यौनसम्पर्कबाट पनि डेंगु !



न्युज अफ नेपाल, काठमाडौँ, विश्वमा पहिलोपटक यौनसम्पर्कबाट डेंगु सरेको पत्ता लागेको छ। लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगु, यौनसम्पर्कबाट सरेको यो पहिलो घटनाबाट डाक्टरहरु नै छक्क परेका छन्।

स्पेनका ४१ वर्षीय एक मानिसमा यौनसम्पर्कबाट डेंगु सरेको डेलिमेल युकेले बताएको छ।

ती पुरुषलाई क्युबा भ्रमणमा गएका बेला आफ्नो पुरुष पार्टनरसँगको शारीरिक सम्पर्कपछि डेंगु देखिएको थियो। मड्रिडकी जनस्वास्थ्य अधिकारी जिमिनेजले सो कुराको पुष्टि गरेकी हुन्।

उनीहरुको शुक्राणु परीक्षण गर्दा डेंगु सेप्टेम्बरमा पुष्टि भएको थियो। जिमिनेज भन्छिन् ‘साउथ कोरियामा पनि एक महिला र एक पुरुषबिच यौनसम्पर्कबाट डेंगु संक्रमण भएको हुन सक्ने भन्ने कुरा एक लेखमा लेखिएको थियो।’

के हो डेंगु ज्वरो  ?

डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ ।

यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्तमात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिएको बताए ।

डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।

डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोमगरी तिन प्रकारका छन । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो । यो आफंै निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ । तर यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्छ ।

स्वास्थ्य संस्थामा यसको लक्षण अनुसार उपचार गरीन्छ । ज्वरो घटाउन सिटामोल खानुपर्छ तथा प्रशस्त झोल पदार्थ खानुपर्छ । तर ज्वरो घटाउने भनेर एस्पीरीन तथा आईबुप्रोफेन भने खान हुँदैन । डेंग ज्वरो विरुद्धको खोप तथा खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो । डेंगु ज्वरोको शंका लागेमा हुन सक्ने जटिलताबाट बचाउन तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्छ ।

डेंगु ज्वरोको मुख्य लक्षण

डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ ।

– असाध्यै टाउको दुख्ने

–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने

–ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने

–शरीरमा विमिरा आउने

–वाकवाकी लाग्ने

– पेट दुख्ने

– नाक वा गिजाबाट रगत बग्ने

– रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्