आर्मी सेमिफाइनलमा



नेपाल समाचारपत्र, झापा।

भारतको पाहुना टोली मोलवे एफसी असामलाई हराएर त्रिभुवन आर्मी क्लब अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बुधबार भएको तेस्रो क्वाटरफाइनल खेलमा असामलाई २–० गोलले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

निर्धारित ८० मिनेटको खेलमा आर्मीले पहिलो र दोस्रो हाफमा समान १–१ गोल गरेको हो। टोलीका लागि टेकबहादुर बुढाथोकी र दिपक गुरुङले गोल गरेका थिए।

खेलको छैटो मिनेटमै गोल गरेर आर्मीले अग्रता लिएको थियो। जसमा टेकबहादुरले सम्झनलायक गोल गरेका थिए। दायाँ कर्नरबाट टंक बस्नेतले दिएको एयर बललाई चिप गर्दै उनले गोलपोस्टको दिशा दिएका थिए।

प्रतिस्पर्धात्मक खेलमा अधिकांश समय आर्मीले असामको गोलपोस्टमा आक्रमण बनेको थियो। त्यस्तै, असामले आर्मीविरुद्ध संघर्षपूर्ण प्रदर्शन गरेर झापाली दर्शकको समर्थन बटुलेका थिए। तर, असामका खेलाडीको फ्रन्ट लाइनमा फिनिसिङ राम्रो नहुँदा स्कोर भने हुन सकेन।

यस्तै असामका गोलरक्षक अल्वर्ट ह्मारको कमजोरीले आर्मीले अग्रता दोब्बर बनाएको थियो। ७४औं मिनेटमा पाएको फ्रिकिकमा दीपक गुरुङको प्रहार गोलमा परिणत भएको थियो।

दीपकको सोझै प्रहार गोलरक्षक अल्वर्टको हातमा परे पनि बल फुत्किएर जाली चुमेको थियो। म्यान अफ दी म्याच टेकबहादुरले उत्कृष्ट हुँदै नगद १० हजार प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्