हिमाली क्षेत्रमा राज्यविहीनता



विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर र माथिल्लो खुम्बु क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकको रोजाइको गन्तव्य हो। विश्वकै उत्कृष्ट गन्तव्य पुग्ने जो–कोही पर्यटकले तस्वीर र भिडियो खिच्नु स्वाभाविक हो।

तर, माथिल्लो खुम्बु पुग्ने पर्यटकले सरकारी स्वीकृतिबिना ‘ड्रोन’ प्रयोग गर्ने गरेको पाइएको छ। गतसाता विदेशी पर्यटकले विभिन्न क्षमताका ड्रोन उडाउँदा सरकारी अधिकारी यसबारे बेखबर रहेको नेपाल समाचारपत्रले नै समाचार प्रकाशित गरिसकेको छ। ड्रोन मानवरहित उडानयन्त्र हो, भिडियो र तस्वीर खिच्न तथा हल्का प्रकृतिका सामान ओसार–पसारमा यसको प्रयोग गरिन्छ।

चोला नदीको किनारस्थित ४ हजार ४ सय मिटरको उचाइमा रहेको फेरिचे गाउँमा तीनवटा ड्रोन उडाएको तस्वीर देखाउँदै प्रतिक्रिया माग्दा जाँच चौकीका अधिकारी अनभिज्ञ रहेको देखिनु दुर्भाग्यपूर्ण हो। लुक्ला र मोन्जोमा रहेका जाँच केन्द्रमा ‘ड्रोन उडान निषेध’ भनेर सूचना टाँसिए पनि कर्मचारीले भने सजगताका साथ छानबिन गरेको पाइएन।

‘खै, पर्यटकको झोला नै खोलेर हेर्न जनशक्ति छैन, सरकारले मेटल डिटेक्टर दिएको पनि होइन, पर्यटकलाई सोध्यो भने प्रतिबन्धित सामग्री छैन भन्छन्।’ –चौकीका अधिकारी यस्तै जवाफ दिन्छन्। जब कि यसरी जवाफ दिने कर्मचारीका गतिविधि निरीक्षण गर्ने हो भने उनीहरूको कार्यशैली झारा टार्ने र आलश्यपूर्ण देखिन्छ। नेपालमा ड्रोनको आफूखुसी प्रयोग गर्न पाइँदैन भन्ने जानकारी दिन पर्यटकलाई झुन्ड–झुन्ड बनाई प्रवचन दिनु सराहनीय कदम हुन सक्थ्यो। किनभने विश्वका समृद्ध मुलुकमा पर्यटकलाई कुनै नयाँ र विशेष स्थानमा भ्रमण गर्न जानुअघि विधि र तरिकाका बारेमा, त्यससँग सम्बन्धित कानुन प्रक्रियाका सम्बन्धमा ‘ब्रिफिङ’ गरिन्छ।

नेपालमा अध्ययन अनुसन्धानका लागि भने पर्यटन विभाग, गृह मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणबाट अध्ययनको व्यहोरा खुलाएर अनुमति लिई ड्रोन प्रयोग गर्न सकिन्छ। गतसाता खुम्बुको फेरिचेमा आमादब्लम हिमालको समानान्तर हुने गरी उडाइएको ड्रोनका सम्बन्धमा प्रहरी प्रशासनलाई कुनै जानकारी भएको पाइएन।

खुम्बु दैनिक बाक्लै संख्यामा हेलिकोप्टर उडान भइरहने क्षेत्र हो, सरकारी इजाजतबिना जथाभावी ड्रोन उडाउँदा ठोकिएर हवाई दुर्घटना हुने सम्भावना रहन्छ। जथाभावी यस्ता उपकरण उडान स्थानीय बासिन्दा र सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको गोपनीयताको अधिकार हनन हुन्छ। स्थानीय बासिन्दाको झ्याल र छतबाट भित्री तस्वीर पनि खिच्न सकिने भएकाले नागरिकको गोपनीयताको अधिकार पनि प्रभावित हुन पुग्छ। तसर्थ, सगरमाथा आधार शिविरसहितका अन्य पर्यटकीयस्थलमा आउने हाम्रा पाहुनालाई तोकिएको नियम कानुनले सरकारी निकायका तर्फबाट प्रभावकारी नियमन पनि गर्नुपर्छ।

पर्यटक हाम्रा पाहुना हुन् यसमा दुईमत छैन। तर, पाहुनाले पनि हाम्रो नीति नियमबारे जानकारी लिनुपर्छ, ट्राभल एजेन्सीले यसमा सहजीकरण गर्नुपर्छ। तालिमका क्रममा ट्राभल एजेन्सीले आफ्ना गाइडलाई कानुनी पक्षबारेमा पनि ब्रिफिङ गर्छन् नै तर पर्यटकलाई खुसी बनाउने नाममा कानुनी पक्ष भुल्ने काम पनि भइरहेको छ। ड्रोनको अवैध प्रयोगलाई नियन्त्रण गर्न ट्राभल एजेन्सी, सरकारी कर्मचारी र सुरक्षा निकाय सबैको हातेमालो जरुरी छ। नेपालको पहिचान मानिएको हिमाली क्षेत्रमै राज्यविहीनता दुर्भाग्यपूर्ण छ।

प्रतिक्रिया दिनुहोस्