मध्यमोदीको सुरुङ ब्रेक थ्रुु



नेपाल समाचारपत्र, पर्वत।
पर्वतको मोदी गाउँपालिकामा चौधरी ग्रुपले निर्माण गरिरहेको १५.१ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङ खोल्ने काम (ब्रेक थ्रु) भएको छ। आयोजनाको दुई हजार ६ सय ९४ मिटर लामो सुरुङको ब्रेक थ्रु भएको हो।

सुरुङको हेर्डबक्सदेखि १ हजार ५ सय ५० र पावरहाउसदेखि १ हजार सय मिटरको बीचमा ब्रेक थ्रु भएको आयोजनाले जनाएको छ। सुरुङ खोल्ने काम सम्पन्न भएसँगै अब ‘कङक्रिटिङ’को काम शुरु भएको आयोजनाका वरिष्ठ जनसम्पर्क अधिकृत अशोक आचार्यले जानकारी दिनुभयो।

आयोजना शुरु भएको झण्डै पाँच वर्षमा सुरुङ खोल्ने काम सकिएको हो। ‘सबैभन्दा गाह्रो कामका रुपमा रहेको सुरुङ सफल रुपमा खोलिएको छ, अब अन्य संरचनामा जनशक्तिलाई केन्द्रित गर्छौ,’ आचार्यले भन्नुभयो।

निर्माणकार्य शुरु भएपछि वि.सं २०७२ को भूकम्प, नाकाबन्दी र समय–समयमा स्थानीयबासीको आन्दोलनका कारण समस्या झेल्दै आएको आयोजनाले हालसम्म ७५ प्रतिशत निर्माणको काम सम्पन्न भएको जनाएको छ।

आयोजनाको हेर्डबक्सको काम अधिकांश सकिएको छ भने उत्पादन गृहको कामसमेत सोमबारबाट शुरू भएको वरिष्ठ जनसम्पर्क अधिकृत आचार्यले जानकारी दिनुभयो। मोदीखोलाको आडैमा निर्माण हुने उत्पादन गृह वर्षायाममा पानी जमेर काम गर्न नसक्ने अवस्था भएकाले ढिलाइ भएको हो पटक–पटक पावरहाउसको काम शुरु भए पनि खोलाका कारण सम्भव हुनसकेको थिएन।
‘सोमबारदेखि मेसिन लगाएर पावरहाउसको पूर्वाधार निर्माणको काम शुरु गरेका छौ,’ आचार्यले भन्नुभयो–‘अब धमाधम काम हुन्छ।’ सुरुङ तथा हेर्डबक्सतर्फ फिनिसिङको काम शुरु भएको र पावरहाउस निर्माणका लागि तीव्ररुपमा काम भइरहेको उहाँले जानकारी दिनुभयो।
मोदी–१ मा पर्ने भुकताङले र वडा नं २ मा पर्ने देउपुरमा निर्माणाधीन यो आयोजनाको सम्झौता अवधि सकिन झण्डै एक वर्ष बाँकी रहँदासम्म ७५ प्रतिशत काम सम्पन्न भएको छ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत वीरेठाँटी र मोदी–१ भुकताङ्लेको सिमानामा पर्ने सिमखेतमा बाँध निर्माण गरी पर्वतको मोदी–२ देउपुरको बेतेनीसम्म दुई हजार ६९४ मिटरको सुरुङमार्फत ल्याइएको पानी ७७ मिटर लामो टेलेरेसमार्फत मोदीखोलामा मिसाउने योजना छ।
झण्डै दुई अर्ब ८० करोडको लागत अनुमान गरिएको आयोजनाले गत मङ्सिरभित्र उत्पादन दिने लक्ष्य रहे पनि भूकम्प, नाकाबन्दीलगायतका कारणले दुई वर्ष म्याद थपिएको थियो।

वि.सं २०७१ देखि शुरु भएको आयोजना २०७७ असारसम्म सम्झौता अवधि कायम रहको छ। सम्झौता अवधि अब झण्डै नौ महिना बाँकी रहेकाले उक्त समयभित्र उत्पादन थाल्ने गरी आयोजनाको काम तीव्र पारिएको आचार्यले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्