काभ्रेको मण्डनदेउपूरमा नगरकै ठूलो खानेपानी आयोजना सम्पन्न



ज्ञानमणि नेपाल कालोटोपी, काभ्रे ।

जिल्लाको मण्डनदेउपुर नपा वडा नं १० को माथिल्लो भेगमा खानेपानीको समस्याबाट स्थानियवासी मुक्त भएका छन् । ०७२ सालको विनासकारी भूकम्पले यहाँका खानेपानीका मूलहरु सुकाइदिएपछि स्थानियहरुलाई पानीको समस्या जटिल बन्दै गएको थियो ।

यहाँ अहिले नगरपालिकाकै सबैभन्दा ठूलो खानेपानी आयोजनाको निर्माण सम्पन्न भएसँगै २५२ घरधुरीलाई घरघरमा धारा पुर्याउन स्थानियवासीहरु सफल भएका छन् । यहाँको खानेपानी समस्यालाई समाधान गर्न विभिन्न संघसंस्थाहरुले उल्लेख्य सहयोग गरेका थिए ।

स्थानियवासीहरुको अथक परिश्रम र चन्दा संकलनका साथै ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समिती (फण्ड बोर्ड), शान्ती जनआर्दश सेवा केन्द्र धुलिखेल, कारितास नेपाल, साबिक जिल्ला विकास समिती, काभ्रेले यस आयोजनाका लागि आर्थिक सहयोग गरेका थिए ।

साथै जिल्ला खानेपानी तथा सरसफाई कार्यालय काभ्रे, साबिक चण्डेनीमण्डन गाविस, मण्डनदेउपूर नगरपालिका, गाउँ सामुदायिक समिती, चण्डेनीमण्डन र नेपाल विद्युत प्राधिकरण बनेपाको पनि उल्लेख्य सहयोगमा सम्पन्न आयोजनाको शुक्रबार उदघाटन गरिएको छ ।

मण्डनदेउपुर नगरपालिकाको ऐतिहासिक गौरवको एक घर एक धारा कार्यक्रम अन्र्तगत नगर भरिकै ठूलो आयोजना सम्पन्न भएकोमा सहयोगी सबैलाई धन्यवाद दिनुका साथै सहयोगी व्यक्ति र संस्थालाई सम्मान पनि गरिएको थियो ।

सो फ्याफुल्ला खानेपानी आयोजनाका अध्यक्ष कुमार तामाङले लामो संघर्ष र अथक प्रयासका वीच आयोजना सम्पन्न गर्न सकिएको बताउनु भयो । वडा नं. १० का वडाध्यक्ष विष्णुमणि नेपालले एक घर एक धारा अभियान वडाका सबैघरमा पुर्याउने लक्ष्य रहेको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा केदार भक्त माथेमाको प्रमुख आतिथ्यमा सम्पन्न शुक्रबारको कार्यक्रममा मण्डनदेउपूर नगरप्रमुख टोकबहादुर वाइवा विशेष अतिथी रहनु भएको थियो । कार्यक्रम अवधिभर स्थानिय तथा राष्ट्रियस्तरका कलाकारहरुले विशेष प्रस्तुती दिएका थिए ।

स्थानिय विद्यालयहरुबाट तथा स्थानियवासीहरुको उदघाटन कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो । खानेपानी समस्या समाधान गर्न सकिएकोमा उपस्थित सबै निकै खुशी देखिन्थे ।

प्रतिक्रिया दिनुहोस्