जनताको मनोबल बढ्ने काम गर्न मन्त्री बस्नेतको आग्रह



बासुदेव शर्मा, जाजरकोट।

जाजरकोटमा भएको समीक्षा गोष्ठीलाई सम्बोधन गर्न खलंगा आउनुभएका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जनताको मनोबल बढाएर काम गर्न सरोकारवाला निकाय, नागरिक समाजलाई आग्रह गर्नुभएको छ।

जाजरकोटका सातवटै स्थानीय तहमा नागरिकको आवश्यकताअनुसार विकास निर्माणका योजना सञ्चालन गरी जाजरकाटेली जनतालाई सुविधा सम्पन्न बनाउन टेलिफोन टावर निर्माण गर्न, वर्षौदेखि अलपत्र परेका सडक निर्माणका योजनालाई सुचारु गर्न उहाँले आग्रह गर्नुभएको थियो।

एक दशकदेखि अलपत्र परेका जाजरकोट–पाँचकाटिया हँुदै जुम्ला जोड्ने सडक जाजरकोट, रिम्ना–कालिमाटी हँुदै डोल्पा, छेडा थलह सडक, खानेपानी समस्यालगायत छिन्चु जाजरकोटभित्र पर्ने भेरी करिडोरलाई मुख्य प्राथमिकता दिएर योजना सञ्चालन गर्न पनि मन्त्री बस्नेतले आग्रह गर्नुभयो।

मन्त्री बस्नेतले भेरी करिडोरअन्तर्गत रिम्ना–कालिमाटी सडक खण्ड यसै आर्थिक वर्षमा स्तरउन्नतिको काम शुरू हुने बताउनुभयो। ‘वातावरणीय प्रभाव मूल्यांकनको काम करिब सकिएकोले अब काम शुरू हुन्छ’ –उहाँले भन्नुभयो।

खलंगा पाँचकाटियाको एक दशकदेखि अलपत्र परेको सडक निर्माणका लागि बजेट निर्धारण गरी केही समयभित्र काम शुरू हुने मन्त्री बस्नेतले जानकारी दिनुभयो।

जिल्लाका अधिकांश ठाउँमा सडकको ट्रयाक खोल्ने काम भएकोले पहिलो चरणमा स्थानीय तहमा ट्रयाक खोलिएका सडकलाई पिच गर्नेे मन्त्री बस्नेतले बताउनुभयो।

मन्त्री बस्नेतले सडक निर्माण नै विकासको पहिलो आधार भएकाले सडक निर्माण भएपछि गाउँमा उत्पादित वस्तुहरू बजारसम्म पुर्याउन र बजारमा भएका नयाँ वस्तु गाउँसम्म ल्याउन सहज हुने हुँदा अर्थोर्पाजनको मूल आधार शुरू हुने भएकाले सडकलाई पहिलो प्राथमिकता राखी काम गर्ने बताउनुभयो।

नकारात्मक कुराहरूको प्रचार बढी हुने गरेकोले जाजरकोटमा सकारात्मक केही राम्रा काम पनि भएकोले राम्रा कुराहरूको पनि प्रचार गर्न पत्रकारलाई सुझाब दिनुभएको थियो। केही भएको छैन भनेर कुप्रचार मात्र भयो, सकारात्मक कामको प्रचार गर्न आग्रह गर्नुभयो।

जिल्लामा केही हँुदैछ भनेर मनोबल बढाऔं, मनोबल गिरेको मानसिकताले विकास गर्न सकिँदैन कसरी जाजरकोटको समृद्ध हुन्छ त्यतातिर पनि सबैको ध्यान जान जरुरी रहेको मन्त्री बस्नेतले बताउनुभयो।

जाजरकोटमा निर्माण गर्ने सडकहरू प्राथमिकतामा राखेर काम गर्न सडक डिभिजन कार्यालयलाई आग्रह गरेकोले जाजरकोटमा आएको बजेट खर्च गर्न नसक्दा समस्या भएकोले नागरिक सचेत भएर खबरदारी गर्न सुझाब दिनुभयो।

जिल्लाका ३ स्थानमा विद्युत प्रशारणका लागि सबस्टेसन निर्माण गर्न लागिएकोले जनताको मनोबल नबढाई जिल्लाको प्रतिष्ठा नबढ्ने भएकोले जनताको मनोबल बढाउन सबै सरोकारबाला लाग्नुपर्ने मन्त्री बस्नेतले बताउनुभयो।

सातवटै पालिकाहरूले स्थानीय सरकारले गरेका कार्यक्रमलगायत योजनाहरूको समीक्षा गोष्ठीमा प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्