मधेसमा कलाकारको उत्सव



कृष्णउदास खनाल , वीरगन्ज ।

पर्साको सदरमुकाम वीरगन्ज आर्थिक नगरीका रूपमा स्थापित छ। वीरगन्ज क्षेत्रमा साना–ठूला गरी २ हजारको हारहारीमा उद्योग सञ्चालनमा छन्। बेला–बेलामा राजनीतिको चर्को चपेटामा पर्ने गरेको वीरगन्जमा गत बिहीबारबाट मधेसमै पहिलोपटक नेपाली चलचित्र स्वर्णिम महोत्सवको आयोजना गरियो।

नेपाली फिल्मको बजारलाई तराई–मधेससम्म पनि व्यापकरूपमा विस्तार गर्न आवश्यक ठानेर मुलुकको अन्य स्थान छाडी वीरगन्जमा फिल्म महोत्सवको आयोजना गरिएको आयोजक नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको भनाइ छ। महोत्सवका कारण वीरगन्ज कलाकारमय बन्न पुग्यो। यसले वीरगन्ज क्षेत्रको पर्यटन प्रवद्र्धनसहित यस क्षेत्रको पहिचान स्थापित गर्न सफल भएको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष एवं चलचित्र निर्माता हरि पन्तले बताए।

वीर शमशेरले स्थापना गरेको वीरगन्ज शहरका केही स्थानमा पनि नेपाली फिल्म छायांकन भएका छन्। वीरगन्जमा सञ्चालित ३ दिने फिल्म महोत्सवले वीरगन्जसहित समग्र मधेसकै पहिचान स्थापित गर्न सफल भएको वीरगन्जका फिल्मकर्मी नन्दु श्रीवास्तवले बताए। वीरगन्जले नेपाली फिल्म क्षेत्रमा थुप्रै कलाकार उत्पादन पनि गरेको छ। श्रीवास्तवसहित जल शाहलगायतका आधा दर्जन कलाकार वीरगन्जबाट नै जन्मिएर राष्ट्रिय ख्याति कमाएका छन्।

महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गरेकाले पनि झन् चर्चामा रहेको छ। महोत्सव शुभारम्भ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली फिल्मका प्रथम छायाँकार वैकुण्ठ मास्के र प्रथम सम्पादक तीर्थलाल श्रेष्ठलाई सम्मानसमेत गरिन्। नेपाल उद्योग वाणिज्य महासंघ र वीरगन्ज उद्योग वाणिज्य संघ सहआयोजक रहेको महोत्सवमा बलिउडका चर्चित अभिनेता गोविन्दालगायत नेपाली चलचित्रका चर्चित पुराना तथा नयाँ कलाकारको सहभागी रहेको थियो।

उनीहरूले आफ्नो प्रस्तुतिसमेत दिएका थिए। भारतीय कलाकार गोविन्दाले नृत्यमा नेपाली कलाकारसमेत झुमेका थिए।

नेपाली फिल्मका नायक–नायिकाले पनि सांस्कृतिक प्रस्तुति दिएका थिए। शुक्रबार र शनिबार महोत्सवमा नेपालका विभिन्न भाषाभाषीका फिल्मको प्रदर्शनी, नेपाली फिल्मसम्बन्धी सेमिनार र कार्यशाला आयोजना गरिएको थियो।

स्थानीय उत्साहित

वीरगन्जमा ३ दिनसम्म फिल्म महोत्सवको आयोजना गरिँदा सहआयोजक रहेका वीरगन्ज उद्योग वाणिज्य संघ र वीरगन्ज महानगरपालिकासहित स्थानीय राजनीतिक दल, नागरिक समाज तथा सञ्चारकर्मी सबै उत्साहित देखिएका छन्।

वीरगन्जको गौरवका रूपमा रहेको फिल्म महोत्सवले यस क्षेत्रको समग्र विकासका लागि ठूलो टेवा पुगेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए। यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि फिल्म महोत्सव वरदान सावित भएको उनको तर्क छ।

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले पनि वीरगन्जमा फिल्म महोत्सव गर्न पाउनु खुसीको कुरा भएको बताए। देश तथा विदेशका नाम चलेका कलाकारलाई वीरगन्ज भित्याउन पाउँदा गर्वको अनुभूति भएको उनको भनाइ छ। पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जराले मधेसमा भएको यो महोत्सवले मधेसकै पहिचान स्थापित गराउन सफल भएको बताए।

कलाकार दंग
वीरगन्जमा आएका देश–विदेशका कलाकाहरू दंग परेका छन्। वीरगन्जका पर्यटकीयस्थलहरू देखेर उनीहरू दंग भएका हुन्। वीरगन्जमा नजिक रहेको बाराको गढीमाई मन्दिरमा पुगेर पूजा–अर्चना गरेको फोटो सामाजिक सञ्जालमा राख्दै अभिनेतृ एवं फिल्म निर्देशक दीपाश्री निरौलाले मधेसमा धेरै कुरा रहेको, जुन फिल्ममा पनि उतार्न सकिने बताइन्।

त्यस्तै दीपकराज गिरीले मधेसका कुरीतिका रूपमा रहेको बालविवाह, दाइजोप्रथा जस्ता सामाजिक विषयहरू अब अझै बढी फिल्ममा समावेश गरेर सामाजिक कुरीतिविरुद्ध अभियान सञ्चालन गर्न आवश्यक रहेको बताए। बलिउड नायक गोविन्दाले वीरगन्जमा आउने आफ्नो चाहना धेरै पहिलेदेखि रहेको र बल्ल पूरा भएको भन्दै खुसी शेयर गरे।

प्रतिक्रिया दिनुहोस्