रोल्पामा ७० एचआईभी संक्रमित भेटिए



महेश न्यौपाने, रोल्पा।

रोल्पामा एचआईभी एड्सबाट हालसम्म ७० जना संक्रमित भएका छन्। संक्रमित मध्ये १५ जनाको मृत्यु भइसकेको छ। जीवित ५५ जना सबैले नियमितरूपमा औषधी खाइरहेको बताइएको छ। रोल्पा घर भई जिल्ला बाहिरबाट औषधी सेवन गर्नेको संख्या १७ रहेको छ।

३८ जनाले रोल्पा प्लसको नियमित निगरानी तथा परामर्शमा औषधी सेवन गरिरहेको रोल्पा प्लसले जानकारी दिएको छ।

घरधुरी भेटघाट गरी रगत परीक्षण गर्ने क्रममा अघिल्लो वर्ष १ जना र चालू आर्थिक वर्षमा नयाँ ३ जना संक्रमित फेलापरेको रोल्पा प्लसका अध्यक्ष राधा विकले जानकारी दिनुभयो।

‘पछिल्लो पटक एउटै परिवारका तीन जना नयाँ संक्रमित पहिचान गरेका छौं’ –अध्यक्ष विकले भन्नुभयो।

श्रीमान् श्रीमती र उनीहरूको एक बच्चासमेत संक्रमित भएको भेटियो अध्यक्ष विकले भन्नुभयो। संक्रमित मध्ये महिलाको संख्या बढी रहेको रोल्पा प्लसले जानकारी दिएको छ।

चेतनाको अभावका कारण संक्रमितहरू खुल्न चाहँदैनन्। नियमित औषधी सेवन गरे एचआईभी अन्य रोग जस्तै सामान्य भए पनि संक्रमितहरू नखुल्नाले समस्या आएको अध्यक्ष विकले बताउनुभयो।

ग्लोबल फन्डको सहयोगमा रोल्पामा एचआईभीको रगत परीक्षण, औषधी वितरण जस्ता काममा प्राविधि आर्थिक तथा परामर्श सेवा दिइरहेको छ।

एचआईभी संक्रमितको साझा संस्था रोल्पा प्लसमार्फत जिल्लामा उक्त कार्यक्रम संचालन भइरहेको छ।

‘एचआईभी बारे मानिसमा अझै पनि परम्परागत धारणा रहेका कारण संक्रमित खुल्न चाहँदैनन्’ – जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बढाले भन्नुभयो।

संक्रमितको संख्या यो भन्दा पनि बढी हुन सक्ने रोल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख बुढाले भन्नुभयो।

यसको परम्परागत बुझाइ र धारणामा परिवर्तन ल्याउन प्रचारात्मक कार्यक्रममा जोड दिनुपर्छ प्रमुख बुढाले भन्नुभयो।

छिमेकी जिल्लाको तुलनामा रोल्पामा संक्रमितको संख्या केही कम भए पनि समयमै सचेत नबने यसको समस्या भयावह हुन सक्ने बताइन्छ।

रोजगारीको सिलसिलामा भारत जानेहरू यो रोगबाट बढी संक्रमित हुने र उनीहरूबाट अरुमा सर्ने गरेको बताइन्छ। रोल्पाबाट रोजगारीका लागि भारत जानेहरूको संख्या उल्लेख्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्