हामी सबै खत्तम छौं



प्रायः सबै समाजमा अत्यधिक असमानता र गरिबी स्वीकार्य नभए पनि आय र सम्पत्तिमा हुने विभेद भने सह्य र अझ अपरिहार्य ठानिन्छ। तर कुन तहसम्मको असमानतालाई उचित ठान्ने भन्ने कुरा भने देशअनुसार फरक हुन्छ। वास्तविक मुद्दा त्यसैले पनि समाजले निष्पक्षतालाई कसरी लिन्छ भन्ने कुरामा भर पर्छ। परिमाण निर्धारण गर्न गाह्रो सूचक हो यो। प्रतिभा, पारदर्शिता तथा अतिसय माथिको अंकुश यसका मुख्य आयाम हुन सक्छन्।

सकारात्मक वा नकारात्मक जे भए पनि आर्थिक प्रवृत्तिबारे समाजको बुझाइ केही हदसम्म आर्थिक नीतिमाथि उसको प्रतिक्रियाले दर्शाउँछ। नीतिनिर्माताले कुनै विशेष क्षेत्र वा खण्डमा हुन पुगेको नोक्सानीलाई सम्बोधन गरेनन् भने त्यसले असन्तुष्टि र सामाजिक विभेद निम्त्याउँछ। त्यो आर्थिक कारबाहीप्रति नकारात्मक सोच हुन पुग्छ। यस विपरीत यदि नीतिनिर्माताहरूले आफ्ना जनतालाई यथेष्ट सुरक्षाको प्रत्याभूति दिन सके भने सोचमा सकारात्मकता आउने सम्भावना प्रबल हुन्छ। नेपाली समाजमा अहिले नकारात्मकता हाबी छ। जुनसुकै विषय, क्षेत्र होस्, त्यहाँ नकारात्मक सोच र प्रवृत्ति भएकाहरूको बिगबिगी छ। सामाजिक सञ्जाल तिनै समूहको कुण्ठाहरूले प्रदूषित छ। समाजका हरक्षेत्रमा यस्तो परिदृश्य देख्दा लाग्छ, अब केही समय यिनैहरूको शासन र साम्राज्य चल्नेछ।

किनकि सकारात्मक सोच्ने, सत्य र इमानको बाटो हिँड्नेहरू अल्पमतमा पर्ने अवस्था विद्यमान देखिन्छ। नकारात्मक सोच्ने, भ्रष्टाचार, अनियमितता, कमिसनलगायतका यावत् खराब प्रवृत्ति बदल्छु भन्नेहरू पनि तनावग्रस्त छन्। चौतर्फी दबाब र धम्कीले यस्तो अवस्थामा पुर्याउँछन् कि खराब प्रवृत्ति र सोच बदल्न सम्भव नै छैन। र, समाजका अनेक विकृति, विसंगति पक्ष बदल्ने उद्घोष गरेकाहरू अन्ततः आफैं बदलिन्छन्। जमाना यस्तो आएको छ कि यो समय संर्घष गरेर सफलता गर्नेहरूको वशमा छैन। भाइरल बन्ने बनाउनेहरूको पक्षमा छ।

असली चिजको महत्व गौण बन्ने या महत्वहीन जस्तो छ। सस्तो लोकप्रियताका लागि गरिने अनेक हर्कतहरूले बजार लिन्छन्। तर आफू छेउमै भएका राम्रा कुराहरूलाई लत्याएर हामी भ्रष्टाचारको बाटो रोजेका छौँ। वास्तवममा हामी सबै खत्तम छौँ। देश–विदेशमा यस्ता व्यक्ति र समूह देखिन्छन्। जो आफूले केही नगर्ने र गर्न नपर्ने तर अरूका प्रयासलाई नकारात्मक टीकाटिप्पणी मात्र गर्छन्। सरकारलाई त सधैँ गाली गरेर सरापी मात्र रहन्छन्। कतै कुनै व्यक्ति र समूहले सम्भावनाको सत्प्रयास गरे प्रारम्भमै त्यसको भविष्यको अनुमान गर्छन्। अनि जाति, पार्टी, क्षेत्र के–के कुन विषयले फाटो ल्याइदिन्छन्। र, त्यो असफलतातर्फ उन्मुख हुन्छ। तर, यस्तो नकारात्मक सोचका बाबजुद पनि कैयन व्यक्ति र समूहले राज्यको मुख नताकी स्वतस्फूर्त राम्रो उदाहरण पेस गरेका छन्। कैयौं पुरस्कार विजेता, स्वामी, कर्मचारी, डाक्टर, इन्जिनियरहरू आदि। एउटा व्यक्तिको सोच, सिर्जना र नेतृत्वबाट कति धेरै कुराको फरक पर्न जान्छ।

सानो–ठूलो रूपमा यस्ता स्वतस्फूर्तरूपमा गरिएका कैयन उदाहरणीय प्रयासहरू छन्, जसले समाजमा सकारात्मक प्रयासको उजागर गरेका छन्। यस्ता प्रयासहरू आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि छन्। सामूहिक स्वार्थ र भावनाले उत्प्रेरित भएका कामहरू कति प्रेरणादायक छन्। सधैँ गुनासोको गीत मात्र कति गाइरहने ? कसैले गर्ने आलोचनाको भाषणमा मात्र कति नाचिरहने, रमाइरहने? गुनासो मात्र कहन छोडेर थोरै रचनात्मक, सिर्जनशील हुन सके व्यक्तिको स्वास्थ्य र समाजका लागि पनि कति हितकर साबित हुन्छ होला ? तर किन–किन पछिल्लो समयमा यस्तो सत्प्रयासको सम्भावनालाई अवसरमा अनुवाद गर्न प्रयासरत हुनेहरूको संख्या कमी हुँदै छ। यस्तो सोचका साथ क्रियाशील भएकाहरू पनि स्खलित भए जस्ता देखिन्छन्।

उनीहरूका अनुहारले, व्यवहारले त्यो अभिव्यक्त गरिरहेको आभास हुन्छ। अब सकिन्छ, सानो–ठूलो कुनै काम गर्न हामी पनि सरकारलाई भाकेर नबसौं। आफ्नो तर्फबाट जे–जति सकिन्छ, सम्भव छ। त्यति गर्न प्रयासरत रहौं। सकिन्न भने पनि गरिरहेकाहरूलाई संरक्षण र प्रोत्साहित गर्न प्रतिबद्ध बनौं। यसमा समुदाय र राष्ट्रको भलो हुनेछ।
– सन्तोष बराल,
बिरौटा, पोखरा।

उत्पादनमा जोड दिऔं
उपत्यकासँग जोडिएका केही जिल्लाहरू कृषिमा आत्मनिर्भर बन्न थालेका छन्। मासुजन्य उत्पादन, तरकारी र खाद्यान्न उत्पादनमा मुलुकका विभिन्न जिल्लाहरूमध्ये काभ्रेपलाञ्चोक अग्रस्थानमा पर्दै आएको छ। राजधानीका लागि आवश्यक पर्ने २५ प्रतिशत तरकारी काभ्रेपलाञ्चोक जिल्लाले धान्दै आएको छ। तरकारी उत्पादनसँगै गुणस्तर मापन र गुणस्तर कायमका लागि कृषकहरूलाई सचेतीकरण, स्थानीय सरकारको तयारी शुरू भएको छ। खाद्यान्न उत्पादनसँगै त्यसको गुणस्तर कायमका लागि भएका प्रयास सार्थक बन्नुपर्छ।

जिल्लामा खाद्यान्न उत्पादन वृद्धि गर्न कृषि ज्ञान केन्द्रमार्फत प्रदेश र संघ सरकार, स्थानीय सरकारले प्रयास शुरू गरेका छन्। वैदेशिक रोजगारमा जाने युवाहरूको संख्या घटाउँदै उत्पादनमा जोड दिन भएका प्रयास सार्थक भने हुन सकेका छैनन्। उत्पादन भएको खाद्यान्नले उचित मूल्य र बजार प्राप्त गर्न सकेको छैन। मासु र दूध उत्पादनमा आत्मनिर्भर जिल्लामा रैथाने बालीको संरक्षण र उत्पादनलाई प्राथमिकतामा राखिएको छ। रैथाने बाली उत्पादन र खाद्यान्नको व्यवस्थापनमा काभ्रेपलाञ्चोक जिल्ला आत्मनिर्भर भएको छ। जिल्लामा रहेको जनसंख्या र उत्पादन परिणामका आधारमा आत्मनिर्भर भई निर्यात गरिरहेको तथ्यांकले देखाएको छ।

जिल्लामा खानयोग्य खाद्यान्न ७९ हजार ४ सय २७ मेट्रिक टन रहेको छ। जिल्लाको लागि आवश्यक रहेको खाद्यान्न ७६ हजार ३ सय ८६ मेट्रिक टन रहेको छ। आवश्यकताभन्दा ३ हजार ४१ मेट्रिक टन धेरै खाद्यान्न उत्पादन भएको छ। सन्तुलनमा रहेको ३ हजार ४१ मेट्रिक टन खाद्यान्नका आधारमा पनि जिल्लाको कुल जनसंख्या ३ लाख ८० हजारभन्दा धेरै जनसंख्यालाई पुगेको देखिन्छ। राजधानीसँग नजिक रहेको जिल्ला काभ्रेपलाञ्चोकले राजधानीवासीका लागि खाद्यान्न, तरकारी, फलफूल, दुग्ध, मासु, अण्डालगायतका उपभोग्य सामानहरू निर्यात गर्दै आएको छ।

जिल्लामा सबैभन्दा धेरै उत्पादन हुने मकै हो। मकैलाई बीउका रूपमा समेत उत्पादन गरी बिक्री गरिँदै आएको छ। ४० हजार ८ सय ८ मेट्रिक टन उत्पादन हुँदा धान १८ हजार ६ सय ८३ मेट्रिक टन उत्पादन भएको छ। मकै, धानपछि गहुँ उत्पादन धेरै भएको छ। जौ उत्पादन न्यून छ। ‘सुखी नेपाली समृद्ध नेपाल’ अभियान सञ्चालन हुँदा नेपालीहरूको अनुहारमा खुशी छाउन थालेको छ। भोकमरीको समस्या बिस्तारै हट्दै गएको छ। जिल्लाको तथ्यांकमा एकछाक खानै नपुग्ने परिवारको संख्या न्यून हुँदै छ। सरकारले मुलुकबाटै गरिबी उन्मूलन गर्न गरिब पहिचान अभियान शुरू गरेको छ। जुन कार्यक्रम काभ्रेपलाञ्चोक जिल्लामा पनि लागू भएको छ। उक्त कार्यक्रमपश्चात् पहिचान भएका गरिबहरूलाई केन्द्रित गरेर सरकारले लागू गर्ने कार्यक्रममार्फत गरिबी निवारण गरिनुपर्छ। त्यसका लागि उत्पादनमुखी कार्यक्रम ल्याई कार्यान्वयन गरिनुपर्छ।
– सुरेश तिमल्सिना, काभ्रे।

 

प्रतिक्रिया दिनुहोस्