कुकुर, काग र वनस्पतिको पूजा गर्ने सभ्यता जोगाउँदै छौं



स्नेहा श्रेष्ठ
अध्यक्ष, पशु कल्याण संघ नेपाल
जुन मुलुकमा मानव अधिकारका लागि नागरिक छटपटाइरहेका छन् त्यस मुलुकमा स्नेहा श्रेष्ठ नामकी एक मानव पशु अधिकारका लागि खटिइरहनुभएको छ। पशु अधिकारका क्षेत्रमा काम गर्दा श्रेष्ठले सोच्नै नसकिने व्यक्तिहरूबाट समेत कठोर धम्की सहनुपरेको छ। स्नेहा पशु कल्याण संघ नेपालका संस्थापक अध्यक्ष हुनुहुन्छ। आफ्नै घरमा पालेको कुकुरबाट प्रेरित भएर उहाँले चलाउनुभएको हो। प्रस्तुत छ पशु अधिकारको अभियानका बारेमा नेपाल समाचारपत्रले गरेको कुराकानीः
यस क्षेत्रमा कहिलेदेखि कसरी लाग्नुभयो ? प्रेरणाको कुनै स्रोत ?

औपचारिकरूपमा म यो क्षेत्रमा लागेको सात वर्ष भयो। यस क्षेत्रमा लाग्नको लागि प्रेरित गर्ने मेरो आफ्नै कुकुर हो। मैले माया गरेको आफ्नै सन्तान मानेर हुर्काएको कुकुरलाई छिमेकीले विष खुुवाइदिएपछि उसको अभावमा म मानसिकरूपमा विक्षिप्त बनें, त्यसैको परिणमस्वरूप स्नेहाज केयर भन्ने संस्था खोलेर मैले जनावरलाई सहयोग गर्ने कार्य शुरू गरें। जुन बेला म जनावरहरूलाई माया गर्दिनथें, तर घृणा पनि नगर्ने र दुःख पनि नदिने व्यवहार थियो। त्यही कुकुरले मेरो हृदयमा जनावरप्रति प्रेमको भावना जागृत गरायो। सायद मलाई यहाँ पुर्याउनकै लागि उसले जन्म लिएको थियो कि जस्तो लाग्छ। अहिले पनि हरेक बिहान म उठेर उसको फोटो हेर्दैै भावुक हुने गर्छु। उसको फोटो हेरेर मात्र मेरो दैनिकी शुरू हुन्छ।
यस क्षेत्रमा लागेर तपार्इंको जिविकोपार्जन चाहीँ कसरी हुन्छ ?

तपार्इंले राम्रो प्रश्न सोध्नुभयो। मानिसले यो कुरा सोच्ने गर्छन्। पशुपक्षीको सेवा गर्नु विशुद्ध मेरो प्यासन हो। मेरो जिविकाको लागि मेरो व्यवसाय छ– ‘ठमेलमा ट्रेकिङ एजेन्सी’, केही होटल अपार्टमेन्ट र भैंसेपाटीमा अर्गानिक तरकारी खेती सञ्चालनमा छ। यो व्यवसायबाट प्राप्त हुने आम्दानीले मैले आफ्नो जीवनका साथै पशु कल्याण अभियान पनि चलाइरहेकी छु। मलाई जनावरको धेरै नै माया लाग्छ त्यसैले म आवाजविहीन प्राणीहरूका लागि जस्तोसुकै दुःख पनि उठाउन तयार हुन्छु। यदि जनावरको कल्याण सुनिश्चित हुन्छ र उनीहरू खुसी रहन्छन् भने मलाई मेरो जीवनशैली र जीविकोपार्जनसँग कुनै मतलब रहँदैन।
नेपालमा मानिस–मानिसबीच विभेद छ, महिला बालबालिका र तथाकथित तल्लो जातका नागरिकमाथिको दुव्र्यवहार र विभेदलाई ध्यान दिन सकिएको छैन, तर तपार्इं पशुको अधिकार भनेर लाग्नुभएको छ। कसरी यो प्रथमिकताको विषय भयो ?

हरेक मानिसका प्राथमिकता फरक–फरक हुनु स्वाभाविक हो। विभेद र दुव्र्यवहार कोही–कसैका लागि पनि राम्रो होइन। यति सचेत मानिस मानिसबीचमा त यस्तो विभेद छ भने ती आवाजविहीन प्राणीको लागि कसले बोलिदिने ? उनीहरू हर दिनरात मानवीय दुव्र्यवहारको सिकार भइरहेका छन्।  मानवीय समस्या समाधानका लागि यति धेरै निकाय छन्, सरकार छ, अदालत छ, कानुन छ, समाज छ। आफ्नो बुद्धि विवेकको प्रयोग गरी मानिस आफ्नो समस्या आफैं समाधान पनि गर्न सक्छ। त्यसैले मानव कल्याणको सम्मान गर्दै म पशु अधिकार र कल्याणको लागि लागिरहेकी छु। पशु कल्यााण मानव कल्याणकै अभिन्न पाटो रहेकोेले यसलाई अन्यथा लिनुपर्छ जस्तो लाग्दैन।
हरेक मानिसका प्राथमिकता फरक–फरक हुनु स्वाभाविक हो। विभेद र दुव्र्यवहार कोही–कसैका लागि पनि राम्रो होइन। यति सचेत मानिस मानिसबीचमा त यस्तो विभेद छ भने ती आवाजविहीन प्राणीको लागि कसले बोलिदिने ? 
पशुबलि नदेऊ भनेर तपार्इं खुँडा खुकुरी नै खोस्न जाउँलाजस्तो गर्नुहुन्छ, झडप हुन्न ?

मानिसहरूसँग झडप गर्ने र सामाजिक सद्भाव बिगार्ने उद्देश्य मेरो हुँदै होइन। सम्पूर्ण प्राणीहरू ईश्वरका सन्तान हुन्। आफ्ना बाबुआमाले सन्तानको बलि खान्छन् भनेर हामी कसरी पत्याइरहन सक्छौं ? त्यसैले धर्मका नाममा कसैले पशुबलि गर्छ भने त्यो मानवीय मूल्य मान्यताविपरीतको कार्य हो। हरेक सचेत नागरिकको यो कर्तव्य हुन जान्छ कि मानवीय मूल्य–मान्यता बचाइराख्नु। यस कार्यका लागि मेरो संस्थाले विद्यालय तथा समुदायमा जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ। म पशु कल्याणका लागि कार्यरत संस्थाहरूको छाता संगठन पशु कल्याण संघको पनि नेतृत्व गरिरहेको छु। यस अर्थमा पनि यो अभियानलाई अन्धविश्वासको चिरफार गर्दै सद्भावपूर्ण तबरले पशु कल्याण स्थापित गर्ने अभियानको रूपमा हाँक्नुपर्ने जिम्मेवारी मेरो काँधमा छ। झडप र हुलहुज्जत गर्दै अरुको धर्म, संस्कार र भावनामा चोट पुग्ने कार्य गर्नु कसैका लागि पनि उपयुक्त हुन्न। तर हामीले गलत संस्कार र विश्वासलाई निर्मूल गर्नैपर्छ, जसरी यस देशबाट सतीप्रथा, दासप्रथा, हलिया प्रथा, बालविवाहजस्ता परम्पराहरू उन्मूलन भएका छन्।

पशुसम्बन्धी कानुन उपयुक्त छन् ?  कानुन नयाँ ल्याउन आवश्यक देख्नुहुन्छ कि ?
इमान्दारीपूर्वक भन्ने हो भने नेपालमा पशुपक्षीसम्बन्धी कुनै स्पष्ट कानुन नै छैन। हामीले जेनतेन केही कानुन प्रयोग गरी हाम्रो अभियानलाई अघि बढाउने प्रयत्न गरेका हौं। पहिले त पशु कल्याण ऐन निर्माण गर्न जरुरी छ। त्यसपछि त्यसको कार्यान्वयनका लागि आवश्यक निर्देशिका तथा नियमहरू बनाउन सहज हुन्छ। पशुपक्षी ढुवानीको नियमन गर्न बनेको पशु ढुवानी मापदण्ड, २०६४, पशु कल्याण निर्देशिका, २०७४, मुलुकी अपराध संहिता, २०७४ मा केही हदसम्म पशुपक्षीको कल्याणका सम्बन्धमा उल्लेख गरिएको भएता पनि यो पर्याप्त छैन।
कुकुरको बन्ध्याकरण गरेर जनसंख्या घटाउनु त ठीक छ, तर उसको प्राकृतिक यौनआनन्द लिन पाउने अधिकार नै समाप्त हुँदोरहेछ नि के भन्नुहुन्छ ?

हरेक आवश्यकताको बीचमा पनि प्राथमिक आवश्यकता हुने गर्दछन्। नेपालमा अहिलेको अवस्थामा कुकुरको यौन आवश्यकताको कुरा भन्दा पनि न्यूनतम कल्याणको सम्बन्धमा सोच्नुपर्दछ भन्ने लाग्छ। नेपालको सडकमा रहेका कुकुरपेटभर खान नपाएर, बिरामी हुँदा उपचार नपाएर मरिरहेको अवस्थामा यौन अधिकारको कुरा गर्नु त्यति सान्दर्भिक हुन्छजस्तो लाग्दैन। सडकमा छाडा पशु चौपायाको संख्या बढेर दुर्घटनाहरू बढिरहेका छन्। मानिस र जनावरको बीचको द्वन्द्व बढ्ने अवस्थामा छ। त्यसैले हामीले पहिले यस्ता समस्याको लागिसोच्नुपर्छ।
पशु अधिकारका पक्षमा वकालत गर्नेहरू कन्भिन्सिङ वे भन्दा दवावमूलक तरिका अपनाउँछन् भनिन्छ नि ?

यो कुरामा म सहमत छ्रैन। हामीलाई नेपालमा पशु कल्याणको आधारका राम्रोसँग थाहा छ। पशु अधिकार अभियान कसैलाई दवाव दिने नभई मानिसमा जनचेतना अभिवृद्धि गर्दै सकारात्मक र सदभावपूर्ण ढंगले यसलाई सर्वस्वीकार्य बनाउने भन्ने हो। तर शिक्षित र विवेकशील भनिएका व्यक्तिहरू नै यस सम्बन्धमा नकारात्मक भेटेको छु। एउटा शिक्षित नागरिकलाई पशु अधिकारको सन्दर्भमा बुझाउनु भनेको चाहिँ एक किसिमको बहस नै छेड्नु जस्तै हो। त्यस्तो बेलामा कहिलेकाँही वैचारिक घम्साघम्सी त हुन्छ नै तर त्यो कसैका विरुद्धमा नभई हाम्रो मुद्दालाई स्थापित गराउने सन्दर्भका लागि मात्रै हो।

पशु अधिकारका क्षेत्रमा काम गर्दा आउने राजनीतिक तथा सामाजिक दवावहरू कस्ता छन् ?

हामी पशु अधिकारका लागि वकालत मात्र गर्ने नभई फिल्डमै उत्रिएर काम गर्छौं। यस्तो बेलामा धेरथोर राजनीतिक सामाजिक दवाव आउँने गरेको छ। कतिपयका लागि नयाँ विषयवस्तु भएकोले पचाउन गाह्रो हुने रहेछ। त्यसमा पनि शिक्षित र गन्यमान्यहरू नै यस्ता विषयवस्तुमा गलत ढंगले प्रस्तुत भएका अनुभव पनि छन्। एउटा गाईलाई गाडीले ठक्कर दिएर घाइते बनाएपछि हामीले मुद्दा चलाउँदा मुद्दा फिर्ता लिन सभासद्कै दवाव पनि भोगेका छौं। कुकुर बिरालोका लागि काम गर्ने त हुन् नि भनेर सार्वजनिक स्थलहरूमा अपमान पनि भोगेका छौं। तर त्यस्ता कुराहरूले हामीलाई खासै असर पार्दैन। एउटा बलियो इच्छाशक्तिका अगाडि सानातिना दवाव र अडचनले कुनै अर्थ राख्दैन।
मानवीय पक्ष, सभ्यता र स्वास्थ्यका विषयमा कसरी कुरा उठाउँदै हुनुहुन्छ ?

गहिरिएर हेर्ने हो भने पशु अधिकार र कल्याण मानव अधिकार र कल्याणकै अभिन्न पाटा हुन्। आफ्नो वरपर रहेका जनावर स्वस्थ रहनु भनेको समुदाय र मानव नै स्वस्थ हुनु हो। रोगी र बिरामी जनावरका कारण हामीलाई विभिन्न किसिमका रोगहरू सर्न सक्दछन्। त्यस्तै पूर्वीय सभ्यतामा जनावरहरू मानव सभ्यताको विकासमा अभिन्न साथीको रूपमा रहँदै आएका छन्। हाम्रो संस्कारमा हामी जनावरको पूजा गर्ने गर्दछौं। उनीहरूको योगदानलाई सम्झिन्छौं। अनि तिनै जनावरको अधिकारको कुरा उठाउँदा चाहिँ किन टाउको दुखाउने ? त्यसैले हामी मानव स्वास्थ्य, पशु स्वास्थ्य, वनस्पति स्वास्थ्य सँगसँगै मानवीय सभ्यतासँग पशु अधिकार र कल्याणको कुरालाई जोडेर प्रस्तुत गर्ने गरेका छौं।

महासंघको स्ट्रेन्थका बारेमा बताउहोस् न, पशु अधिकारको सफलताको सम्भावना कस्तो देख्नुहुन्छ ?

पशुकल्याण संघ पशु अधिकार र कल्याणका मुद्दालाई नै उठाउनका लागि स्थापना भएको हो। व्यक्तिगतरूपमा त संघका सदस्य संस्थाहरूले विभिन्न गतिविधि सञ्चालन गरिराख्नुभएको छ। हामी एउटै फोरममा बसेर पशु अधिकारका नवीनतम विषयवस्तुलाई जनसमक्ष लैजानका लागि काम गरिरहेका छौं। यस अर्थमा संघ निकै अगाडि पनि बढेको छ। पशु अधिकार एउटा लामो यात्रा भएकोले यसलाई अहिले नै यसो भैहाल्छ भनेर भन्नुभन्दा पनि नेपालमा पशु कल्याणका क्षेत्रमा नतिजामूलक कामहरू हामी गर्नेछौं र परिवर्तन ल्याउने छौं भन्नेमा विस्वस्त छँैं। पशु अधिकार हाम्रो लागि सम्भावना नभएर लक्ष्य हो। त्यसैले लक्ष्य प्राप्तिका लागि हाम्रो अभियान अझ सशक्त बनाउनुपर्नेमा हामी सचेत छौं।
थप केही भन्नु छ कि ?

पशु अधिकारका लागि हामीले अहिले जे गर्ने प्रयत्न गरिरहेका छौं, यो पर्याप्त छैन भन्ने हामीलाई थाहा छ। मूलतः यससम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने कुरामा हाम्रो जोड हुनुपर्छ भन्ने लागेको छ। कतिपय हाम्रा कामहरू सराहनीय हुँदाहुँदै पनि तिनले उचित नतिजा दिन सकिरहेका छैनन्। यस अर्थमा सम्बन्धित निकायको ध्यानाकर्षणका लागि सञ्चार माध्यम तथा सञ्चारकर्मी मित्रहरूको अहम् भूमिका देखेकी छु। नेपालमा पशु कल्याण स्थापना गरी सभ्य, समुन्नत तथा सहानुभूतिमूलक समाज निर्माण भएको हेर्ने धोको छ। नेपाललाई पशु कल्याणमैत्री देशको रूपमा विश्वमा चिनाउने मन छ।

प्रतिक्रिया दिनुहोस्