बगदादीकी पत्नी हिरासतमा रहेको एर्डोगानद्वारा खुलासा



अंकारा, (एजेन्सी)।

टर्कीका राष्ट्रपति रिसेप तयैप एर्डोगानले इस्लामिक स्टेटका पूर्वप्रमुख अबु बकर अल बगदादीकी पत्नी हिरासतमा रहेको बताएका छन्।मारिएका बगदादीकी पत्नीलाई गतवर्ष गिरफ्तार गरेपछि उनीबाट उक्त जिहादी समूहको भित्री जानकारी धेरै खुलासा भएको एक तुर्केली अधिकारीले बताए।

आफूलाई रानिया महमुद भनेर बताएकी बगदादीकी पत्नीको वास्तविक पहिचान आस्मा फावजी मुहम्मद अल कुबायसी भएको ती अधिकारीले जानकारी दिइन्।

उनी गतमहिना अमेरिकी विशेष बलको कारबाहीमा मारिएका आइएस नेताकी पहिलो पत्नी भएको बताएको छ। ती महिलालाई सन् २०१८ जुन २ मा सिरिया सीमा नजिकको हाताय प्रान्तबाट गिरफ्तार गरिएको थियो। उनीसँगै आफ्नो पहिचान लैला जबीर बताउने बगदादीकी छोरीलगायत अन्य १० जना पक्राउ परेका थिए।

इराकले उपलब्ध गराइएको बगदादीको डीएनए नमुनाको परीक्षणबाट उनीहरूको पारिवारिक सम्बन्ध रहेको पुष्टी भएको ती अधिकारीले बताए।

राष्ट्रपति रिसेप तयैप एर्डोगानले बुधबार पहिलो पटक उनी हिरासतमा रहेको खुलासा गरेको हो।
यसअघि मंगलबार टर्कीले बगदादीकी दिदीलाई पनि हिरासतमा लिइएको समाचार आएको थियो।

बगदादीले गत महिना अमेरिकाको विशेष बलको एक सैन्य कारबाहीका क्रममा आत्मघाती बिस्फोट गराई आफ्नो ज्यान लिएका थिए। अमेरिकी सैन्य बलले उक्त अभियान सिरियाको उत्तर–पश्चिम हिस्सामा चलाएको थियो।

बगदादीको मृत्युलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जितको रूपमा प्रस्तुत गरेका थिए। तर उनका आलोचकले सिरिया र अन्य देशमा इस्लामिक स्टेटको खतरा कायम रहेको बताएका छन्।

इस्लामिक स्टेटले बगदादीको मृत्युको पुष्टी गर्दै नयाँ नेताको नाम पनि घोषणा गरिसकेको छ।
राष्ट्रपति एर्डोगानले टर्कीको राजधानी अंकारामा आफूले पहिलो पटक बगदादीकी पत्नीलाई गिरफ्तार गरेको जानकारी दिए।

बगदादीविरुद्धको कारबाहीका सम्बन्धमा अमेरिकी अधिकारीका तर्फबाट जारी बयानलाई संकेत गर्दै एर्डोगानले भने– ‘बगदादीले एक सुरुङमा आफैंको ज्यान लिएका थिए।’ अमेरिकाले भन्यो– ‘अमेरिकी सेनाले यसका लागि अभियान चलायो तर हामी उनकी पत्नीलाई गिरफ्तार गरेको आज म पहिलो पटक घोषणा गरिरहेको छु र उनले बगदादीका तर्फबाट कुनै कुरा गरेका छैनन्।’

टर्कीले उनकी दिदी र भिनाजुलाई पनि सिरियाबाट पक्राउ गरेको एर्डोगानले बताए। टर्कीका अधिकारीले मंगलबार बगदादीकी दिदी रसमिया अवादलाई पक्राउ गरेको र उनीबाट आईएसका बारेमा महत्वपूर्ण जानकारी प्राप्त हुन् सक्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्