फैसला सुनाएका व्यक्तीलाई कानुनी दायरामा ल्याउन प्रकृया तिव्र



सरस्वती न्यौपाने, रसुवा ।

फैसला सुनाएका व्यक्तीलाई कानुनी दायरामा ल्याउन कार्यान्वयनको प्रकृया तिव्र रुपमा अगाडी बढेको छ ।

रसुवा जिल्ला अदालतका अधिकृत श्रेस्तेदार सदन अधिकारीका अनुसार फैसला भै कैद तथा जरिवाना भुक्तानी गर्न बाँकी रहेका ७९ जना अभियुक्तको लगत अध्यावधिक रहेकोले ति व्यक्तिको खोजि गर्दै फैसला कार्यान्वयनको प्रकृया तिव्र रुपमा अगाडि बढिरहेको छ ।

जिल्ला अदालतको फैसलाबाट सजाय पाएकामध्ये ३५ जनाले जरिवाना तिर्नु पर्ने, कैदमा बस्नु पर्ने २१ र कैद तथा जरिवाना दुवै व्यहोर्नु पर्ने २३ जना समेत ७९ जना फरार सुचिमा रहेको र फैसला कार्यान्वयन अन्तरगत उनिहरुको खोजी कार्य भै रहेको बताइएको छ ।

असुल गर्नु पर्ने र फैसला बमोजिम ती अभियुक्तवाट ६ करोड ५५ लाख वक्यौता बाँकी रहेको रसुवा जिल्ला अदालतले बताएको छ । सजाय तोकिएका अभियुक्त हरुमा सप्तरी, ललितपुर, स्याङजा, सोलुखुम्बु, सुनसरी, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, सर्लाही, चितवन र काठमाण्डौ जिल्ला समेतका अभियुक्त रहेको श्रेस्तेदार अधिकारीले जानकारी दिनु भयो ।

यस्तै रसुवा जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका १७, घरेलु हिंसाको एक र मानाचामल भराउने चार ओटा देवानी प्रकृतिका मुद्धा विचारधिन रहेको बताइएको छ ।

फैजदारी तर्फ भने १७ ओटा मुद्धा फरछयौट गर्न बाँकी रहेका र छिटो छरितो न्याय सम्पादन गर्न प्रकृयागत रुपले फैसला भै रहेको रसुवा जिल्ला अदालतले जनाएको छ ।

रसुवा जिल्ला अदालतमा रहेका ४९ थान मुद्धामध्ये देवानी तर्फको चार र फौजदारी तर्फको ६ समेत १० थान मुद्धा चालु आर्थिक वर्षको पहिलो चौमासिकमै फरछयौट भै सकेको र फरछयौट प्रकृयामा रहेका ३९ थानमध्ये गत आवको २२ थान अल्या सरेको र १७ थान भने यसै आवमा दायर भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्