पूर्ण पोषणयुक्त वडा घोषणा हुँदै



विनोद सिंह विष्ट, बैतडी।

बैतडीको दोगडाकेदार गाउँपालिकाका २ वटा वडालाई चालू आर्थिक वर्षभित्रै पूर्ण पोषणयुक्त घोषणा गरिने भएको छ। दोगडाकेदार गाउँपालिका–४ र ५ लाई पूर्ण पोषणयुक्त वडा घोषणा गर्ने लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ।

पूर्ण पोषणयुक्त घोषणाका लागि आवश्यक सूचक पूरा गर्नका लागि दुई वडा लागिपरेका छन्। पूर्ण पोषणयुक्त घोषणाका लागि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको, ६ महिनासम्म बच्चाले आमाको दूध मात्रै खाएको, प्रत्येक महिना बच्चाको तौल लिएको र ५ वर्षमुनीका बालबालिकाले वर्षमा दुईपटक भिटामिन ‘ए’ र जुकाको औषधी खाएको हुनुपर्ने दोगडाकेदार ५ न्वाली स्वास्थ्यचौकीका इन्चार्ज नैनसिंह गोयलाले जानकारी दिनुभयो।

यसका साथै १ वर्षभित्र वडामा कुनै पनि बच्चा कुपोषित नभएको, गर्भवती महिलाले टीडीखोप लगाएको, गर्भवती हुँदा प्रोटोकलअनुसार ४ पटक गर्भजाँच गराएको, हजार दिने आमाको घरमा करेसाबारी हुनुपर्नेलगायतका सूचक हुनुपर्ने उहाँले बताउनुभयो।

पूर्ण पोषणयुक्त घोषणाका लागि गाउँपालिकाले पनि आवश्यक बजेट विनियोजन गरेको दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले जानकारी दिनुभयो।

महिला र बालबालिकाका क्षेत्रलाई प्राथमिकतामा राखेर गाउँपालिकाले काम गर्दै आएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्