“लघुवित्तहरू मोटाएका छन्, सोच्नैपर्ने अवस्था छ”



प्रकाशराज शर्मा
पूर्व वरिष्ठ उपाध्यक्ष, नेपाल लघुवित्त बैंकर्स संघ

पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरूको संख्या र वित्तीय पहुँचमा यसले खेलेको भूमिकाबारे बहस हुन थालेको छ। नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थालाई आर्थिक वर्ष २०७६÷०७७ को मौद्रिक नीतिमार्फत केही प्रोत्साहनको सुविधासहित मर्जरमा जानका लागि निर्देशन दिएको छ। यद्यपि, लघुवित्त संस्थाले भने मर्जरमा जानका लागि प्रोत्साहन अपुग भएको भन्दै मर्जरबारे चासो देखाएका छैनन्। लघुवित्त वित्तीय संस्थाको वर्तमान अवस्थाबारे नेपाल समाचारपत्रका लागि परिवर्तन देवकोटाले नेपाल लघुवित्त बैंकर्स संघका पूर्व वरिष्ठ उपाध्यक्ष एवम् लक्ष्मी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशराज शर्मासँग गरेको कुराकानी 

वर्तमान समयमा लघुवित्त वित्तीय संस्थाहरूको अवस्था कस्तो छ ?

अहिले मुलुकमा लघुवित्त संस्थाहरू मोटाएको अवस्था छ। यद्यपि, यो स्वभाविक मोटाएजस्तो पनि र सुन्निएको जस्तो अवस्था पनि रहेको छ। गत आर्थिक वर्षमा सार्वजनिक भएको वित्तीय विवरणमा सबै लघुवित्त राम्रो अवस्थामा रहेको देखिन्छ। तर, यो स्थायित्व हो कि होइन भन्ने कुरा एउटा छ। लघुवित्तमा संख्यात्मक वृद्धि भइसकेपछि केही विकृति, विसंगति, केही समस्या पनि आएका छन्। त्यसैले यसलाई दुई पाटोबाट हेर्न सकिन्छ।

एउटा संस्थाले १८ प्रतिशत ब्याज दियो र अर्कोले २० प्रतिशतमा दिन खोज्यो भने त्यो कर्जा कसैले लिँदैन र त्यसको बिजनेस चौपट हुन्छ, त्यसैले १८ प्रतिशतभन्दा बढी ब्याज कसैले पनि लिएका छैनन्। अझ धितोमा त १६/१७ प्रतिशत मात्र छ। १६ प्रतिशत ब्याज भनेको त सामान्य हो। विकास बैंकहरूले पनि त्यही १६/१७ प्रतिशत ब्याज लिन्छन्।

लघुवित्तले वित्तीय पहुँच वृद्धि गरेको छ। गरिब, विपन्न वर्गको बैंकिङ सेवासम्म सहज पहुँच पुगेको छ। उनीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन भएको छ भने सामाजिक पुँजी निर्माणमा पनि लघुवित्तले महत्वपूर्ण भूमिका खेलेको छ। तर, पछिल्लो समयमा बहुकर्जा, कर्जाको अत्याधिक भार बहन गर्ने र ऋणि अर्थात ग्राहकलाई समस्यामा पार्ने काम भएको अवस्था पनि छ।
भर्खरै नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन सार्वजनिक गरेको छ। त्यो निर्देशनमा कतिपय नयाँ प्रावधान ल्याइएको छ, जसबाट अब संस्थाहरू सजिलै चल्न सक्छन् भन्नेमा मलाई शंका लागेको छ। केही स्थापित संस्था, जसले पहिलेदेखि नै काम गर्दै आएका छन्, ती संस्था राम्रै अवस्थामा पनि छन्। त्यस्ता संस्थालाई त त्यति गाह्रो नपर्ला। तर, भर्खरमात्रै लाइसेन्स पाएका संस्थालाई भने गाह्रो पर्ने देखिन्छ।

लघुवित्त संस्थाको संख्या बढेसँगै सेवा प्रभावकारितामा प्रश्न उठ्ने गरेको छ, यस्तो किन भयो ?

संख्या वृद्धि भइसकेपछि वित्तीय सेवाको सप्लाई (आपूर्ति) बढी भयो। त्यसकारण वित्तीय सेवाको पहुँचमा सहज भयो। तर, त्यसको साथै ओभर सप्लाई हुँदा केही टाठाबाठा मान्छे, केही व्यवसायलाई नै अन्यथा सोच्ने मान्छे र केहीले छिटो कमाउँ भन्ने मान्छेले त्यसलाई प्रयोग गर्न सक्ने देखिन्छ। कतिपय अवस्थामा मिटर ब्याजको कुरा पनि आइरहेको छ। धेरै मानिससँग मिटर ब्याजमा कर्जा चलाउने र नेटवर्किङमार्फत त्यो कर्जा अरू मानिसलाई अझै बढी ब्याजमा लगाउने गरेको सुन्नमा आएको छ। यसले गर्दा आपूर्ति बढ्यो र आवश्यकताभन्दा बढी संख्या बढे। अहिले जुन विकृति देखिएको छ, जसमा संख्याको नै भूमिका छ।

राष्ट्र बैंकको अहिलेको निर्देशनमा लघुवित्तलाई बैंकिङ सेवामा अलि कडाई गरेको हो कि जस्तो लागेको छ। बाफियाले लघुवित्तलाई अपग्रेड गरेर विकास बैंकमा परिवर्तन गर्ने प्रावधान राखेर पेस भएको भन्ने सुनिएको छ। यो अलि विरोधाभास भएको हो कि जस्तो लाग्छ।

लघुवित्तको २६ वर्षको इतिहासमा पहिला कर्जा अनुशासन कायम भएको थियो। अहिले अधिकांश मानिसमा कर्जा सदुपयोग गर्नेतर्फ ध्यान गएको देखिन्छ। तर, केही टाठाबाठा मान्छेले एउटा संस्थामा बदमासी गर्ने र अर्को संस्थामा जाने गर्छन्। त्यसले गर्दा, सबै राम्रो हुँदाहुँदै पनि निष्कृय कर्जाको मात्रा बढी छ। जुन हाम्रो लागि चुनौतीको विषय हो।
लघुवित्त भनेको बिना धितोमा जाने कर्जा हो। यस्तो कर्जामा असुली राम्रो भएन भने यो कतिपय अवस्थामा ‘तासको घर’जस्तै हो। जुनसुकै समयमा ढल्न सक्छ।

लघुवित्त संस्थाहरू सेवामुखीबाट नाफामुखीतर्फ बढी केन्द्रित भएको भन्ने पनि गुनासो आउन थालेका छन्, खास कुरा के हो ?

ग्राहकको सेवा, कम्पनी बाँच्नका लागि नाफा र वातावरणलाई सन्तुलनका लागि लघुवित्तको जन्म भएको हो। यसलाई हामीले थ्रि पी (पिपुल, प्रोफिट र प्लानेट) पनि भन्ने गरेका छौं। पछिल्लो समय यी थ्रि पीलाई सन्तुलन राख्नुपर्ने अवस्थामा प्रोफिटलाई बढी जोड दिने प्रवृत्ति हावी भएको छ। यस्तो प्रवृत्ति डाइभर्स इन्भेस्टरहरू हावी भएका कारण सिर्जना भएको हो। उनीहरूले लगानी गर्ने र नाफामात्रै कमाउनेतर्फ ध्यानमा राख्ने जस्ता गलत कदम चालेको भेटिन्छ। त्यसकारण लघुवित्त नाफामुखी भएको भन्ने कुराका केही सत्यता छ।

लघुवित्तको वर्तमान अवस्थालाई सन्तुलनमा ल्याउन मर्जरबारे बहस हुने गरेको पाइन्छ। लघुवित्तहरू स्वेच्छिक मर्जरतर्फ जान्छ त ?

नेपाल राष्ट्र बैंकको अहिलेको प्रावधान, नीति हेर्दा यसले लघुवित्तको संख्या बढी भएको महशुस गरेको जस्तो देखिन्छ। त्यसैले राष्ट्र बैंक बाध्यात्मक मर्जरतर्फ गएको हो कि जस्तो देखिन्छ। किनभने संस्था चलाउन नसकेपछि मर्जर आवश्यक छ, मर्जर हुनैपर्छ। लघुवित्त कर्मचारीले प्रोत्साहन मर्जर चाहेका थियौं। त्यसका लागि राष्ट्र बैंकले पुँजीलगायतका विभिन्न तŒव तोकेर अघि बढोस् भन्ने हाम्रो चाहना थियो। तर, त्यस्तो देखिएन। त्यसैले कतिपय अवस्थामा बाध्य भएर मर्जरमा जाने कुरा हुन सक्छ।

यसअघि लघुवित्तले केही शर्त पूरा गरेर पब्लिक डिपोजिट पनि लिन सक्ने भन्ने प्रावधान थियो। राष्ट्र बैंकले केही दिनअघि जारी गरेको निर्देशनअनुसार त्यो प्रावधान हटेको छ। केही संस्थाले लामो समयका लागि बचत गर्ने काम गरिरहेका थिए। त्यो बचत पनि अब लिन नपाउने प्रावधान आएको छ। यसबाट लघुवित्तको स्रोत हट्ने भएको छ। यसकारण अब फेरि लघुवित्त संस्था अझ बढी डिपेन्डेन्सी फन्डिङको लागि हुन्छ।

राष्ट्र बैंकको अहिलेको निर्देशनमा लघुवित्तलाई बैंकिङ सेवामा अलि कडाई गरेको हो कि जस्तो लागेको छ। बाफियाले लघुवित्तलाई अपग्रेड गरेर विकास बैंकमा परिवर्तन गर्ने प्रावधान राखेर पेस भएको भन्ने सुनिएको छ। यो अलि विरोधाभास भएको हो कि जस्तो लाग्छ।

मर्जरका लागि राष्ट्र बैंकले दिएको प्रोत्साहन अपुग भएको हो र ?

राष्ट्र बैंकले लघुवित्तको मर्जरका लागि कुनै प्रोत्साहन दिएको छैन। मर्जर भयो भने प्रमुख कार्यकारी अधिकृतको सेवा अवधिमा ट्रम नलाग्ने भन्ने छ। मर्जर गर्ने भनेको प्रमुख कार्यकारी अधिकृतको लागि होइन। संस्थापक लगानीकर्ताहरूको इन्ट्रेस्टमा मर्जर हुने हो।

यदी रेगुलेटरी डारेक्टिभ्सहरू पालना गर्न सकिएन भने बाध्य भएर कसैसँग मिसिनुपर्छ, त्यसकारण मर्जर पनि हुनसक्छ। तर, जो सक्षम छन्, जसले राम्रो गरिरहेका छन् उसलाई मर्जरमा जान आवश्यक हुँदैन। अहिले यस्ता प्रावधान छन् कि उदाहरणका लागि सम्पूर्ण पुँजीको २ प्रतिशत एडिसनल राखेर सम्पत्तिको गणना हुन्छ। यसर्थ, जसको पुँजी अहिले नै टाइट छ, त्यसलाई त अझ थप्नु पर्दा झन् टाइट हुन्छ। यस्तो अवस्थामा यदि यो वर्ष पुँजी कोष पुगेन र अर्को वर्ष पुँजी पुग्यो भने पनि यो वर्षको लाभांश बाड्न नपाउने प्रावधान छ। त्यसैले तिनीहरूले संस्था चलाउनको लागि बाध्य भएर मर्जरमा जानुपर्छ। जुन संस्था कन्फर्ट जोनमा छन्, उनीहरूले आफ्नो किसिमबाट चलाउन सक्छन्।

बेलाबखत लघुवित्तले मनपरी ब्याज लिने गरेको गुनासो पनि आउँछन्, यस्तो कसरी भयो ?

मेरो विचारमा लघुवित्तमा १८ प्रतिशतभन्दा बढी ब्याज कसैले पनि लिएका छैनन्। किनभने बजारमा संस्थाको संख्या पनि धेरै छन्, बलियो प्रतिस्पर्धा छ। एउटा संस्थाले १८ प्रतिशत ब्याज दियो र अर्कोले २० प्रतिशतमा दिन खोज्यो भने त्यो कर्जा कसैले लिँदैन र त्यसको बिजनेस चौपट हुन्छ, त्यसैले १८ प्रतिशतभन्दा बढी ब्याज कसैले पनि लिएका छैनन्। अझ धितोमा त १६÷१७ प्रतिशत मात्र छ। १६ प्रतिशत ब्याज भनेको त सामान्य हो। विकास बैंकहरूले पनि त्यही १६/१७ प्रतिशत ब्याज लिन्छन्। ब्याजमा मनपरि लिन्छ भन्नु त भन्नका लागि मात्र भनिएको हो, यसमा कुनै सत्यता छैन। नेपालको लघुवित्तको ब्याज विश्वमै सस्तो हो। साथै नेपालको लागि पनि एकदमै सस्तो छ।

अहिले लघुवित्तको संख्यामा तीव्र वृद्धि भइरहेको छ, यसको न्यूनीकरणको लागि मर्जरसँगै अरू के गर्न सकिन्छ ?

एउटा त मर्जर नै हो। अर्को नियमक निकाय नेपाल राष्ट्र बैंकले गरिरहेको मनिटरिङ संख्यात्मक हिसाबले अलि पर्याप्त छैन कि जस्तो लाग्छ। त्यसैले राष्ट्र बैंकको मनिटरिङ सुपरभिजनलाई अलि बढाउनुपर्छ। त्यस्तै लघुवित्तले सेल्फ रेगुलेसनलाई लागू गर्नुपर्छ।

लघुवित्तको पहिलो मिसन भनेको सोसल मिसन हो। त्यसपछि मात्र नाफातर्फ लाग्नुपर्छ। तेस्रो लघुवित्तले लाइफ रुटलाई सपोर्ट गरेको हो। अब प्रोजेक्ट फाइनान्सिङ, अर्थात जसले लगानी गर्छ त्यसलाई कमर्सेलाइसन गर्ने काम गर्नुपर्छ।

हामीले एउटा भैंसीमा लगानी गरेका थियौं भने अब ५ वटा भैंसीमा लगानी गर्ने, ५ वटा बाख्रा पाल्न लगानी गरेका थियौं भने १०/१५ वटा बाख्रा पाल्न लगानी गर्ने, पहिले १० वटा कुखुरालाई लगानी गथ्यौं भने अहिले १०० वटामा लगानी गर्ने जस्ता काम गर्नुपर्छ। त्यसरी कमर्शलाइजेसन गर्दा उत्पादन पनि बढ्छ। र, देशको कुल गार्हस्थ उत्पादनमा पनि यसको असर देखियोस्। लघुवित्तहरूको संख्या बढाउने भन्दा पनि पुँजी वृद्धितर्फ सोच्नुपर्ने आवश्यक छ। यसका लागि मर्जर नै उपयुक्त छ। मर्जरका लागि इन्सेन्टिभ हुनुपर्र्यो।

लघुवित्तमा देखिएका चुनौतीहरू सामाधान के गर्नुपर्ला ?

यदि हामी बढी कमर्शलाइजेसन भयो भने त्यसले ग्राहकमा नकरात्मक प्रभाव पर्न जान्छ। अर्को कुरा, संख्या वृद्धि भयो। तर, संस्था राम्रोसँग चल्न नसकेर दुर्घटना भयो या संस्थाले आफ्नो सम्पत्ति र दायित्व उठाउन सकेन भने पनि समस्या हुन्छ। एउटा संस्थालाई समस्या हुनु भनेको समग्र लघुवित्तमा समस्या आउनु हो। त्यसकारण यस्ता कुराबाट बेलैमा चनाखो हुनुपर्छ। अहिले देशको अर्थ बजार, पुँजी बजारमा लघुवित्तको अपरिहार्य भूमिका रहेको हुन्छ। यसर्थ यसको स्वरुप पनि विस्तारै बढ्दै गइरहेको छ। यसर्थ लघुवित्तलाई असर पर्दा देशको अर्थतन्त्रमा नकरात्मक असर पर्न जान्छ। त्यसैले सबैले चलाखीपूर्ण ढंगबाट अगाडि बढ्नुपर्छ।

लघुवित्तले गर्दा देशमा वित्तीय साक्षरता दर वृद्धि भएको छ। वित्तीय क्षेत्रमा सक्षम जनशक्तिको उत्पादन भइरहेको छ। घरदैलोमा बैंकिङ सेवा पुगेकाले महिलामा पनि वित्तीय साक्षरता बढेको छ। गरिबी पनि धेरथौर लगानीमा प्रोत्साहित भएका छन्। क्रेडिट कल्चरको डिसिपिलेन पनि भएको छ। यसरी हेर्दा लघुवित्तले धेरै नै सकरात्मक प्रभाव परेको छ। तर, त्यतिमा मात्र सीमित भएर पुग्दैन। देशको अर्थतन्त्रमा लघुवित्तको महत्वपूर्ण भूमिका खेल्दछ ।

लघुवित्तहरू गाउँ केन्द्रित नभएर शहर केन्द्रित भएको भन्ने गुनासो पनि आइरहेका छन्, गाउँमा पुग्न नसक्नुभएको हो ?

त्यस्तो त छैन। अहिले ७७ वटै जिल्लामा लघुवित्त र यसका शाखा पुगेका छन्। लघुवित्त पनि एक किसिमको बैंक नै हो। यसर्थ, जसले पैसाको कारोबार गर्दछ। पैसाको कारोबार गर्नको लागि आर्थिक क्रियाकलाप भएको क्षेत्र चाहिन्छ। शहरमै पनि कतिपय स्थानमा वित्तीय पहुँच नपुगेको ठाउँ छन्। शहरमा बसेका सबैसँग ठूला–ठूला बैंकहरूको पहँुच हुँदैन। त्यसैले वित्तीय पहुँच नपुगेको क्षेत्रमा वित्तीय पहुँच पुर्याउनको लागि लघुवित्तको ठुलो योगदान हुन्छ। शहरमा त लघुवित्तहरू छन् नै, त्यसैगरी गाउँहरूमा पनि लघुवित्त पुगेका छन्।

तपाईं प्रमुख कार्यकारी अधिकृत रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्थाको अवस्था चाहिँ कस्तो छ ?

यो लघुवित्त लक्ष्मी बैंकको सहायक कम्पनी हो। त्यसैले हामीले हाम्रो स्तरियता कायम राखेका छौं। हामी यसमा कति सफल भयौं भन्ने कुरा बाहिरबाट हेर्ने अथवा हामीलाई नियाल्नेलाई जानकारी पक्कै पनि छ। हामीले नयाँ अवधारणबाट लघुवित्त सञ्चालन गर्नुपर्छ भन्ने कुरालाई मध्येनजर गर्दै अगाडि बढिरहेका छौं। लघुवित्तको मर्मलाई नतोड्ने गरी कमर्सियल बैंकको स्तरको सेवा लघुवित्तबाट जानुपर्छ भन्ने सोचाईमा हामी लाग्यौं। त्यही अनुरुप लघुवित्तलाई डिजिटलाइजेसन गर्ने हाम्रो प्रयास शुरूदेखि नै रह्यो।

अब अहिले सबै शाखामा डिजिटल डेभलप बैंकिङको शुरूवात गर्ने काम भइरहेको छ। नयाँ सफ्टवेयर रिप्लेस गर्ने काम भइरहेको छ। निकट भविष्यमा त्यतातिर पनि लाग्छौं होला। जहाँसम्म यसको वित्तीय अवस्था छ, राम्रो एवम सन्तोषजनक छ। उचित लाभांश प्राप्त भइरहेको छ। बोनससहित गरेर हाम्रो चुक्ता पुँजी पनि २७ करोडको हाराहारीमा छ। त्यसमा पनि २०÷२१ करोडको त रिजर्भ नै सिर्जना भएको छ। विगत २/३ वर्षदेखि लगातार २५/२६ प्रतिशतको दरले शेयर होल्डरलाई लाभांश दिन सकेका छौं।

हामीसँग लगभग ८२ हजार ग्राहक छन्। ५२ जिल्लामा ६७ शाखाहरू सञ्चालनमा छन्। यो असोज मसान्तसम्म ३ अर्ब ८४ करोड जति कर्जा विस्तार भएको छ। हाम्रो गर्वको कुरा के छ भने हामीले त्यहीअनुसार बचत पनि मोबिलाइजेसन गरिरहेका छौं। १ अर्ब ४० करोड जति विपन्न वर्गको बचत राखेका छौं। निष्कृय कर्जाको दरमा हामी संख्यात्मक रूपमा अरूभन्दा राम्रो स्थानमा छौं। जुन हाम्रो १ दशमलव ५ प्रतिशत जति निष्कृय कर्जा रहेको छ। हामीले पेसागत रुपमा संस्था चलाएका छौं जस्तो लाग्छ हामीलाई। लक्ष्मी बैकसँग सम्बन्धित भएको हुनाले लक्ष्मी बैंकद्वारा उपलब्ध सेवासुविधाहरू हामीमार्फत पनि उपलब्ध गराएका छौं र गराउने प्रबन्ध पनि गरेका छौं।

मर्जर तथा एक्विजिसनको लागि तयारी के कस्तो छ ?

हामीसँग मिसिन कोही आउँछ भने हामी तयार छौं। संस्था मर्ज गर्ने कुरामा अलि समस्या नै हँुदो रहेछ। तर, पनि हामी तयार छौं।

प्रतिक्रिया दिनुहोस्