सुधारको सुत्र



मानविकी संकायको साख उँचो बनाउने लक्ष्यका साथ त्रिविले यही वर्षदेखि तीन वर्षे बीएको पाठ्यक्रमलाई चार वर्षे बनाएको छ।

मानविकी डीनको कार्यालयले चार वर्षे पाठ्यक्रम किन र अध्यापन कसरी गर्ने भन्ने विषयमा स्नातक पढाउने मास्टरलाई बुधवार त्रिवि परिसर डाक्यो।

भेलाको शुरूमा वरिष्ठहरू बोल्ने नै भए। तर केही वरिष्ठ भने अचम्मैका निस्किए। त्रिवि अनुदान आयोगका अगुवा रहेका पोखरेलको चस्मा उस्तो हो कि उमेर ढल्क्या हो कलेज पढाउने मास्टर जति सबैलाई विद्यार्थी देखे।

‘तपाईंहरू राम्रो कोर्सका लागि आउनु भएको छ, यो कोर्स गरेपछि जागिर पाउन पनि सजिलो हुन्छ’ –उनले यस्तै अर्ती उपदेश दिए।

मानविकी संकायका डिन भुसाल पनि के कम स्नातक तहको प्रयोगात्मक अभ्यास ४० अंकको हुने भन्दै पटक–पटक फलाके।

विद्यार्थीलाई दक्ष र पोख्त बनाउन मास्टर आत्म अनुशासित हुनुपर्ने, प्रयोगात्मक अभ्यासलाई विश्वसनीय बनाउन मास्टरकै भूमिका महत्वपूर्ण हुने उनले अर्ती दिन भ्याए।

धरहराले बुझ्न नसक्या कुरा, वरिष्ठले नै विद्यार्थी र मास्टर छुट्याउन नसक्ने अनि प्रयोगात्मक अभ्यासको पूर्णाङ्कबारे अन्दाजमा गफ दिने भएसी कसरी होला नयाँ पाठ्यक्रम प्रभावकारी ? वरिष्ठहरूको यस्तै मन्दबुद्धिले हो क्यार बजारमा मानविकीको भाऊ खस्क्या ?

प्रतिक्रिया दिनुहोस्