ब्लुक्रस मृत्यु प्रकरण : ‘बुबाको मृत्यु भइसकेछ अस्पतालले भनेन’



भगवती तिमल्सिना, काठमाडौं।

ब्लुक्रस अस्पतालमा उपचारका क्रममा गत शुक्रबार मृत्यु भएका शेरबहादुर खत्रीकी छोरी देवी खत्रीले बुबाको मृत्यु भइसक्दासम्म अस्पतालले समयमा नै जानकारी नगराउँदा ज्यादै पीडाबोध भएको बताउनुभएको छ।

बिहीबार नेपाल समाचारपत्र दैनिकसँगको कुराकानीमा उहाँले भन्नुभयो– ‘गल्ती गरें भनेर अस्पतालले भन्दै भन्दैन।
डाक्टरहरूले ढोका बन्द गरेर यताउति गरिरहेको देखेपछि आफैंले ढोका ढक्ढक्याएर हेरेपछि थाहा पायौं। अन्तिम अवस्थामा डाक्टरले एसएमएसको उत्तरसमेत दिनुभएन।’

डाक्टरहरूबाटै फरकफरक जानकारी आउँदा यस्तो अवस्था आएको भन्दै उहाँले सुनाउनुभयो– ‘बुबालाई गाह्रो भएको छ भनेको भए मैले हेर्थें र आफन्तलाई बोलाउँथें। डाक्टरहरूले सहानुभूतिसम्म देखाएनन्।’

बुबाको आत्माले शान्ति पाओस् भनेर १३ दिनको काम राम्ररी गर्न लागेको बताउँदै खत्रीले थप्नुभयो– ‘प्रशासनले अस्पतालको लापरबाही नभएर उपचारकै क्रममा यस्तो भएको भनेर जिकिर गर्यो।

डाक्टरहरू अगाडि नै आएनन्।’‘कानुनी रूपमा जाँदा मुद्दा लड्नुपर्ने झन्झट भएकाले त्यतातिर लाग्न सकिएन। डाक्टरको डाक्टर नै साथी हुन्छ। पोस्टमार्टम हेर्ने पनि डाक्टर नै हुन्छ।’ –उहाँले भन्नुभयो।

यद्यपि खत्रीले यतिबेला अस्पतालसँग कुनै गुनासो नभएको दाबी गर्दै भन्नुभयो– ‘बुबा गइसक्नुभयो, आउनुहुन्न भन्ने लागेर दुवै पक्षको हस्ताक्षर गरेर कागज बनाएका छौं। प्रशासनका रजत श्रेष्ठसँग सम्झौता भएको छ।

३ वर्षको भाइलाई अध्ययन गराउन के गर्ने भन्ने कुरा १३ दिनको कामपछि गर्ने भन्ने छ। अस्पतालले उपचारको सम्पूर्ण खर्च मिनाहा गरिदिने बताएकाले केही गर्न सकिएन।’

अस्पतालले भाइलाई पढाइदिने भनेको कुरालाई सकारात्मक मान्दै खत्रीले भन्नुभयो– ‘पीडा भएको बेला युटुबमा के बोलियो थाहै भएन।

गाह्रो भएको कुरा बताएको भए त्यति बोल्ने पनि थिएनौं। शुरूमा जस्तै अन्तिममा जानकारी नगराएकाले त्यति भन्नु जायज नै थियो।’

खत्रीले अस्पताल र आफूहरूबीच भएको सम्झौता कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ।तर पछिल्लो समयमा यस्ता घटनामा अस्पताल र पीडित बिरामीका पक्षबीच मात्रै यस्ता सम्झौता हुँदा र मेडिकल काउन्सिल सक्रिय नबन्दा समाजमा गलत नजीर बस्दै जाने यस क्षेत्रका विज्ञहरू बताउँछन्।

बिरामीलाई ठीक हुन्छ भनेको हो

डा. प्रज्वलमान श्रेष्ठ

प्रेसर र सुगरका बिरामी ५४ वर्षीय शेरबहादुर खत्री धेरै अस्पतालमा उपचार गराएर ठीक नभएपछि दाहिने कुमको दुखाइले हात चल्नै नसकेको अवस्थामा दशैंअघि हामीकहाँ आउनुभयो।

तर उहाँलाई घाँटीको कुरकुरे हाडले हात चलाउने दायाँ साइडको नसालाई नराम्ररी थिचेर यस्तो समस्या भएको थियो।

सुगर पनि समस्या भएकाले म र मधुमेह विशेषज्ञ डा. अजय प्रधानको निगरानीमा भर्ना गर्यौं। औषधीले काम गर्न तीन दिन लाग्यो, तैपनि दुखाइ कम भएन।

चौथो दिनमा सुगर र दुखाइ कम गराएर गर्धन र कुमको एमआरआई गराउँदा दायाँ हात चलाउने सि सेभेन नर्भ नराम्रोसँग थिचिएको थाहा भयो।

त्यसलाई अप्रेसन गर्दा अहिलेको समस्याबाट मुक्त भइन्छ भनेर बिरामीका आफन्तलाई सबै कुरा बुझाइएको थियो।

बिरामी स्वयं र बिरामीका आफन्तलाई यसबाट हुनसक्ने जटिलताबारे बुझाएरै बेलुका ६ बजे म र स्पाइन सर्जन डा. राम बाराकोटीसहित अरू डाक्टरको टिमले २ घण्टा शल्यक्रिया गर्यो।

शल्यक्रियापछि पनि बिरामीले होसमा आएर हातखुट्टा चलाउनुभयो। भोलिपल्ट बिहान बिरामीको भिजिटरले सुप खुवाउनुभयो। बिरामी र बिरामीका आफन्तबीच राम्रो कुराकानी भयो।

पुनः एक घण्टापछि पनि अर्का आफन्तसँग कुराकानी गरेर केही खानुभयो। झन्डै ८ बजेतिर बिरामीलाई पोस्टअप एक्सरे गरेको केही मिनेटपछि सास फेर्न गाह्रो भएकाले ट्यूमा राखियो।

त्यसपछि आईसीयूमा लगेर भेन्टिलेटरमा राखियो। भेन्टिलेटरमा राखेको केही समयपछि सिजर (काप्ने रोग जस्तो) देखियो। तुरुन्तै सिनियर कन्सल्ट्यान्ट न्युरो फिजिसियन डा. डिबी शाहलाई देखायौं।

उहाँ र क्रिटिकल केयर, वीर अस्पतालको सिनियर कन्सल्ट्यान्ट, एनेस्थेसियोलोजिस्ट र क्रिटिकल केयर स्पेसलिस्ट डा. रबिराम श्रेष्ठ, डा. प्रदीप वैद्य, डा. बिन्दु तथा पल्स न्यूरो फिजिसियनको टिमले सुगर र ब्लडप्रेसरको बिरामी भएकाले शरीरको कुनै अंगबाट माइक्रोइन्भोलिजम गएर ब्रेनमा हान्दा ब्रेन इन्जुरी भएको पत्ता लगायो। यस्तो हजारांैमा एक दुई जनालाई हुन्छ, जुन शल्यक्रियाअघि थाहा हुने कुरा संसारमा कँही पत्ता लागेको छैन।

सिजर नआओस् भनेर लठ्याउने औषधि दिइयो। उक्त औषधि बन्द गरेको ४ देखि ६ घण्टामा फेरि होसमा आउनुहुन्छ भन्ने हाम्रो आशा थियो। यसबारे पनि बिरामीको भिजिटरलाई काउन्सिलिङ गरेका थियौं।

दुर्भाग्य उहाँ होसमा नआएपछि तुरुन्तै सिटी स्क्यान गर्यौं। दोस्रो दिनको सिटी स्क्यानमा केही नराम्रो नदेखिएकाले बिरामी होसमा फर्कने आशा पलायो।

चौँथो दिनमा बिस्तारै डीपबेडमा आँखा खोल्ने, हातखुट्टा हल्का चलाउने र हाई गर्ने जस्ता कृयाकलाप देखाउनुभयो। तर सात दिनसम्म अरू कुनै सुधार नभएपछि एमआरआई गरियो।

एमआरआईपछि रिपोर्टमा बे्रनका महत्वपूर्ण बनोटहरूमा स्टीमिया रगत जमेर केही भाग खराबी भएको देखिएकाले बीर अस्पतालका चीफ न्यूरोसर्जन डा. प्रकाश विष्ट र उहाँकै कलिङ चिफ न्यूरो फिजिसियन डा. सुनिल कोइरालालाई बोलायौँ।

डा. डिबी शाह, डा. हिमोबसमेतले प्रयास गर्दा पनि सुधार भएन। १०–१२ दिनको क्रिटिकल केयरको सुझावअनुसार सेन्टर्ल लाइन भनेर घाटीबाट पाइप राख्यौं। भेन्टिलेटरमा राखेको बिरामी धेरैको निमोनिया डेभलप हुन्छ।

कल्चरका सेन्सेटिभ औषधिहरू दिएर त्यसलाई पनि नियन्त्रणमा ल्यायौं। बिरामीलाई दुई हप्ताभन्दा बढी भेन्टिलेटरमा राख्न मिल्थेन।

सिनियर कन्सल्ट्यान्ट ईएनटी सर्जन डा. किरण राई र डा. सुमन डंगोल मिलेर ट्रयाकोस्टोमी गर्दा धेरै हदसम्मको निमोनिया घट्यो।

शुक्रबार दिउँसो उहाँको हर्टबिटले काम गर्न छोड्यो। तत्कालै एकघण्टा कार्डियो पल्मरी स्टेसन (सिपीआर) गर्यौं। जति कोशिस गर्दा पनि बचाउन सकिएन शल्यक्रिया गरेको एकमहिना जतिमा गत शुक्रबार उहाँको मृत्यु भयो। अस्पतालको पुरै टिमको मेहनतले पनि उहाँलाई बचाउन नसक्दा दुःख लागेको छ।

हाम्रो आईर्सीयू, डाइरेक्टरको कक्ष, शल्यक्रिया कक्ष बाहिर कलर सीसीटीभी राखेकै हुन्छ त्यहाँ हेर्दा पनि थाहा हुन्छ। हरेक स्टेपबारे बिरामीका आफन्तलाई दिनमा ६ पटकसम्म परामर्श गरेका छौं।

हामीसँग अडियो भिजुअल सुरक्षित छ। बिरामीका आफन्तले बाहिर गएर गलत भन्नुभयो। हातको समस्याले आएको घाटी रेटीरेटी मार्यो भन्नुभएको छ। नसा खोल्नलाई घाटीको अगाडि भागमै शल्यक्रिया गरिन्छ।

सर्भाइकल कड खोल्न, पेरिपिरल लाइन र ट्याकोस टोमी ३ वटा कुरा घाटीमै गरेको हो। सीपीआर छाती मुटुको एरियामा थिचेर नै गर्ने हो।

फ्ल्याट इसीजीमा रोकिना साथ मान्छे मर्दैन। कतिपय अवस्थामा सीपीआर गरेर पनि फर्किन्छ। यो अन्तर्राष्ट्रिय सिस्टम हो।

बिरामीको पक्षले ४० लाख खर्च भयो भनेर नराम्रा कुरा बाहिर फिजाएको छ। यो तीनगुणा बढी भयो। दिनको आठ नौ वटा अण्डा, सुप डाक्टर नर्सले खायो भन्नु गलत हो।

हामीले डाइटीसियन नानी शोभाको रिफरमा एनजी ट्यूबाट बिरामीलाई नै खुवाएको हो। मैले नै बिरामीलाई ठीक हुन्छ भनेको हो तर १ देखि ५ प्रतिशतमा मृत्यु पनि हुन्छ।

सबैको भाग्य राम्रो भएको भए ७५ प्रतिशत राम्रो हुन्थ्यो। १५ प्रतिशत शरीर नचल्ने हुन्थ्यो तर यी सबै कुरा मैले भनेको थिएँ। उहाँहरूले नराम्रा कुरा मात्र गर्नुभयो। हामीले भनेका सम्भावित कुरा भन्नुभएन। यसमा दुःख लागेको छ।
(ब्लुक्रस अस्पतालका सिनियर कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन अर्थात् मेडिकल डाइरेक्टर श्रेष्ठसँग कुराकानीमा आधारित)

यो हेर्नुहोस् भिडियो….

त्रिपुरेश्वर अस्पतालमा बिरामीको घाटी रेटी हत्या गरे डरलाग्दो हेर्नुहोस्। मोबाइलमा गोप्य प्रमाण भेटियो।

Posted by मेरो मनको साथी on Sunday, November 3, 2019

 

 

प्रतिक्रिया दिनुहोस्