महिला तथा बालबालिका हिंसाको शिकार बन्दै, हिंसा गर्दै



न्युज अफ नेपाल, हेटौंडा ।

आफूलाई माथि उठाउने र सफल बनाउने क्रममा महिला स्वयम् सफल पनि हुन्छन् । तर, जब महिला उठ्छन्, केही गर्नुपर्छ भन्ने सोचेर अगाडि बढ्न थाल्छन्, तब उनीहरुमा सायद डाह हुन्छ, फेरि आफंै खुट्टा तान्न थाल्छन् । आलोचना र अपब्याख्या गर्न थाल्छन् । यो त डाहा र ईष्र्याको कुरा भयो । अपराधमा पनि यस्तै देखिएको छ । अपराधहरुमा महिला र बालबालिका पीडित बनिरहँदा पीडक पनि महिला र बालबालिका नै हुने गरेको देखिएको छ ।

बदलिँदो समाज, बढ्दो आर्थिक दायरा, अवैध सम्बन्ध, दुव्र्यसन, महत्वाकांक्षा, प्रेममा धोका र गलत संगतका कारण महिला र बालबालिका अपराधको दुनियामा सक्रिय हुँदै गएकोले मकवानपुरमा अपराधमा महिला र बालबालिका संलग्नताको ग्राफ बढेको पाइएको छ ।

विभिन्न प्रकारका हिंसाको शिकार बन्ने गरेका महिला तथा बालबालिकाहरु नै हिंसात्मक अपराधमा संलग्न हुँदै आएको पाइएको हो । मकवानपुरमा पछिल्लो समय विभिन्न अपराधमा महिला तथा बालबालिकाको संलग्नता बढेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरको तथ्यांक हेर्दा अपराधमा महिला तथा बालबालिकाको संलग्नता बढ्दो रहेको पाइएको छ । कार्यालयका नायब सुब्बा नेत्रप्रसाद आचार्यका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ६१ महिला र ११ बालबालिका विभिन्न अपराधको शिकार हुँदा ती अपराधमा २३ महिला र ९ बालबालिकाको संलग्नता पाइएको छ । आर्थिक वर्ष २०७४/०७५ को भन्दा आव २०७५/०७६ मा एक सय ८४ महिला तथा बालिबालिका विभिन्न हिंसाबाट पीडित बनेका छन् भने ४१ महिला तथा बालबालिकाको अपराधमा संलग्नता बढेको छ ।

ज्यानसम्बन्धी मुद्धामा ४ महिला र २ बालबालिका गरी ६ जना पीडित बन्दा २ महिला र एक बालबालिका गरी ३ जना सोही अपराधको प्रतिवादी छन् । जबर्जस्ती करणी तथा उद्योगमा १९ महिला र ९ बालबालिका गरी २८ जना पीडित बनेका छन् भने २ बालकको सोही अपराधमा संलग्नता छ ।

मानव बेचबिखनमा ८ महिला पीडित बन्दा बेचबिखनमा २ महिलाको नै संलग्नता रहेको नायब सुब्बा आचार्यले जानकारी दिनुभयो । उहाँले चोरीबाट १४ जना पीडित बन्दा चोरीमा ५ जना संलग्न रहेको जानकारी दिनुभयो । लागुऔषधमा ९ जना तथा अन्य अपराधमा २५ जना पीडित र १३ जना प्रतिवादी छन् ।

आर्थिक वर्ष २०७५/०७६ मा विभिन्न अपराधमा ८२ महिला र २४ बालबालिका गरी एक सय ६ जना पीडित बन्दा ५२ महिला र २१ बालबालिकाको संलग्नता रहेको पाइएको छ । जसमा ज्यान मुद्धामा ९ महिला पीडित बनेका छन् । जबर्जस्ती करणी तथा उद्योगमा १९ महिला तथा १७ बालबालिका पीडित बन्दा एक महिला र ४ बालकको संलग्नता छ ।

मानव बेचबिखनमा एक महिला पीडित बन्दा ३ महिलाको सोही मुद्धामा संलग्नता रहेको आचार्यले बताउनुभयो । चोरी मुद्धामा १३ महिला तथा एक बालबालिका गरी १४ जना पीडित बन्दा ३ महिला तथा एक बालबालिकाको संलग्नता रहेको पाइएको छ । लागुऔषधमा १२ महिला तथा १२ बालबालिका गरी २४ जनाको संलग्नता रहेको पाइएको छ भने अन्य अपराधमा ३१ महिला तथा २ बालबालिका पीडित बन्दा २० महिला र ४ बालबालिका प्रतिवादी रहेको पाइएको छ ।

तथ्यांक हेर्दा प्रतिवादीको तुलनामा पीडितको संख्या बढेको पाइए पनि पीडितको तुलनामा पीडक बढ्नु थप जटिल हुने नासु आचार्यको भनाइ छ । उहाँले महिला प्रतिवादीलाई कानुनमा व्यबस्था भएअनुरुप दण्ड सजाय हुने गरेको बताउनुभयो । आचार्यले बालबालिकाबाट भएको अपराधलाई बालबिज्याईं भनिने हँुदा उनीहरुलाई बालसुधार केन्द्रमा राख्ने गरिएको बताउनुभयो ।

महिला तथा बालबालिकासम्बन्धी अपराधका घटना खुल्दै जान थालेका छन् । अपराध नियन्त्रण, अनुसन्धान र पीडितलाई आवश्यक सहयोग गर्ने उद्धेश्यले नेपाल प्रहरीको विशिष्टीकृत एकाईंका रुपमा महिला तथा बालबालिका सेवाकेन्द्र स्थापना गरिएकोले प्रभावित न्यायका लागि प्रहरीमा आउने क्रम बढेको हो ।

महिला तथा बालबालिका बढी जोखिममा पर्ने भएकाले जोखिम रोक्ने सरकारको प्राथमिकतामा रहेको कार्यक्रमलाई प्रहरीले पनि विशेष कार्यक्रमका रुपमा अघि बढाएको जनाएको छ । प्रहरीले निर्धारण गरेको १० सांगठनिक प्राथमिकतामध्ये महिला तथा बालबालिकाको अमानवीय कामप्रति कानुनी कठोरता नीति समावेश छ ।

केही महिला बाध्यताले, केही महत्वाकांक्षाले त केही संगतका कारणले हत्या, अपहरण, लागुपदार्थ ओसारपसारजस्ता ठूला अपराधकर्ममा संलग्न हुने गरेको देखिएको छ । समाजशास्त्रका प्राध्यापक भन्छन्–पहिलाको जमानाजस्तो अहिले छैन । महिलामा पनि पुरुषभन्दा के कम भन्ने भावना बढेको छ । यसका कारण महिला पनि विभिन्न आपराधिक घटनामा संलग्न हुने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्