डा. केसी भोकै हुनुहुन्छ, तपाईले भात खानु भोः अभियन्ता काफ्ले



राम धामी, डडेल्धुरा ।
“लागत मुल्य भन्दा ९९ प्रतिशतसम्म बढी नाफा लिनसक्ने लोभी औषधी उत्पादक, सो नियन्त्रण गर्न नसक्ने सरकार र यसबारे थाहा भएर पनि मौन रहने हामीलाई चुनौती दिन डा. केसी भोकै बस्नु भएको छ । तपाईले भात खानु भो ?”

डडेल्धुरा सदरमुकाममा ६ दिनदेखि सत्याग्रहमा रहेका प्रा.डा. गोविन्द केसीको आन्दोलनमा ऐक्यबद्धता जनाउन राजधानी काठमाण्डौदेखि डडेल्धुरा सदरमुकाम आईपुगेका एचआईभी संक्रमित अभियन्ता राजीव काफ्लेले शनिबार सत्याग्रहस्थलमा पुगेर डा. केसीको पक्षमा एक्यवद्धता जनाए ।

उनले जारी गरेको प्रेश विज्ञप्तीको पहिलो अनुच्छेद पढेर सुनाउदा सत्याग्रहस्थलमा पुगेका सञ्चारकर्मीहरु भाव विह्वल भए ।

“बिगत लामो समयदेखि जनताको स्वास्थ्यका पक्षमा बिभिन्न मुद्दा उपर लड्दै आउनु भएका डा. केसीलाई सम्पुर्ण एचआईभी संक्रमित तथा क्यान्सर प्रभावितहरुको तर्फबाट धन्यवादसहित उँहाको आन्दोलनमा ऐक्यवद्धता जनाउन चाहन्छौ ।” अभियन्ता काफ्लेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

“औषधीमा लागत मुल्यभन्दा ९९ प्रतिसत सम्म नाफा लिने गरिएको छ,” अभियन्ता काफ्लेले भने, “पहिलेको तुलनामा एचआईभीको औषधी हाल ९९ प्रतिसत सस्तो भएको छ, सरकारले पहल गर्ने हो भने जीवन बचाउने औषधीको मुल्य घटाउन सकिन्छ ।” उनले लागत मुल्य ६८ डलर पर्ने हेपाटाईटिसको औषधी हाल अमेरिकामा ८४ हजार डलरमा बिक्रीभईरहेको बताए ।

नेपालमा क्यान्सर लगायत अन्य रोग लागेका अत्यधिक महंगा औषधीका कारण धेरै घरबारविहीन हुने सम्मको अवस्था रहेको बताउदै उनले विद्यमान अबस्थामा सबै नेपाली जागरुक भएमा डा. केसीले उठाएका माग सम्बोधन हुने दाबीगरे ।

“स्वास्थ्य क्षेत्रमा धेरै समस्या रहेकाले डा. केसी धेरै पटक अनसन बस्नु परेको बताउदै उनले डा. केसीजस्तै आफ्नो ज्यानको बाजी थाप्ने दृढता र आँट भएको अरु कोहि ननिस्किएकाले पनि उँहा आफै पटक पटक लडिरहनु भएको छ ।” अभियन्ता काफ्लेले भने, “हामी सबैले भात खाएर भए पनि उँहाले उठाएको बिषयमा एक पटक गहिरिएर अध्ययन गरौ र यसको सम्बोधनका लागि पहल गरौं ।”

अभियन्ता काफ्ले उमेरले ४६ बर्षका भए तर उनलाई १६÷१७ वर्षकै उमेरमा डाक्टरले ३ देखि ५ वर्ष बाँच्ने भनेर समय तोकिदिएका थिए । कारण चाहिँ त्यसबेला गाँजेको ‘भयानक’ बिरामी एचआईभी नै थियो । तर आज तिनै व्यक्ति एसियन नेटवर्क एनपुड संस्थाका प्रोजेक्ट कोर्डिनेटर छन् ।

उनको बसाइ नेपालमा भन्दा धेरै विदेशमा हुन्छ । भाषामा नेपालीभन्दा अङ्ग्रेजी बोल्न बढी सजिलो मान्छन् । ललितपुरको झम्सिखेलमा २०३० सालमा जन्मेका राजीव सम्पन्न परिवारका एक मात्र छोरा हुन् । आमा शिक्षिका, बाबु सरकारी जागिरे थिए । उनको बाल्यकाल राम्रोसँग बित्यो, कुनै अभाव भएन ।

एक्लो छोरा भएकाले नाम चलेकै विद्यालयमा अध्ययन गर्ने अवसर प्राप्त गरे । एसएलसीमा एक बिषयमा असफल भएपछि उनले साथी भाईको संगतमा लागूऔषध सेवन गर्न थाले । सन् १९९७ तिर राजीवलाई हल्का ज्वरो आयो र स्वास्थ्य परीक्षणका लागि टेकु अस्पतालमा गए ।

त्यसको तीन दिनपछि उनको स्वास्थ्य रिपोर्ट आयो । रिपोर्टमा एचआईभी पोजेटिभ देखियो । त्यो समयमा अहिलेको जस्तो निःशुल्क औषधिको कार्यक्रम पनि लागू भएको थिएन् भने जनचेतनामूलक कार्यक्रम पनि थिएन् । चिकित्सकले उनलाई ‘तीन देखि पाँच वर्षसम्म बाँच्छौ, त्योभन्दा धेरै बाँच्दैनौ’ भनेर मिति नै तोकिदिए र रिपोर्ट हातमा थमाइदिए ।

डिसेम्बर १, २००० को विश्व एड्स दिवसको अवसरमा उनले सार्वजनिक रुपमा ‘म आफू एचआईभी सङ्क्रमित हुँ’ भन्ने आँट गरे । विस्तारै विस्तारै मिडियाले उनलाई चासो दिन थाले । उनका कुराहरु सार्वजनिक रुपमा आउन थाले । राजीवको तर्क छ, ‘सरकारको गलत नीतिले गर्दा पनि नागरिक एचआईभी संक्रमणको शिकार बन्नुपरेको अवस्था छ ।’ उनलाई अहिले आफू संक्रमित भएको बारेमा कुनै पनि गुनासो छैन ।

अझ एड्ससम्बन्धी कार्यक्रममा नेपालका धेरै ठाउँ पुगेका छन् भने लागूपदार्थसम्बन्धी काम गर्ने संस्था एसियन नेटवर्क एनपुड प्रोजेक्ट कोअर्डिनेटरका रूपमा काम गरिरहेका छन् ।

उनी अहिले सम्झन्छन, ‘रोग नलागेको भए प्लस टु पास गर्थें, सामान्य जागिर खाएर जीवन बिताउँथेँ होला तर एड्स लागेपछि धेरै मौका पाएको र जिन्दगीको सही अर्थ बुझेको छु ।’ नियमित औषधि सेवनकै कारणले राजीवको सङ्क्रमणको भाइरस शून्यमा झरेको छ ।

उनले मुलुकको स्वास्थ्य क्षेत्रमा तमाम समस्या रहेको उल्लेखगर्दै समस्या समाधानका लागि सरकार प्रतिवद्ध हुन आबश्यक रहेको जिकिर गरे । सरकारलाई दबाब दिएर संबैधानिक व्यवस्था अनुसार स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि आम नागरिकहरुले संघर्ष गर्नुपर्ने उनी औल्याउछन् ।

प्रतिक्रिया दिनुहोस्