नेप्सेमा सुधार हुन सकेन



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार दोस्रँे दिन बुधबार १.४४ अंकले घटेर ११३८.०२ अंकमा झरेको छ।
मंगलबार पनि नेप्से परिसूचक ०.८१ विन्दुले घटेको थियो। यद्यपि, सोमबार नेप्से ०.९७ अंकले बढेको थियो।
बुधबार कुल १६० कम्पनीका ७ लाख ५० हजार कित्ता शेयर २० करोड ६२ लाख ५३ हजार ८४७ मा कारोबार भएको थियो। जुन अघिल्लो दिनको भन्दा न्यून हो। सूचीकृत कम्पनीहरूले धमाधम लाभांश घोषणा गरिरहेको भए पनि लगानीकर्ता आकर्षित हुन सकेका छैनन्।
जसको परिणाम स्वरुप परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ।यस कारोबारमा आएका १२ समूहमध्ये चार समूहक व्यापार १७.१६ अंक, लघुवित्त ४.४७, जीवन बीमा २१.३८ र सामूहिक लागनी कोषका समूहको सूचक ०.०२ अंकले बढेको छ।

तर, बैकिङ ०.०३, होटल ७.६८, विकास बैंक ६.९५, जलविद्युत् ४.०३, फाइनान्स २.६२, निर्जीवन बीमा ४.३८, उत्पादन ७.७६ र अन्य समूह ६.८ अंकले घटेको छ। यस दिन कारोबार रकमका आधारमा प्रभु बैङ्क अग्रस्थानमा रहेको छ।

यस बैंकको शेयर चार करोड ३६ लाख रुपियाँमा शेयर किनबेच भयो। पछिल्ला दिनमा प्रभु बैंकको कारोबार अन्य कम्पनीको तुलनामा उच्च हुँदै आएको छ।

समग्र परिसूचक घटेको दिनसाल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन्। यस कम्पनीको शेयर मूल्य ९.८८ प्रतिशतले बढेको छ।

यस्तै नयाँ नेपाल लघुवित्त वित्तको शेयर मूल्य ५.७५ प्रतिशत, सिजर्नी पावर डेभलपमेन्ट ४.१७, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी ४ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीको शेयरमूल्य ४.२८ प्रतिशतले घटेको छ।

बुधबार ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.४१ विन्दुले घटेर २४९.७१ मा झरेको छ।

प्रतिक्रिया दिनुहोस्