मित्रता आफ्नो ठाउँमा छ, सीमा मिच्न दिइने छैन ः परराष्ट्रमन्त्री



विनोद सिंह विष्ट, बैतडी।

सरकारले घोषणा गरेको नेपाल ‘भ्रमण वर्ष २०२०’ लाई लक्षित गर्दै बैतडीको पञ्चेश्वर गाउँपालिकामा बिहीबारदेखि राष्ट्रनिर्माण महामहोत्सव शुरू भएको छ। महामहोत्सवको उद्घाटन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्नुभएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले कालापानी नेपालकै रहेको बताउनुभयो। भारतीय नक्सामा नेपालको भूमि राखिएको भन्ने कुरा सञ्चार माध्यमबाटै आफूले थाहा पाएको बताउँदै उहाँले भारतबाट आधिकारिकरूपमा कुनै जानकारी नआएको स्पष्ट पार्नुभयो।

कालापानी हाम्र्रै हो उहाँले भन्नुभयो– ‘नक्सामा नेपाली भूमि राखिएकोमा कुटनीतिक पहल भइरहेको छ।’हामीले विज्ञप्ति पनि निकालीसकेका छौं उहाँले थप्नुभयो– ‘मित्रता आफ्नो ठाउँमा होला तर एक इञ्च पनि सीमा मिच्न दिइने छैन’ यस्तै वर्षौंदेखि कुराकानी भइरहेको भएपनि अगाडि बढ्न नसकेको पञ्चेश्वर परियोजनाको काम पनि अगाडि बढाउने सहमति भइरहेको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘पानी आधा आधा हुन्छ, सहमतिमा जोड दिएका छौं’ भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणको लागि भारत सहमति नजिक रहेको पनि उहाँले जानकारी गराउनुभयो।

बैतडीमा पुल निर्माणको माग गर्दै ३७ दिनसम्म रिले अनशनसमेत बसेका कुरा थाहा भएको बताउँदै उहाँले भारत सहमति गर्न तयार रहेको जानकारी गराउनुभयो। उहाँले भन्नुभयो– ‘भारतका विदेश मन्त्री एस जयशंकरसँग प्रत्यक्ष भेटघाट गरिसकेका छौं, कृटनीतिक पहलमा छौं।’

एक फरक प्रसंगमा परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रनिर्माणका लागि सबैले एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। विकास निर्माण र सकारात्मक कामको लागि राजनितिक स्वार्थ त्याग्नुपर्छ उहाँले भन्नुभयो– ‘राजनितिक स्वार्थभन्दा माथि उठेर देश निर्माणको अभियानमा सबैले हातेमालो गर्नुपर्छ। ’

यसैबीच पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले परराष्ट्रमन्त्री ज्ञवालीलाई ७ बुँदे ज्ञापनपत्रसमेत बुझाउनुभएको छ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अगाडि बढाउनु पर्ने, पाटन–पञ्चेश्वर सडक पञ्चेश्वर बाधस्थलसम्म कालोपत्रे गर्नुपर्ने, पञ्चेश्वरस्थित महाकाली नदीमा झोलुंगे पुल निर्माण गर्नुपर्ने, छोटी भन्सार कार्यालय स्थापना हुनुपर्नेलगायतका ७ बुँदे मागसहित ज्ञापनपत्र बुझाउनुभएको हो।

महामहोत्सव उद्घाटनपछि परराष्ट्रमन्त्री ज्ञवालीले पञ्चेश्वर परियोजनाको बाधस्थलको पनि अनुगमन गर्नुभएको छ।
समग्र बैतडीकोे औद्योगिक विकासका लागि लोक कल्याणकारी ट्रस्ट महा–अभियानअन्तर्गत महोत्सवको आयोजना गरिएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो।

बैतडीको पञ्चेश्वरमा गुमनाम रहेका पञ्चेश्वर धाम, देवताल, गणमेश्वर धाम लगायतको विकाससँगै औद्योगिक ग्राम विस्तारका लागि महोत्सवबाट सहयोग पुग्ने विश्वास लिइएको छ।

लोककल्याणकारी राष्ट्र निर्माण ट्रस्ट सेवाको संयोजनमा पञ्चेश्वर गाउँपालिका–३ कुलाउमा सञ्चालन हुने महोत्सव मंसिर दुई गते सम्पन्न हुनेछ। महोत्सव अवधिभरमा संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्रीलगायत विभिन्न विशिष्ट व्यक्तित्वको पनि उपस्थिति रहने भएको छ।

 

प्रतिक्रिया दिनुहोस्