जोगबनीमा भारतविरुद्ध प्रदर्शन



विराटनगर, (नेस) ।

नेपालको भुमिलाई आफ्नो भन्दै भारतले राजनीतिक नक्शा जारी गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ।
लिम्पियाधुरा र लिपुलेकलगायतका नेपाली भूमिलाई समावेश गरी भारतले नक्शा जारी गरेपछि जनस्तरबाट त्यसको तीव्र विरोध भइरहेको छ।

सो क्रममा स्वतन्त्र युवा समूहले विराटनगरस्थित सीमाक्षेत्रमा प्रदर्शन गरेको छ। समूहले बिहीबार बिहान रानीस्थित विराटनगर भन्सार कार्यालयको २ नम्बर गेटमा प्रर्दशन तथा कोणसभा गरेको छ।

सो क्रममा बोल्दै अनेरास्ववियुका केन्द्रीय सचिव ओसिम आलमले नेपाली मित्र राष्ट्रसँग मित्रता राख्ने भएपनि एक इन्च पनि भूमि कब्जा गर्न खोज्नेलाई प्रतिबाद गर्न सक्षम रहेको चेतावनी दिनुभयो।

स्वतन्त्र युवा समूहका अध्यक्ष मोहम्मद हमिद आजादले नेपाली भूमि कब्जा गर्ने जस्तो कुचेष्टा भइरहँदा सरकार मौन बस्नु रहस्यमय भएको दाबी गर्नुभयो।

सरकार कडारूपमा प्रस्तुत हुन नसकिरहेको अवस्थामा जनता उद्धेलित भएको र प्रतिवाद गर्नसमेत तयार रहेको उहाँको भनाइ थियो।

प्लेकार्डसहित प्रदर्शन गरेका सहभागीले ‘भारतीय विस्तारवाद मूर्दावाद’ ‘हाम्रो सीमा मिचेको हो कि बेचेको ?’ ‘नेपाली हामी रहन्छौं कहाँ नेपालै नरहे’ र ‘सरकार किन मौन’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

कार्यक्रममा युवा संघका क्षेत्रीय इन्चार्ज प्रकाश पोखरेल, पत्रकार स्वयम्भुनाथ कार्की, अनेरास्ववियुका नगर सचिव नवीन निरौला तथा सुरेश मिश्रलगायतले नेपाली भूमिलाई भारतले आफ्नो नक्शामा समावेश गर्नु आपत्तिजनक रहेको बताएका थिए।

 

प्रतिक्रिया दिनुहोस्