थला परेको निगमलाई नाफामा लैजाने दाबी



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल वायुसेवा निगमको स्थिति क्रमशः सुधारोन्मुख देखिएको कार्यकारी अध्यक्ष मदन खरेलको दाबी छ। बुधबार सञ्चारकर्मीसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले एयरलाइन्सको स्थिति विस्तारै सहज हुँदै गएको दाबी गर्नुभएको हो।

उहाँले विभिन्न उपाय लगाएर एक वर्षको अवधिमा २ अर्ब १७ करोड रुपियाँ बचत गर्ने योजनासमेत सुनाउनुभयो। विशेषगरी खर्च कटौती र गन्तव्य बिस्तारका माध्यमबाट सो बचत गरिने अपेक्षा गरिएको अध्यक्ष खनालको भनाइ छ।

इन्धन, ओभर फ्लाइट, होटल अकमोडेसन, इन्जिनियरिङ, कर्पोरेट सेफ्टी लगायत क्षेत्रमा सुधार गरेर धेरैभन्दा धेरै खर्च कटौती गर्ने उहाँले सुनाउनुभयो। उहाँले भन्नुभयो–‘हामीले तालिका अनुसारको गन्तब्यमा उडान गर्दै आएका छौं।

जहाज जति कम उचाईमा उडान यो त्यति नै इन्धन कम खपत हुन्छ। तर, केही ढिला भने हुन्छ। पूर्व–पश्चिम हावाको वेगले इन्धन खपतमा प्रभाव पार्छ।
यीनै कुरालाई मध्यनजर गर्दै हामीले उडान गर्ने योजना बनाएका हौं, यो योजनाअनुसार निगमलाई १० करोड रुपियाँ बचत हुनेछ।’

जहाजले अतिरिक्त इन्धन बोकेर हिड्न नपर्ने गरी अहिले व्यवस्थापन मिलाइएको बताउँदै जसका कारण अब किटको मूल्य कटौती गर्न सघाउ पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। यस्तै रुट व्यवस्थापनका माध्यमबाट पनि खर्च कटाइएको उहाँले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो–‘इन्जिनियरिङ विभागका माध्यमबाट अब धेरै काम स्वदेशी जनशक्तिबाटै हुन थालेको छ। यसले गर्दा पनि खर्च घटाउन भूमिका खेलेको हो।’
उहाँले जापान उडानको प्रारम्भिक दिनमा हतोत्साहित बनाउने काम भएको भन्दै त्यसले प्रतिस्पर्धामा रहेका अन्य कम्पनीलाई यसबाट फाइदा पुगेको सुनाउनुभयो।
सञ्चार माध्यमहरूले आफूहरूलाई हतोत्साहित हुनेगरी समाचार लेखेको भन्दै उहाँले त्यस्तो गर्दा आफूलाई घाटा भएको सुनाउनुभयो।

उहाँले भन्नुभयो–‘कुनै पनि गन्तव्य रातारात नाफामा जादैन, तर, सुरुकै १÷२ उडानको यात्रु संख््या देखाएर हतोत्साहित बनाउन खोजियो।’ जापान उडानमा अहिले धेरै सुध्रिएको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो–‘अब हामीले यात्रुको साथ पाइसकेका छौँ।’ जापानलगायतका उडानहरू क्रमशः नाफामा जाने क्रममा रहेको उहाँको भनाइ छ।सरकारको अनुमति पाए निगमले ६ वटा चिनियाँ जहाज बेच्ने अध्यक्ष खरेलले बताउनुभयो।

सरकारले अनुमति दिए चिनियाँ जहाज बेच्न निगम तयार रहेको उहाँले बताउनुभयो। खरेलले घाटामा चिनियाँ जहाज चलाउनु भन्दा बेच्नु नै उत्तम हुने उहाँको भनाइ छ। यस्तै निगमले डलर फेयर हटाउने भएको छ।

आन्तरिक उडानमा विदेशी र नेपालीलाई फरक–फरक भाडादर कायम गर्दा विभेद गरेजस्तो हुने भएकाले भाडादर समान कायम गरिएको अध्यक्ष खरेलले जानकारी गराउनुभयो।

उहाँले नेपाली र विदेशी यात्रुका लागि भाडादर समान कायम गरिएको बताउँदै अबदेखि आन्तरिक उडानमा नेपाली र विदेशी दुवै यात्रुको हवाई टिकटको मूल्य बराबर हुने उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्