नेपाली खेलाडीको मर्का बुझेकाले सहयोग गरेको हुँ ः क्षेत्री



विदेशमा बसे पनि नेपाली खेलाडीको पीर–मर्कालाई बुझेर सहयोगका लागि हात अघि बढाउनेमध्येका एक हुन् सिद्धार्थविक्रम भण्डारी क्षेत्री। उहाँले विगत केही वर्षअघिदेखि समस्यामा परेका नेपाली खेलाडीलाई सहयोग गर्दै आउनुभएको छ। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) यूके च्याप्टरका अध्यक्ष एवं पूर्वबक्सरसमेत हुनुहुन्छ क्षेत्री। कार्यको कदर स्वरूप गत सोमबार नेपाली बक्सिङ परिवारद्वारा सम्मानित हुनुभएका उहाँसँग नेपाल समाचारपत्रका लागि कविरस शर्माले गरेको कुराकानीको सारसंक्षेप ः

कति भयो खेलकुदसँग आबद्ध हुनुभएको ?

सन् २००२ बाट बक्सिङ खेल्न थालेको हुँ। मैले २००३ मा भएको नोभिस प्रतियोगितामा ६४ केजीको फाइटमा स्वर्ण पदक जितेको थिएँ। त्यसको केही वर्षपछि पोखरा र हेटौंडामा सम्पन्न राष्ट्रियस्तरको प्रतियोगितामा पनि रजत र कांस्य पदक जितेको थिएँ। फुटबलमा पनि मेरो सानैदेखि रुचि रहेको छ।

कहाँबाट खेल्नुहुन्थ्यो ?

म नेपाल युथ बक्सिङ ग्रुपबाट खेल्थे। शुरूमा मैले विजय डंगोल र राज श्रेष्ठबाट प्रशिक्षण लिएको थिए। त्यसपछि ओम मास्के र हाल नेपाली बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापा मगरसँग पनि प्रशिक्षण लिए।

सहयोग गर्ने सोच कसरी आयो ?

बेलायतमा जानु अघिदेखि नै मैले आफूले सक्ने सहयोग बक्सिङमा गर्दै आएको हुँ। प्रतियोगिता आयोजना जस्तो काममा मैले अग्रसरता देखाउने गर्थे। खेलाडी भएकाले पनि होला सायद मैले नेपाली खेलाडीको मर्कालाई राम्ररी बुझेको छु। त्यसैले सहयोग गर्ने सोच बनाएको हुँ।

अहिलेसम्म खेलाडीका लागि कति सहयोग गर्नुभएको छ ?

ठ्याक्कै यति नै भनेर सम्झना छैन। करिब १० लाख नाघिसक्यो होला। मैले कृष्णमान गुरुङ, स्व. इन्द्रबहादुर राना मगर, दीपक महर्जन, आइबा रेफ्री तथा कोच स्व. मञ्जुजंग थापा, पहिलो अन्तर्राष्ट्रिय गोलकर्ता नेपाली फुटबलर वाईबी घलेलगायत अन्य केही खेलाडीलाई सहयोग गरेको छु।

बिदेसिनुको कारण ?

म पढ्नका लागि बेलायत गएको हुँ। त्यतिखेर मेरो खेल करियर शुरूआतमा नै थियो। नेपालमा खेलेर मात्र भविष्य बन्ने नदेखेपछि बिदेसिएको हुँ।

नयाँ पुस्ताको खेलाडीलाई यूके (संयुक्त अधिराज्य) मा प्रशिक्षणका लागि कसरी छनोट गरिन्छ ?

छनोटको जिम्मेवारी नेपाल बक्सिङ संघको हो। यूकेमा तीनवटा बक्सिङ क्लबसँग समन्वय गरी ५ जना खेलाडीलाई प्रशिक्षणको व्यवस्था मिलाउँछांै। ती पाँचै जनाको आवास तथा खानपिनको व्यवस्था भने नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ यूके च्याप्टरले गर्नेछ।

जसमा मलगायत सुवास कार्की, विरेन खड्का, जीवन सेन, हरि गुरुङ क्रियाशील छौं। नेपालबाट आउने कतिपय खेलाडीलाई यसअघि पनि हामीले खाने र बस्ने व्यवस्था मिलाउँदै आएका छौं।

नेपाली खेलकुदको समस्याको विषयमा सम्बन्धित निकायलाई कस्तो सुझाव दिन चाहनुहुन्छ ?

सम्बन्धित खेल संघले क्रियाशील व्यक्तिहरू सबैलाई समेट्नुपर्छ जस्तो लाग्छ। सरकारले मात्र सहयोग गर्नुपर्छ भन्ने पनि छैन। कुनै खेलाडीलाई गाह्रोसाह्रो पर्दा च्यारिटी खेलमार्फत अर्थ संकलन गरी पनि सहयोग गर्न सकिन्छ। मैले पनि यूकेमा त्यस्तै च्यारिटी क्रियाकलापमार्फत रकम संकलन गरी नेपालमा सहयोग गर्ने गरेको छु। २०७२ सालमा गएको महाभूकम्पका पीडितलाई पनि च्यारिटी र चन्दामार्फत संकलित करिब २५ लाख नगद विभिन्न संघ–संस्थामार्फत सहयोग गरेको थिएँ।

यूके प्रशिक्षणबाट कस्तो लक्ष्य लिनुभएको छ ?

अहिलेको अवस्थामा नेपाली बक्सरले ओलम्पिकमा पदक ल्याउने कुरा म गर्दिनँ। तर, भविष्यमा एसियाली खेलकुद र ओलम्पिक छनोटसम्म पार गरेमा पनि ठूलो उपलब्धि हुने लक्ष्यमा यस्तो प्रशिक्षण सहयोगी बन्नेछ।

कति समयका लागि प्रशिक्षणको व्यवस्था गरिनेछ ?

नयाँ पुस्ताका सम्भावना भएका खेलाडीहरूलाई ६ महिनासम्मको प्रशिक्षणका लागि पहल गरिरहेका छौं।

भविष्यमा पनि यस्तो सहयोगले निरन्तरता पाउनेछ ?

अवश्य पाउनेछ। म जहाँ भए पनि नेपाली खेलकुद र खेलाडीलाई आफूले सक्दो सहयोग गर्नेछु। तर, सम्मान पाउनका लागि नै भनेर सहयोग गर्नतिर लागेको चाहिँ होइन।

प्रतिक्रिया दिनुहोस्