वातावरण संरक्षणमा सचेत रहौ



जलवायु परिवर्तनले आम मानिसको जीवनमा असर पुर्याउन थालिसकेको छ। जलवायु परिवर्तनका कारण मानव जीवन मात्र होइन कृषि, खाद्यान्न, जलस्रोत, वन–जंगल, भौतिक पूर्वाधारलगायत समग्र क्षेत्रमा असर परिरहेको छ। हिमाली क्षेत्रमा समेत लामखुट्टे देखापरेको कुरालाई जलवायु परिवर्तनको ठूलो असरका रूपमा लिन सकिन्छ।

तीव्र विकासको नाममा वातावरण संरक्षण गर्न नसक्दा विश्वभरि जलवायु परिवर्तनको असर देखापर्न थालेको छ। विकसित मुलुकहरूले उत्सर्जन गर्ने कार्बनडाइअक्साइड, नाइट्रसअक्साइड, मिथेन, क्लोरोफ्लोरो कार्बनलगायतका हानिकारक ग्यासका कारण नेपालको तापक्रम विगतमा भन्दा उच्च गतिमा बढ्न थालेको पाइएको छ।

हालै छिमेकी मुलुक भारतको नयाँदिल्ली असपासमा फैलिएको दूषित वायुको प्रभाव नेपालमा पनि फैलिन थालिसकेको छ। छिमेकीलगायत अन्य मुलुकबाट नेपालमा हुने वातावरण प्रदूषण न्यूनीकरण गर्न निकै कठिन हुने भए पनि आफ्नै देशमा भने स्वच्छ वातावरण राख्न ठूलो चुनौती छैन।

विकासको नाममा गरिने वातावरणप्रतिको बेवास्तालाई ध्यान दिएमात्र पनि हाम्रो देशमा स्वच्छ वातावरण राख्न सकिन्छ। स्वच्छ वातावरण कायम राख्न जल, जंगल र जमिन पर्याप्त मात्रामा रहेको हाम्रो देशमा पछिल्लो समय स्वच्छ वातावरण कायम राख्ने कुरालाई ख्याल गर्न छोडिएको छ।

संविधानमा स्वच्छ वातावरणको हकलाई मौलिक हकका रूपमा व्याख्या गरिए पनि कार्यान्वयन भने फितलो बन्दै गएको छ। मुलुक संघीयतामा गएपछि स्थानीय सरकारहरूले त अझ यसको बेवास्ता गरिरहेका छन्।

भौगोलिक संरचनाको हिसाबले हिमाल, पहाड र तराईमा विश्वभरिको हावापानी पाइने भए पनि वातावरण संरक्षणमा ध्यान नपुर्याउँदा यो कुरा इतिहासमा सीमित रहने अवस्था आउन सक्नेछ।

वातावरण संरक्षण नगरी विकास निर्माण अघि बढाउँदा यसको दीर्घकालीन असर पर्छ भन्नेतर्फ सबैभन्दा पहिले तीनै तहको सरकारमा सचेतना आउनु जरुरी छ।

साथै सरोकारवाला निकाय र आम नागरिकमा समेत यो सचेतना ल्याएमा नेपालमा स्वच्छ वातावरण कायम राख्न सहज हुने मात्र होइन तेस्रो मुलुबाट हुने वातावरण प्रदूषण हटाउन अन्तर्राष्ट्रिय फोरममा दर्बिलो कुरा राख्नसमेत सकिन्छ।

हरेक स्थानीय तहमा फोहोरमैला व्यवस्थापन, चुनौती बनिसकेको छ। यो चुनौतीका बेलैमा समाधान नगरे पछि ठूलो वातावरणीय समस्या निम्तने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्