सुन्दर शहर निर्माण महानगरको पहिलो प्राथमिकता



धनपति सापकोटा, प्रमुख 

काठमाडौं महानगरपालिका, नगर प्रहरी महाशाखा

देशको पहिलो महानगरपालिकाका रूपमा रहेको काठमाडौं महानगरपालिका देशको संघीय राजधानी हो। विश्वकै सुन्दर शहरका रूपमा कहलिएको कामपालाई सुन्दर र व्यवस्थित शहर बनाउन चुनौतीका भारी छन्। जथाभावी पार्किङ, अस्तव्यस्त बजार व्यवस्थापन, फोहोर व्यवस्थापनमा देखिएको समस्या, धूँवा र धूलोको सास्तीले महानगरको सौन्दर्य हराउँदै जान थालेको छ।
तैपनि दुई महिनापछि अर्थात् सन् २०२० देखि शुरू हुने नेपाल भ्रमण वर्षमा महानगरलाई सुन्दर बनाउने योजना कामपाको रहेको छ। भ्रमर्ण वर्ष, महानगरपालिकाको पछिल्लो अवस्था र भावी योजना तथा नगर प्रहरीले गर्नुपर्ने कामलगायतका विषयमा नेपाल समाचारपत्रका लागि ईश्वरराज ढकालले गरेको कुराकानीको सारसंक्षेप ः  

राजधानीलाई व्यवस्थित गर्न काठमाडौं महानगरपालिका प्रहरीले कस्तो योजना बनाएको छ ?

शहरलाई सुव्यवस्थित राख्नु नगर प्रहरीको मुख्य दायित्व हो। काठमाडौंका मुख्य सडकदेखि स–साना गल्लीसम्म अतिक्रमणमुक्त गर्नु, फोहरमैला नियन्त्रण र कारबाही गर्नु, प्रदूषणमुक्त राख्नु, छाडा पशु नियन्त्रण गर्नु समग्रमा काठमाडौंको मौलिकताअनुसारका सुव्यवस्था कायम राख्नु नगर प्रहरीको मुख्य योजनामा परेको छ। सोही योजनाअनुसार कामपा प्रहरीले काम गरिरहेको छ। नयाँ योजना तयार गरिरहेका छौं।

नगर प्रहरीको दरबन्दी कति छ ? अहिलेको जनशक्तिले सोचेअनुसार काम गर्न सकेको छ ? 

हरेक दुई वर्षमा दरबन्दी पुनरावलोकन हुनुपर्नेमा त्यस्तो हुन नसकी लामो समयदेखि दरबन्दी स्थिर रहेको भए तापनि २ सय २५ जनाको दरबन्दी भए पनि हाल १ सय ८५ मात्रै कार्यरत छन्। त्यसमा पनि जवानभन्दा अधिकृतको संख्या अधिक छ। जसले गर्दा परिचालनमा कठिनाइ उत्पन्न भएको छ। अब नयाँ दरबन्दी लिने विषयमा छलफल गरीरहेका छौं। अहिलेकै दरबन्दीअनुसार पूर्णरूपमा काम गर्न सकेका छैनौं।

दरबन्दी अपुग भएको सुनिन्छ, थप दरबन्दी माग गर्नुभएको भए पनि कार्यान्वयन भएन भनिन्छ नि ?

समय समयमा दरबन्दी माग गर्ने कार्य भइरहेकै छ। नगर प्रहरीको दरबन्दी बढाएर प्रत्येक वडास्तरमा नगर प्रहरीको सेवालाई विस्तार नगरेसम्म नगर सुव्यवस्था कायम गर्न कठिन हुने देखिएकाले नयाँ दरबन्दीका लागि माग गरेका छौं तर प्रदेश कानुन नबन्दा त्यो समस्या देखापरेको छ। हामीले कानुनी अड्चन फुकाउनका लागि सम्बन्धित निकायलाई घचघच्याएका छौं।

महानगर क्षेत्रभित्रका अस्तव्यस्त बजार नियन्त्रण गर्न कस्तो योजना ल्याउँदै हुनुहुन्छ ? 

खास गरी सडकपेटीमा हुने अस्तव्यस्त बजार नियन्त्रण गर्न नगर प्रहरी खटिरहेको छ। तर, दिन प्रतिदिन सडकमा व्यापार गर्ने व्यापारीको वृद्धि हुँदै गएको छ। यसो हुनुमा नेपालको अर्थतन्त्रको अवस्था नै जिम्मेवार छ। सडकमा आउनुपर्ने आर्थिक अवस्था भएका मानिसको वृद्धि हुनुमा देशकै अर्थतन्त्र जिम्मेवार हुन्छ नै। जहाँसम्म नियन्त्रणको पाटो कुरा छ, हामीले पिक आवरमा भने सडकमा समान राख्न दिएका छैनौं। अटेर गर्ने व्यापारीलाई कारबाहीको दायरामा ल्याएका छौं। अटेर गर्ने व्यापारीलाई कारबाही गर्दा हरेक वर्ष पचासौं लाखको सामान लिलाम गरिरहेका छौं। त्यस्तै हजारौंको संख्यामा सडकमा आउने चारपांग्रे गाडा पक्राउ गरी लिलाम गरेका छौं र थप लिलाम गर्र्ने प्रक्रियामा छौं। यो समस्याको समाधान होइन हामीले दीर्घकालीन नीति ल्याउनु पर्नेछ।
– काठमाडौंका मुख्य सडकदेखि स–साना गल्लीसम्म अतिक्रमणमुक्त गर्नु, फोहरमैला नियन्त्रण, राजधानीलाई प्रदूषणमुक्त राख्नु, छाडा पशु नियन्त्रण गर्नु समग्रमा काठमाडौंको मौलिकताअनुसारका सुव्यवस्था कायम राख्नु नगर प्रहरीको मुख्य योजनामा परेको छ।
– व्यस्त समय र स्थानलाई केन्द्रित गरेर कारबाही गर्दा प्रत्यक वर्ष पचासौं लाखको सामान लिलाम गरि रहेका छौं। त्यस्तै हजारौंको संख्यामा सडकमा आउने चारपांग्रे गाडा पक्राउ गरी लिलाम गरेका छौं र थप लिलाम गर्र्ने प्रक्रियामा छौं।

– फुटपाथ व्यवसायको विकल्प खोज्नुचाहिँ सही विकल्प हुन सक्दछ। फुटपाथको अमर्यादित अव्यवस्थित बजारलाई व्यवस्थित र मर्यादित बजारमा जान प्रेरित गर्ने नै मुख्य विकल्प हुन सक्दछ। खुला स्थानलाई बजारमा परिणत गर्नु कदाचित शोभनीय कार्य हुन सक्दैन।

-मौलिक पहिचान भनेको धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक विशेषता हो। संघीय राजधानीसमेत भएकाले यसको मौलिकतामा आँच आउने वस्तुलाई नकार्न सक्नुपर्दछ। दृश्य प्रदूषणलाई नियन्त्रण, हरियाली प्रवद्र्धन, विशेष सरसफाइ र धूवाँ–धूलोमुक्त काठमाडौं बनायौं भने प्रकृतिले दिएको अनुपम सुन्दरताले धिकार्ने थिएन कि।

– चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको समयमा काठमाडौं शहरलाई जुन स्तरमा राखिएको थियो। भ्रमण वर्ष २०२० भरि नै त्यही स्तर कायम राख्ने हाम्रो योजना छ।

बजार व्यवस्थित गर्न फुटपाथका व्यापारीलाई नयाँ स्थान दिन मिल्दैन ? 

फुटपाथ व्यापारीलाई नयाँ स्थान दिने कुनै योजना छैन। विगतको भृकुटीमण्डपको दृष्टान्तले नै नयाँ स्थान विकल्प हुन सक्दैन भन्ने पुष्टि भइसकेको छ। फुटपाथ व्यवसायको विकल्प खोज्नुचाहिँ सही विकल्प हुन सक्दछ। फुटपाथको अमर्यादित अव्यवस्थित बजारलाई व्यवस्थित र मर्यादित बजारमा जान प्रेरित गर्ने नै मुख्य विकल्प हुन सक्दछ। खुला स्थानलाई बजारमा परिणत गर्नु कदाचित शोभनीय हुन सक्दैन। काठमाडौं उपत्यकाभरि नै जताततै व्यवस्थित खुद्रा बजार सञ्चालनमा रहेकाले त्यस्ता खुला बजार हाम्रो प्राथमिकतामा पर्दैन। खुला स्थानलाई त प्रकृतिको अनुपम नमुनाका रूपमा संरक्षण गरी आम नागरिकलाई लावान्वित तुल्याउनेतर्फ हाम्रो ध्यान जान जरुरी छ। महानगर यस दिशातर्फ उन्मुख रहेको छ।

जथाभावी रोकिएको सवारी व्यवस्थित गर्न के गरिरहनुभएको छ ?

तोकिएको स्थानमा बाहेक अव्यवस्थितरूपमा पार्किङ गरिने दुईपांग्रे सवारीसाधनलाई पार्किङस्थलबाटै नियन्त्रणमा लिएर प्रत्येक मोटरसाइकललाई १ हजार रुपियाँ जरिवाना गरिरहेका छौं। गत आर्थिक वर्षमा मात्र १ करोड २५ लाख जरिवाना असुल भएको छ। यो कारबाही सांकेतिक मात्रै हो। यो अभियानलाई हामीले प्रचारात्मक मात्र मानेका छौं। हाल दुईवटा ट्रक ट्राफिक प्रहरीहरूसँग संयुक्तरूपमा खटाइरहेका छौं। सम्पूर्ण शहरलाई प्रभाव दिन हाल खटाइरहेको जनशक्ति र सवारीसाधन अपुग रहेको भए तापनि ट्राफिक  व्यवस्थापन र त्यसको प्रभाव हेरेर खास खास स्थानलाई मात्र फोकस गर्न सकिरहेका छौं।

पार्किङको अवस्था कस्तो छ ? 

राजधानीका स्ट्रिट पार्किङ वास्तव मै भन्ने हो भने मापदण्डअनुसार छैनन्। तर, शहरको मौलिकता र आवश्यकतालाई ध्यानमा राखेर पार्किङ अनुमति दिन हामी बाध्य भएका छौं। अफ स्ट्रिट पार्किङलाई बढावा दिन प्रत्येक व्यावसायिक घरलाई भूमिगत पार्किङमा जोड दिएका छौं। निजीस्तरबाट तयार गरिएका पार्किङ व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ। हालसम्म करको दायरामा समेत नल्याई स्वतन्त्ररूपमा पार्किङ सञ्चालन गर्न दिइएको छ। राजधानीका व्यस्त ठाउँमा धेरैले पार्किङ व्यवस्थापनका लागि महानगरपालिकाले प्राथमिकतापूर्वक निजी क्षेत्रलाई आ≈वान गरिरहेको छ। हालैका दिनमा विकास भएका व्यापारिक मलहरूले नयाँ बजार व्यवस्थित हुँदै जानुको साथै पार्किङको व्यवस्थापनसमेत क्रमशः सुधार हुँदै गएको छ।

सवारीसाधन व्यवस्थित गर्न कस्तो योजना ल्याउनुभएको छ ?

हाम्रो क्षमताभन्दा बढी सवारीसाधन काठमाडौं उपत्यकामा भित्रिने क्रम जारी छ। यो क्रम रोकिने सम्भावना पनि देखिँदैन तर हाम्रा सडक पूर्वाधारको क्षमता निश्चित छ तसर्थ व्यवस्थापन पक्षलाई सवल बनाउनुको विकल्प छैन। साथै सरकारले नै उपत्यकाको सवारी योजनाका लागि स्थायी संरचना खडा गरी नियमित अनुसन्धान र कार्यान्वयन योजना ल्याउनुपर्दछ। जुन कुरा उपत्यकाव्यापी हुन जरुरी छ।

कुनै एउटा मात्र महानगरपालिकाले तयार गरेको योजनाले उपत्यकाको समस्या समाधान हुन सक्दैन। उपत्यकाको सबै नदी करिडोर निर्माण गर्न जरुरी छ। साथै चक्रपथबाहिरका लिंकरोडलाई थप व्यवस्थित गरी बाहिरी चक्रपथ निर्माण गर्न जरुरी भइसकेको छ। उपत्यकाकै रोड नेटवर्क विकास गर्न सरकारले अलग्गै एक समर्पित निकाय खडा गरी सडक तयार गर्ने र प्रत्येक नगरपालिकालाई त्यसको संरक्षण र सञ्चालन अधिकार हस्तान्तरण गर्न जरुरी छ। यथास्थितिमा रहे अबको १० वर्ष पछि काठमाडौं उपत्यका कामकाजी मानिस बस्ने स्थानको रूपमा रहन गाह्रो छ। समयमै सोच विचार पुर्याउन जरुरी छ।

राजधानीका सबै क्षेत्रमा निःशुल्क पार्किङ हटाउन लागिएको हो ? 

एउटा निश्चित समयमा सर्वसाधारणको समेत सुविधालाई ध्यानमा राखी निःशुल्क पार्किङ खुला गरिएको हो। यस्तो व्यस्त महानगरमा निःशुल्क पार्किङ सम्भव हुने विषय नै होइन। त्यसैले शहरका विभिन्न व्यस्त स्थानका सडक किनारमा पे–पार्किङका रूपमा विकास गर्न लागिएको छ। शहरको व्यस्तता हेरी पार्किङ शुल्कसमेत विविधीकरण गर्ने योजनामा रहेका छौं। अहिलेसम्म कति स्थानमा सशुल्क पार्किङ दिने भन्ने विषमा अध्ययन गरिरहेका छौं। कामपाका  व्यवस्थित शहरको परिकल्पनासहित सशुल्क पार्किङ खुला गर्न लागिएको छ। निःशुल्क पार्किङ र कुशल व्यवस्थापनसँगै जाने विषय नै होइनन्। बिनाशुल्क व्यवस्थापन सम्भव छैन। सधैंभरि निःशुल्क पार्किङ हाम्रो जस्तो शहरमा सम्भव हुने कुरै होइन। शुल्कबाटै व्यवस्थापन गरिनुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ। व्यवस्थापनमा सुधार गर्नेतर्फ महानगर सधैं सचेत छ। त्यसैले करिब ८२ स्थानमा सशुल्क पार्किङ खुलाउने योजना छ।

नगर प्रहरीको कार्यक्षेत्र कहाँसम्म रहेको छ ? कति क्षेत्रमा काम गरिरहनुभएको छ  ?

कामपाका ३२ वटा वडा कार्यालयका सम्पूर्ण क्षेत्र नै नगर प्रहरीको कार्य क्षेत्र हो। हाल सम्पूर्ण क्षेत्रलाई ४ (चार) क्षेत्रमा विभाजन गरी काम गरी रहेका छौं। हामीले धोबीखोला पूर्वका महानगर पूर्व क्षेत्र हो। विष्णुमती पश्चिमको महानगर पश्चिम क्षेत्र हो। लैनचौर उत्तर उत्तर क्षेत्र हो भने बाँकी व्यस्त मुख्य शहर मध्य क्षेत्र हो।

नगर प्रहरीले छाडा बस्तु नियन्त्रणमा ध्यान दिएन भन्ने आम नगरबासीको गुनासो छ नि ? व्यवस्थित गर्ने कुनै योजना छ कि ? 

उपत्यकाभित्र काठमाडौं महानगरपालिकाले मात्रै छाडा पशु व्यवस्थापन गर्दछ। प्रत्येक वर्ष करिब ५ सयको संख्यामा छाडा पशु पक्राउ गरी लिलाम गर्दछौं। हाल हामीले घरपालुवा जनवरको विद्युतीय अभिलेखीकरण कार्य अघि बढाएका छौं। हाल करिब ५ सय घरपालुवा गाई–गोरुको अभिलेख राख्ने कार्य भइसकेको छ। यस अभिलेखीकरणपछि हाम्रा नगर प्रहरीले सडकमा भेटिएको प्रत्यक पशुको ठेगाना पशु धनीको नाम, टेलिफोन नम्बरसहित सम्पूर्ण तथ्यांक लिएर थप कारबाहीको माध्यमबाट नियन्त्रण गर्ने योजना लिएका छौं। साथै काठमाडौं उपत्यकाका सम्पूर्ण महानगर र नगरपालिकाले संयुक्तरूपमा छाडा पशुको सेल्टर निर्माण गरेर पक्राउ परेका पशु व्यवस्थापन गर्न जरुरी भइसकेको छ। सडकमा पशुले भोग्नुपरेको दुरावस्था र सडक दुर्घटना हटाउन यो योजना लागू गर्न जरुरी भइसकेको छ। यो कार्य उपत्यकाका कुनै एक नगरपालिकाबाट मात्र सम्भव छैन तसर्थ सबै उपत्यकाभित्रका नगरपालिका यस विषयमा केन्द्रित हुन जरुरी भइसकेको छ।

गाईमा चिप्स जडान गर्ने काम कहाँ पुग्यो नि ?

मैले माथि नै भने करिब ५ सय पशुको अभिलेखीकरण सम्पन्न भइसकेको छ। चालू आर्थिक वर्षमा सम्पूर्ण शहरभरि नै यो कार्य सम्पन्न गर्ने योजनामा छौं। अहिले केही वडा कार्यालयमा तथ्यांक संकलन गरिरहेका छौं। कतिपय वडाका गाईलगायत चौपायामा चिप्स जडान गर्ने काम सम्पन्न गरिसकेका छांै।

छाडा कुकुर व्यवस्थित गर्ने कुनै योजना बनाउनुभएको छ त ? 

छाडा कुकुरको व्यवस्थापन गर्ने काम अर्को विभागले हेरेको छ। यो कार्य मेरो कार्य क्षेत्रमा पर्दैन। हाल कृषि विभागले सो कार्य गरिरहेको छ। तैपनि कामपाको महत्वाकांक्षी योजना भएकाले करिब दुई वर्ष अघिदेखि सञ्चालन भइरहेको मनुमित्र कार्यक्रम र अन्य कार्यक्रममार्फत कुकुर व्यवस्थित गर्ने काम भइरहेको छ। अधिकांश वडामा छाडा र केही घरपालुवा भाले र पोथी कुकुरको बन्ध्याकरण गर्ने काम भइरहेको छ।

नयाँ योजना के छ ?

हाम्रो मुख्य योजना नगर सुव्यवस्था नै हो। हालैको मित्रराष्ट्र चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको समयमा काठमाडौं शहरलाई जुन स्तरमा राखिएको थियो। अब भ्रमण वर्ष २०२० भरि नै त्यही स्तर कायम राख्ने हाम्रो योजना छ।

नगर प्रहरीलाई परिस्कृत गर्ने कुनै योजना छ कि ? 

समयअनुसार आफूलाई परिष्कृत गर्नु हामी सबैको कर्तव्य र आवश्यकता पनि हो। हाम्रो संगठनमा विगत २७ वर्षदेखि काम गरेको अनुभवी साथीहरू पनि हुनुहुन्छ। त्यसै गरी नयाँ भर्ना भएका साथीहरू पनि हुनुहुन्छ। पुराना साथीहरूको अनुभव र नयाँ साथीहरूको जोशलाई संयोजन गरी नयाँ पिँडीको आवश्यकतालाई पूर्ति गर्ने कोशिस भइरहेको छ। हरेक दिन नयाँ चुनौती आउँछन्। नयाँ चुनौतीलाई फरक ढंगबाट हेर्न मूल्यांकन गर्न र परिणाम निकाल्ने प्रयत्न कमान्डरको हुन्छ नै। फरक परिस्थितिलाई फरक ढंगबाटै ट्याकल गर्ने काममा म सचेत छु। विगतको कार्य शैली समाएर बस्यो भने समयले हामीलाई पर्खंदैन। समयअनुसार आफ्नो कार्यशैली परिवर्तन गर्दै जानुपर्छ। सोहीअनुसार काम गरिरहेका छौं।

तपाईंहरूको कामबाट जनप्रतिनिधि सन्तुष्ट हुनुहुन्छ ?

व्यस्त सडकलाई कामचलाउ स्तरमा सञ्चालन गर्नसम्म सफल भएका छौं। दीर्घकालीन योजनासमेत सँगै लैजान जरुरी छ। सन्तुष्टि प्राप्त गर्ने गरी हाल कसैले पनि कार्य सम्पादन गर्न सकेका छैनन्। तर आशा जगाउन र भरोसा गर्न सक्ने परिणाम निकाल्न सफल भएका छौं। तथापि जनप्रतिनिधिकै योजनाअनुसार काम गरिरहेका छांै। मेयर, उपमेयर, वडाध्यक्ष विभिन्न विभागीय प्रमुखहरूको  योजनाअनुसार काम गरिरहेका छांै।

सुन्दर राजधानी बनाउन के गर्नु पर्ला ?

प्राकृतिक दृष्टिले काठमाडौं उपत्यका नेपालकै एक सुन्दर र हावापानीको हिसाबले अत्यन्तै स्वच्छ स्थान हो। तर, हामीले यहाँको प्राकृतिक सुन्दरताको दोहन गरेर कुरूप बनाइसक्यौं। तथापि आजैका मितिबाट यसलाई बचाउनेतर्फ हाम्रो ध्यान केन्द्रित हुन जरुरी छ। काठमाडौं उपत्यकाको मौलिक पहिचान भनेको धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक विशेषता हो। साथै संघीय राजधानीसमेत भएकाले यसको मौलिकतामा आँच आउने वस्तुलाई नकार्न सक्नुपर्दछ। दृश्य प्रदूषणलाई नियन्त्रण, हरियाली प्रवद्र्धन, विशेष सरसफाइ र धूवाँ–धूलोमुक्त काठमाडौं बनायौं भने प्रकृतिले दिएको अनुपम सुन्दरताले धिकार्ने थिएन कि।

खुला क्षेत्र संरक्षण गर्न कामपा प्रहरीले के गर्दै छ ?

२०७२ सालको भूकम्पका बेला हाम्रा खुला क्षेत्र हाम्रो लाइफ लाइन बने। धनी–गरिब, ठूला–साना एकै स्थानमा आइपुगे। यी सबैको साझा थलो थियो खुला क्षेत्र। यस्ता क्षेत्रलाई हरियाली विकास गरी संरक्षण गर्न महानगर लागिपरेको छ। महानगरको मुख्य योजना नै राजधानीको खुला क्षेत्र संरक्षण गर्नु रहेको छ। सोहीअनुसार सबै वडाको अतिक्रमित होस् वा अन्य खुला क्षेत्रको संरक्षण गर्न लागिपरेको छौं। कामपा प्रहरीले महानगरको खुला क्षेत्रको संरक्षण गरिरहेको छ।

चिनियाँ राष्ट्रपतिको भ्रमणको क्रममा नगर प्रहरीले के–के काम गर्यो ?

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा पनि नगर प्रहरीले खास गरी शहरमा काम गर्ने सबै निकायलाई एकठाउँमा ल्याउन समन्वयात्मक भूमिका निर्वाह गरी शहरको सुव्यवस्था कायम राख्ने प्रयत्न गर्यो। शहरको शौन्दर्यीकरणमा खास गरी सरकारी, गैरसरकारी संस्था तथा निकायलाई शहरको सुन्दरतामा निखारता ल्याउन मद्दत पुर्यायो। एउटा चुनौती थियो त्यसलाई सजिलै पार गर्यांै। यो कामपा प्रहरीको मात्र सफलता होइन सिङ्गो महानगरपालिकाको सफलताका रूपमा लिएका छौं।
प्रतिक्रिया दिनुहोस्