डाक्टर केसीको माग सम्बोधन गर्न आग्रह



डोटी, (नेस)।

डडेल्धुरा पुगेर १७औं सत्याग्रह शुरू गरेका डा. गोविन्द केसीले राखेका मागमा डोटीका विभिन्न पाँच वटा संघसस्थाले ऐक्यवद्धता जनाएका छन्।

डोटी उद्योग वाणिज्य संघको नेतृत्वमा डडेल्धुरा पुगेको टोलीले डाक्टर केसीले राखेका मागमा ऐक्यवद्धता जनाएको हो।

उद्योग वाणिज्य संघसँगै गैरसरकारी संस्था महासंघ डोटी, शैलेश्वरी यातायात व्यवसायी संघ डोटी, होटल व्यवसायी संघ डोटी र त्रिवि प्राध्यापक संघ डोटीले डाक्टर केसीका माग पूरा गर्न सरकार समक्ष माग पनि गरेका छन्।

सयुक्तरूपमा विज्ञप्ति जारी गर्दै डाक्टर केसीले उठाएका माथ जनताको पक्षमा रहेको उल्लेख गरिएको छ। डाक्टर केसीले स्वास्थ्य तथा चिकित्सा क्षेत्र सुधारका लागि पटकपटक सरकारले गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै अनशन शरू गरेका थिए।

केसीले अनशन शुरू गरेको तेस्रो दिनमै उनको स्वास्थ्यमा समस्या देखिन थालेको चिकित्सकले बताएका छन्।
रक्तचाप निकै कम हुँदा केसीलाई रिंगटा लाग्ने समस्या देखिएको छ।

डडेल्धुरा अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कँडेलले पहिलो र दोस्रो दिनको तुलनामा केसीको स्वास्थ्य अवस्था कमजोर बनेको बताए।

चिसो भएकाले डाक्टर केसीको स्वास्थ्यमा झन् प्रतिकूल असर पर्न सक्ने पनि कँडेलले बताए। गत भदौमा डडेल्धुरा आउँदा उनले आफ्नो अर्को अनशन डडेल्धुराबाट शुरू हुने बताएका थिए।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्