घामड शेरे र जीवन काँडा कि फूल सँगै



एउटा घामड पात्रको कथामा बनेको फिल्म घामड शेरे र साहित्यकार झमक घिमिरेको लोकप्रिय कृति जीवन काँडा कि फूलमा आधारित फिल्म जीवन काँडा कि फूल आज शुक्रबार एकसाथ रिलिजमा आउने भएको छ।

हेमराज बिसीको निर्माण एवं निर्देशन रहेको फिल्ममा अभिनेता तथा निर्देशक निश्चल बस्नेत र अभिनेतृ स्वस्तिमा खड्का साली–भिनाजुको भूमिकामा छन्।

यसमा निश्चल घामड पात्रका रूपमा प्रस्तुत भएका छन्। उनी कतिसम्म घामड पात्र भएर देखिएका छन् भने खोलालाई समेत मुद्दा हाल्न पुग्छन्।

फिल्ममा निश्चल र स्वस्तिमाको साथमा सुष्मा निरौला, गौरी मल्ल, बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याललगायतले अभिनय गरेका छन्।

फिल्मको हिजो बिहीबार भक्तपुरस्थित क्यूएफएक्स हलमा प्रिमियर शो गरिएको छ। फिल्ममा कालीप्रसाद बास्कोटाको संगीत, प्रदीप लामा र प्रमोद भण्डारीको कारियोग्राफी, नरेन्द्र मैनालीको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।

त्यसै गरी जीवन काँडा कि फूल विनोद विष्टको निर्माण र निर्देशनमा बनेको छ। फिल्ममा झमक सानो छँदाको भूमिकामा सिलगुडीकी अवस्था थापा र ठूला हुँदाको भूमिकामा काठमाडौंकी रोजिता बुद्धाचार्यले अभिनय गरेकी छन्। झमकको बहिनीको भूमिकामा बाल कलाकार स्विकृति शर्मा र ठूलो हुँदाका भूमिकामा सारिका घिमिरे, बुबाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरी, हजुरआमाको भूमिकामा मेनुका प्रधानलगायत ३० भन्दा बढी कलाकारले यसमा अभिनय गरेका छन्।

झमक घिमिरेको कथा र मुक्ति उपाध्याय बरालको पटकथा रहेको फिल्ममा झमक र प्रकाश शिवाकोटीको गीत रहेको छ। प्रकाशकै संगीत, कमल राईको नृत्य निर्देशन, शिव ढकालको छायांकन र तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्