पीएसजी नकआउट चरणमा



लन्डन, (एजेन्सी)।

फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) दुई खेल खेल्न बाँकी छँदैं युइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

बुधबार राति भएको खेलमा बेल्जियन क्लब ब्रगलाई १–० गोलअन्तरले पराजित गर्दै पीएसजीले समूह ए बाट अन्तिम १६मा स्थान पक्का गरेको हो। पार्क डी प्रिन्सेस पेरिसमा घरेलु टोलीलाई जिताउन मौरो इकार्डीले गरेको गोल नै निर्णायक बन्यो।

इकार्डीले खेलको २२औं मिनेटमा कोलिन डग्वाको पासमा गोल गरेका थिए। योसँगै अपराजित रहेको पीएसजीले ४ खेलबाट १२ अंक जोड्यो।प्रतिस्पर्धात्मक उक्त खेलमा क्लब ब्रगले दोस्रो हाफमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेन।

७६औं मिनेटमा एमबाय डियाग्नीको पेनाल्टीलाई पीएसजीका गोलरक्षक केलर नाभास बाधक बने। ७४औं मिनेटमा थियागो सिल्भाले डियाग्नीलाई फाउल गरेपछि रेफ्रीले भीएआरको सहायतामा ब्रगलाई पेनाल्टीको मौका दिएको थियो।

यसै समूहकोे अर्को खेलमा रियल मेड्रिडले रोड्रिगोको ह्याट्रिकको सहयोगमा गालातासारेमाथि ६–० को सानदार जित निकाल्यो। रियलका लागि चौथो र सातौं मिनेटमा रोड्रिगोले गोल गरे। त्यस्तै १४ औं मिनेटमा सर्जियो रामोसले गोल गरे। ४५ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दा रियल पहिलो हाफसम्म ४–० ले अगाडि रहन सफल भयो।

दोस्रो हाफमा बेन्जेमाले ८१औं मिनेटमा गोल गरे। त्यस्तै ९०औं मिनेटमा रोड्रिगोले छैटौँ गोल थपे। जितसँगै रियल ७ अंक जोडेर दोस्रो तथा गालाटासारे १ अंक जोडेर पुछारमा छ।

युभेन्ट्स अन्तिम १६ मा

त्यसैगरी इटालियन फुटबलका महारथी युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ। रसियन क्लब लोकोमोटिभ मस्कोलाई २–१ ले पराजित गर्दै युभेन्ट्सले दुई खेल छँदैं अर्को चरणको टिकट काट्यो। वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डगलस कोस्टाले इन्ज्युरी समयमा गोल गर्दै युभेन्ट्सलाई जित दिलाएका थिए।

आरोन राम्सीको गोलबाट युभेन्ट्सले खेलमा अग्रता लिएको थियो। सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको फ्रि–किकको सदुपयोग गर्दै राम्सीले खेलको चौथो मिनेटमा युभेन्ट्सलाई अघि बढाएका थिए। १२औ मिनेटमा पाहुना टिमका अलेक्सी मिरान्चुकले गोल गर्दै मस्को क्लबलाई खेलमा फर्काएका थिए। समूह ‘डी’ मा रहेको युभेन्ट्सले चार खेलबाट १० अंक जोड्दा मस्कोको मात्र ३ अंक छ।

यही समूहको अर्काे खेलमा स्पेनिस क्लब एट्लेटिको मेड्रिड जर्मन क्लब बायर लिभरकुसेनसँग २–१ ले पराजित भएको छ। थोमसको आत्मघाती गोलबाट लिभरकुसेन खेलमा अघि बढेको थियो। ५५औं मिनेटमा केभिन भोलान्डले गोल गर्दै लिभरकुसेनको अग्रता दोब्बर पारे। इन्ज्युुरी समयको थप गरिएको चौथो मिनेटमा अल्भरो मोराटाले गोल गरेपछि एट्लेटिकोले हार टार्न सकेन। पराजित एट्लेटिको ७ अंक जोडेर दोस्रो तथा लिभरकुसेन ३ अंकसहित तेस्रो स्थानमा छ।

त्यस्तै जर्मन क्लब बायर्न म्युनिख पनि दुई खेल बाँकी छँदै च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ। ग्रिसको ओलम्पियाकोसलाई २–० ले पराजित गर्दै बार्यन नकआउट चरणमा पुगेको हो। समूह ‘बी’ मा अपराजित रहेको बायर्नले ४ खेलबाट १२ अंक जोड्यो। टोटेनह्याम ७ अंक जोडेर दोस्रो, रेड स्टार बेलग्रेडको ३ तथा ओलम्पियाकोस १ अंकसहित पुछारमा छ।

सिटी बराबरीमा

समूह सी अन्तर्गत खेलमा म्यानचेस्टर सिटी र एट्लान्टाले बराबरी खेल्दै अंक बाँडे। खेलको सातौं मिनेटमै अग्रता बनाएको सिटीले ४३औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्न सकेन। एट्लान्टाका लागि ४९औं मिनेटमा प्यासालिकले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

खेलको ८१औं मिनेटमा ब्राभो रातो कार्ड खाँदै बाहिरिएपछि १० खेलाडीमा सीमित सिटीले गोल थप्न नसक्दा बराबरीमा रोकियो। यसको बाबजुद सिटी १० अंकसहित शीर्षस्थानमा छ।

प्रतिक्रिया दिनुहोस्