सुशीलाको पृथक् महिला



सामाजिक अभियन्ता सुशीला भुसालले आत्मसंस्मरणात्मक कृति ‘पृथक् महिला’ ल्याएकी छन्। लैंगिक समानता, महिला सशक्तीकरण, प्राकृतिक स्रोत व्यवस्थापन, सामाजिक न्याय तथा मानव अधिकारलगायतका क्षेत्रमा सक्रिय भुसालले ती क्षेत्रका अनुभवदेखि आफ्नो निजात्मक अनुभूतिसम्मलाई कृतिमा उतारेकी छन्।

‘एउटा बिन्दुमा पुगेपछि अनुभूतिहरू लेखनको ऊर्जा बन्दोरहेछ’, राजधानी बस्दै आएकी रूपन्देहीकी भुसालले भनिन्– ‘एक सामान्य मान्छेले काम गर्ने सिलसिलामा भोग्ने आन्तरिक तथा बाह्य प्रतिकूलता र त्यसविरुद्धका संघर्षमा चालिएका पाइलाका डोब नै पुस्तकको रचनागर्भ हुन्।’

साहित्यकार एवं संस्कृतिविद् मोदनाथ प्रश्रितले भुसालभित्र एक कुशल लेखकीय व्यक्तित्व लुकेर बसेको बताउँदै उनको कृतिमा जीवनका विविध घटनाक्रम, तिनको अनुभव र चेतनाको गहिराइ सबल र सरसरूपमा प्रकट भएको बताएका छन्।

त्यस्तै साहित्यकार सुधा त्रिपाठीले भुसालको कृतिमा लैंगिकदेखि जातीय र वर्गीय असमानताका सन्दर्भहरू पनि रहेको औंल्याएकी छिन्।

प्लाटिनम पब्लिकेसनले छापेको कृतिमा ‘कथित दलित समुदायबीच एउटी बालिका’, ‘टोपे सुजीकोमा पानी पिएँ घटघट’, ‘श्याम वर्णको मान्छे’ लगायत ५१ सिर्जना छन्।

प्रतिक्रिया दिनुहोस्