महन्तको नाममा अहिले जग्गा नदेखिएको बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका कानुनी सल्लाहकार लोकबहादुर शाहले जानकारी दिनुभयो।
यसबाहेक मन्दिरसँग खजुराखुर्दमा तीन बिगाहा १६ कठ्ठा, मन्दिर परिसरमा एक बिगाह १८ कठ्ठा, परसपुरमा तीन कठ्ठा एक धुर जग्गा रहेको छ। गुठी व्यवस्थापन समितिका अनुसार, २०७६ असारसम्ममा २१ लाख १० हजार १ सय ६५ रुपियाँ बैंक खातामा रहेको छ। त्यसबाहेक १२ लाख रुपियाँ फिक्स डिपोजिट रहेको छ।
समिति आउनुअघि १६ लाख ३८ हजार ७ सय ९६ रुपियाँ खातामा थियो भने १७ लाख ८ हजार एक सय २३ रुपियाँ विद्युत् महसुल बुझाउन बाँकी थियो। मन्दिरमा रहेका दुईवटा तिजौरीमा ‘गहना र पैसा’ रहेको हल्लाका बीच मालपोत कार्यालयमा लगेर २०७४ फाल्गुन ३० गते खोल्दा २० किलो ३ सय चार ग्राम चाँदी र दुई तोला जति सुनका गहना फेला परेका थिए।
त्यो नेपाल बैंक लिमिटेडको लकरमा राखिएको छ।नयाँ समिति आइसकेपछि मन्दिरमा सुनको आखिया, नथुनी २÷२ थान, तार र बिन्दिया एक÷एक थान, तिलहरी चार थान प्राप्त भएको छ।
त्यस्तै, चाँदीका छत्तर ६ थान, आखिया २ थान र पाउदान, बेलपत्र, सिंहासन, लक्ष्मीको मूर्ति, गणेशको मूर्ति र चाँदीको बिन्दिया एक÷एक थान जम्मा भएका छन्।समितिले सटर, पसल, बोटिङ सञ्चालन गरेर आयस्रोत बढाएको छ। अस्थायी फूल प्रसादी पसलको भाडा, पक्की सटरको भाडा, नयाँ निर्माण हुने सटरको भाडा, बोटिङ सञ्चालन, दानपेटिका, मालपोत, दान दक्षिणालाई व्यवस्थित गरेर मन्दिरको आयस्रोत बढाएको समितिले जनाएको छ।
मन्दिरमा खुला दर्शन, विवाह, व्रतबन्ध, पञ्चबली, विशेष पूजा, बली, ठूलो गाडी पूजा, सानो गाडी पूजा, मोटरसाइकल पूजामा आउने रकम व्यवस्थापन समिति र महन्तले कसरी बाँड्छन् भन्ने पनि सार्वजनिक गरिएको छ। जस्तो, खुला दर्शन गर्दा भक्तजनले २ सय ५१ रुपियाँ तिर्दा मन्दिरले ७० रुपियाँ पाउँछ भने महन्तले १ सय ८१ रुपियाँ पाउँछन्।
विशेष पूजामा दुई हजार ५१ रुपियाँदेखि माथि चढाउनुपर्छ। त्यसमा मन्दिरले २५ प्रतिशत पाउँछ भने ७५ प्रतिशत महन्तले लिन्छन्। बली चढाएबापत २ सय ५ रुपियाँ तिर्नुपर्छ। त्यसमा ५५ रुपियाँ मन्दिर व्यवस्थापन समिति र १ सय ५० रुपियाँ महन्तले लिन्छन्।
विवाहमा ५ सय ५५ मध्ये मन्दिरलाई ३ सय ५० र महन्तलाई २ सय ५, व्रतबन्धमा ३ सय ५ मध्ये मन्दिरलाई १ सय ७५ र महन्तलाई १ सय ३०, पञ्चबलीमा ५ सय ५१ रुपियाँमा मन्दिरलाई ३ सय ५० र महन्तले २ सय १ रुपियाँ पाउने व्यवस्था रहेको छ। गाडी पूजामा ७५ प्रतिशत मन्दिर र २५ प्रतिशत महन्तले पाउँछन्।
बागेश्वरी मन्दिर संरक्षण र व्यवस्थापनमा नगरवासीको ठूलो चासो र साथ रहेको छ। आवश्यकता भन्दा बढी खबरदारीले कहिलेकाहीं बनिसकेको काम पनि बिग्रिने वा पछि धकेलिने सम्भावना हुने गर्दछ। घरबारीटोलको सडक फराकिलो पार्दा मन्दिरको सटरहरू फोड्नुपर्यो।
गुठी व्यवस्थापन समितिले नयाँ सटर बनाएर उनीहरूलाई राख्ने योजनाअनुरूप शिलान्यास गर्यो। ‘केही अभियन्ता’ नामधारीले पुरातात्विक महत्वको संरचनामा व्यावसायिक सटर (कम्प्लेक्स) बनाउन थालेको भन्दै विरोध गरे। त्यसले बन्दै गरेको मन्दिरका सटर बनाउनमा ढिलाइ भएको छ।
मेयर डा. राणाले सटरलाई कम्प्लेक्स भनेर फोटो राख्दा यस्तो गलत प्रचार भएको थियो। अहिले पुरातत्व विभागले मन्दिर व्यवस्थापनका लागि सटरहरू बनाउन निर्देशन दिइसकेको बुझिएको छ। यद्यपि, अहिलेसम्म सटरको काम भएको छैन। मन्दिरलाई खुला राख्न नहुने भन्दै बाटोतिरबाट जस्तापाताले घेरिएको छ।
शुद्ध मनले चिताउनुस्, पूरा हुन्छ ः महन्त हरिहरनाथ
१) बागेश्वरीको महिमा के हो ?
बागेश्वरी (भगवती)ले चिताएको कुरा पूरा गरिदिन्छिन्। भक्तजनले शुद्ध मनले चिताउनुपर्छ। त्यो माताबाट पूरा हुन्छ। चञ्चल मनले मागेर हुँदैन।
बागेश्वरीमा आएकाहरूले मागेको पूरा नभएको छैन। दुःख परेका, कहींबाट न्याय नपाएकाहरू माताको दर्शनमा आउने गर्दछन्।माताले कसैलाई भेदभाव नगरी फल दिन्छिन्। जगत् माता भएकाले सबैको कुरा सुन्छिन्।
२) बागेश्वरीमा कहिले–कहिले भक्तजन बढी आउँछन् ?
यहाँ भक्तजनहरू दैनिक आउँछन्। जिल्लाका मात्रै होइन, अन्यत्रबाट र भारतका विभिन्न शहरबाट माताको दर्शन गर्न आउने गर्दछन्। बागेश्वरीमा विशेष गरेर चैत्र र असोजको नवरात्री, तीज र शिवरात्रीमा बढी भीड हुने गर्दछ। भाकल गरेर बलिदिने, सवारी साधन पूजा गर्ने, मुण्डन गर्ने, विवाह गर्नेहरू आइरहन्छन्।
३) मन्दिर कहिले बनेको होला ?
तेत्रायुगको अन्तिममा सतिको जिब्रो पतन भएको जनविश्वास रहेको छ। मन्दिर कहिले बन्यो भन्ने त यकिन छैन। श्री ३ जंगबहादुरले नेपालगन्जमा बस्ती बसाउनुअघि नै बागेश्वरी मन्दिरको अस्तित्व रहेको आकलन गरिन्छ। बाँके पहिला तुलसीपुर स्टेटअन्तर्गत रहेकाले नेपाली बस्ती बस्नुअघि नै मन्दिरको अस्तित्व रहेको हुन सक्छ।
४) बागेश्वरी र पाटनदेवीको कनेक्सन के हो ?
बागेश्वरी र भारतको पाटनदेवी मन्दिरमा सतिको अंग खसेको मानिन्छ। बागेश्वरीमा जिब्रो र पाटनदेवीमा बामपट खसेको भनिन्छ। पहिला एउटै स्टेटमा रहेको र अहिले पनि नजिक–नजिकै रहेकाले एक अर्कामा कनेक्सन रहेको छ। विशेष गरी मन्दिरभित्र (गर्भ)मा बालिएको बत्ती निभेमा एक अर्को मन्दिरबाट बालेर ल्याउने गरिन्छ।
५) बागेश्वरीमा आएर चिताएको पुग्छ भनिन्छ। कसैले मैले यो माग गरेको थिएँ, पूरा भयो भनेको थाहा छ ?
त्यो त भक्तजनहरूले जान्ने कुरा हो। तपाईंले पनि अहिले शुद्ध मनले मागेर हेर्नुस्, पूरा हुन्छ कि हुँदैन थाहा भइहाल्छ नि।
तर, मलाई एकजना भारतीय फकिर मुसलमानले मागेको पुग्यो भनेर हरेक वर्ष नवरात्रीका दिन आएर भेट्ने गर्दछन्।उनको सन्तान नभएको रहेछ। बागेश्वरी मन्दिरमा आएर चिताएपछि पूरा भएछ।
बागेश्वरी माताले मागेको पूरा गरेकाले उनी हरेक वर्ष नवरात्रीमा आएर पूजा गरेर जान्छन्। माताले चिताएको पुर्याएको कति छन् कति नि। नत्र यत्रो भीड लाग्न मानिसहरू किन मन्दिरमा आउँथे होलान्।
६) तपार्इंले थाहा पाउँदा मन्दिर कस्तो थियो ?
२०१८ सालमा पुरानो भत्काएर नयाँ मन्दिर बनेको हो। पहिला बागेश्वरी प्यागोडामा थिएन। मन्दिरभित्र जाने एउटामात्रै ढोका थियो। बाहिरी घेरामा तीनवटा ढोका थियो। दुईवटा ढोका नवरात्रमा मात्रै खुल्थ्यो।
अहिले चारवटा ढोका छन्। जुंगे महादेव मन्दिरको २००६ सालमा बडाहाकिम प्रकाशशमशेरले जीर्णोद्धार गरिदिएका हुन्।

प्रतिक्रिया दिनुहोस्