भारतले नक्सा नसच्याए भारतीय लगानीका उद्योग बन्द गर्ने चेतावनी



रोशनी भट्टराई, विराटनगर ।

भारतले हालै जारी गरेको नेपालको भूमिसहितको नक्सा नसच्याए भारतीय लगानीमा संचालित उद्योग धन्दा अवरुद्ध गर्ने मजदुरहरुले चेतावनी दिएका छन ।

अखिल नेपाल ट्रेड युनियन महासंघ आबद्ध मजदुरहरुले आज विराटनगरमा गरेको प्रर्दशनपछि आयोजित कोण सभामा बोल्ने मजदुर नेताहरुले यस्तो चेतावनी दिएका हुन ।

ट्राफिकचोकमा आयोजित कोणसभामा बोल्नुहुँदै सो युनियनका प्रदेश उपाध्यक्ष उपेन्द्र रायले भारतले हालै जारी गरेको नक्शा तत्काल सच्याउनुपर्ने माग गरे । उनले भारतले बिस्तारबादको निति अनुसार नेपाली भुमिलाई कब्जा गर्न चाहेको आरोप लगाउनुहुँदै त्यस्तो प्रयास विफल पार्न मजदुरहरु जुनसुकै कदम चाल्न पछि नहट्ने बताए ।

नक्सा तत्काल नसच्याए र मिचिएको नेपालको भुमि फिर्ता नगरे नेपालमा संचालित भारतीय लगानीको उद्योगधन्दा तथा ब्यवसाय अवरुद्ध पार्ने चेतावनी समेत दिए । महासंघका प्रदेश अध्यक्ष टिका प्रसाईले भारतले नेपालको एक जिल्ला बराबरको भूमि मिचेको बताउनुहुँदै फिर्ता नगरे कलकारखाना बन्द गरेर संघर्षमा जाने चेतावनी दिए ।

नेकपाका प्रदेश सदस्य भोगेन्द्र यादवले भारतले आफ्नो छिमेकीहरुलाई मिलाएर राख्नुपर्नेमा दुख दिएको बताए । उनले भारतले नेपाललाई मात्र नभई पाकिस्तान,बंगलादेश र श्रीलंका लगायतका देशलाई समेत दुख दिएको आरोप लगाए । समस्या समाधान गर्न सरकारले कुटनितिक पहल गर्नु पर्ने बताउनुहुँदै उहाँले अन्यथा जनता आफै अघि बढ्ने चेतावनी दिए ।

यसअघि महासंघको कार्यालय सन्सारीमाई छेउबाट निकालिएको विरोध र्यालीले भारत बिरुद्ध नाराबाजी गर्दै नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्