दुर्गम क्षेत्रमा चिकित्सक कार्यक्रम



नेपाल समाचारपत्र, बैतडी।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा बैतडीमा प्रत्येक महिनाको दुई दिन गाउँघरमा चिकित्सक कार्यक्रम सञ्चालनमा आएको छ ।

दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयको सहयोगमा गाउँघरमा चिकित्सक कार्यक्रम सञ्चालन गरिएको हो।

अहिले स्वास्थ्य संरचनाअनुसार प्राथमिक स्वास्थ्य केन्द्रसम्म मात्रै डाक्टरको दरबन्दी भएकाले दुर्गमका नागरिकलाई चिकित्सकद्वारा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि यो कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगशप्रसाद भट्टले जानकारी दिनुभयो।

प्रत्येक स्थानीय तहका दुर्गम स्वास्थ्य चौकीमा गएर यो कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । एकीकृत स्वास्थ्य सेवा दिने उद्देश्यसहित गाउँघरमा चिकित्सक कार्यक्रम सञ्चालन गरिने भट्टको भनाइ छ। गाउँघरमा चिकित्सक कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुग्ने विश्वास गरिएको छ।

सो कार्यक्रमअन्तर्गत पहिलो कार्यक्रम पञ्चेश्वर स्वास्थ्य चौकीमा सम्पन्न गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। उक्त शिविरमा ३ सय ८७ जनाले सेवा लिएका छन्।

शिविरमा ८० जना गर्भवती महिलाको अल्ट्रासाउन्ड गरिएको छ भने २ सय ७९ चिकित्सकद्वारा समान्य स्वास्थ्य परीक्षण गराएका छन्। यस्तै शिविरमा २२ जनाले प्रयोगशाला सेवा र २० जनाले परिवार नियोजन सेवा लिएका छन्।

पञ्चेश्वर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको कार्यक्रममा गर्भवती महिलाको अल्ट्रासाउन्ड, चिकित्सकद्वारा ओपडी सेवा परिवार नियोजन सेवा, महिलाहरूको पाठेघरको मुखको क्यान्सरको चेक जाँचलगायतका सेवाहरू प्रदान गरिएका थिए।

दुर्गममा डाक्टरको सेवा उपलब्ध भएपछि स्थानीय खुसी भएका पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष बिना भट्टले जानकारी दिनुभयो। गाउँघरमा चिकित्सक कार्यक्रमअन्तर्गत पञ्चेश्वर स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा पाटन प्राथमिक स्वास्थ्य केन्द्रका डा. रोसना छुँकालगायतका स्वास्थ्यकर्मीहले सेवा दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्