बार्सिलोनालाई प्रागले रोक्यो



लन्डन, (एजेन्सी)।

च्याम्पियन्स लिगको समूह चरणअन्तर्गत मंगलबार राति भएको खेलमा स्पेनी टोली बार्सिलोना स्लोभिया प्रागसँग गोलरहित बराबरीमा रोकिएको छ। घरेलु मैदानमा भएको खेलमा गोल गर्न नसक्दा बार्सिलोनाले अंकसमेत बाँड्नु पर्यो।

लियोनल मेसीले घरेलु मैदानमा भएको च्याम्पियन्स लिगको समूह चरणको खेलमा कुनै पनि एसिस्ट र गोल गर्न नसकेको सन् २०१२ यताको यो पहिलो खेल भएको बताइएको छ। त्यस्तै अर्को खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले जिंकलाई २–१ ले पराजित गर्यो।

घरेलु मैदानमा लिभरपुलले १४औं मिनेटमा विज्नाल्डमको गोलबाट अग्रता लिएको थियो।
४०औं मिनेटमा समत्ताले जिंकका लागि गोल फर्काउँदा पहिलो हाफ १–१ को बराबरीमा रोकिएको थियो। खेलको ५३औं मिनेटमा लिभरपुलका अक्सिलेड च्याम्बरलेनले निर्णायक गोल गरे।

यही समूह ‘ई’ मा इटालियन क्लब नेपोली र अस्ट्रियन क्लब साल्जवर्गले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। नेपोली ८ अंकसहित दोस्रो स्थानमा छ।

साल्जवर्ग ४ अंक जोडेर तेस्रो स्थानमा छ।
त्यस्तै गरी जर्मन क्लब आरबी लेइप्लिज र फ्रेन्च क्लब लियोनले यूइएफए च्याम्पियन्स लिग फुटबलमा जित हात पारेका छन्।

लेइप्लिजले रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गलाई २–० को सहज जित निकालेको हो। टोलीको जितमा डिएगो डिमी र मार्सेल सवित्जेरले गोल गरे। जितसँगै लेइप्लिज समूह ‘जी’ मा ९ अंक जोडेर शीर्षस्थानमा यथावत छ।

यही समूहको अर्काे खेलमा घरेलु टोली लियोनले बेन्फिकामाथि ३–१ को जित निकाल्यो। टोलीको जितमा जोचिम एन्डरसन, मेम्फिस डिपे र बर्टरान्ड ट्राओरेले गोल गरे। बेन्फिकाका हरिस सेफरोभिकले गोल गरे। जितसँगै लियोन ७ अंक जोडेर दोस्रो स्थानमा छ।

बेन्फिका ३ अंकसहित पुछारमा छ। त्यस्तै जर्मन क्लब बोरुसिया डर्टमन्डले दुई गोलले पछि परेको स्थिति उल्ट्याउँदै इन्टर मिलानमाथि ३–२ को स्वादिलो जित हात पार्यो। सो खेलमा घरेलु टोली डर्टमन्डलाई जिताउन अचराफ हाकिमीले दुई तथा जुलियन ब्रान्डले एक गोल गरे।

इन्टरका लोउटारो मार्टिनेज र माटिस भिसिनोले गोल गरेका थिए।खेलको पाँचौ मिनेटमा नै मार्टिनेजले र ४०औं मिनेटमा भिसिनोले गोल गरेपछि डर्टमन्ड पहिलो हाफमा २–० ले पछाडि परेको थियो।

दुई गोलले पछि परेपछि डर्टमन्डले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गर्न सफल भयो। ५१औं मिनेटमा अचराफ हाकिमीले मारियो गोट्जेको पासमा गोल गर्दै डर्टमन्डलाई खेलमा २–१ को अवस्थामा ल्याए। ६४औं मिनेटमा जुलियनले बराबरी गोल फर्काए।

७७औं मिनेटमा अचराफ हाकिमीले व्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गरेपछि डर्टमन्डले स्पष्ट ३ अंक जोड्न सफल भयो।

जितसँगै डर्टमन्डले समूह ‘एफ’ मा ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। पराजित इन्टर मिलान ४ अंक जोडेर तेस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्