विकासका अगुवा  शंकर



विकास भट्टराई
काठमाडौं

उनी मन्त्री होइनन्। न त संघीय वा प्रदेश संसद्का सांसद नै हुन्। उनी कुनै वडाको अध्यक्ष वा सदस्य पनि होइनन्। उनी अर्थात् प्रभुलाल (शंकर) जोशी कुनै पनि सार्वजनिक निकायमा काम गर्दैनन्।

तर पनि शंकर काठमाडौं महानगरपालिका वडा नं. २६ र १६ मा हाई–हाई छन्। उनले ती दुई वडामा विकासका गतिविधि सञ्चालन गरेका कारण उनी स्थानीय जनताहरू बीच हाई–हाई भएका हुन्

उनको जन्म दोलखामा भएको हो। तर, हाल उनी काठमाडौं महानगरपालिका वडा नं २६ को स्थायी बासिन्दा भएका छन्। उनले २०५४ सालदेखि ती दुई वडाको विकासका लागि प्रक्रिया अगाडि बढाएका हुन्।

सोही सालमा उनले म्हैपीको प्रहरी चौकी अगाडि तरकारी बजार स्थापना गरी विकासको शुरूआत गरेका हुन्। काठमाडौं उपत्यकामा अझै पनि खानेपानीको पर्याप्त स्रोत छैन।

२०६१ सालतिर त झन् खानेपानीको योभन्दा पनि बढी अभाव थियो। त्यति बेला नै ५ हजार लिटरको ट्याङ्की राखेर म्हैपीबासीलाई खानेपानीको अभाव हुन नदिने व्यवस्था शंकरले गरिसकेका थिए।आर्थिक वर्ष २०६२/०६३ सालमा शंकरकै पहलमा म्हैपीमार्ग कालोपत्रे भएको थियो। २०६३/०६४ सालमा म्हैपीमार्गको शाखा बाटाहरूमा ढल निर्माण भएको थियो।

उनी सार्वजनिक पदमा रहेका व्यक्ति नभए पनि यस्ता विकास निर्माणका कार्यहरू कसरी सम्भव भयो भन्ने प्रश्नमा शंकर भन्छन्– ‘कुनै विकास निर्माणका कार्य आवश्यक भयो भने म सम्बन्धित सार्वजनिक निकायमा जान्छु।

त्यहाँ यथार्थ कुरा राख्छु। त्यसपछि सम्बन्धित पदाधिकारीले त्यसमा समर्थन जनाउँदै सम्बन्धित योजना अगाडि बढ्छ।’

हुन पनि उनले यस्तै प्रक्रियाबाट वडा नं. २६ र १६ मा विकास निर्माणको कार्यलाई अगाडि बढाएका कारण सबैको हाई–हाई भएका हुन्।

२०६४/०६५ सालमा हालको सम्झौता मार्ग टोलभित्रको अव्यवस्थित ढललाई म्हैपीमार्गको मूल ढलमा मिसाउने कार्य सम्पन्न गरेका थिए।

यसबाट स्थानीयबासीले राहतको महसुस गरेका थिए। २०६५ सालमा म्हैपी प्रहरी बिट नजिक ५ हजार लिटरको ट्याङ्की राखी स्थानीयबासीलाई अर्को राहातको कार्य शंकरले गरेका थिए।

सोही सालमा नवसंगम मार्गमा अर्को ट्याङ्की राखिएको थियो।आर्थिक वर्ष २०६८/०६९ मा १ सय ८८ घरधुरीलाई पुग्ने गरी पाइप विछ्याई खानेपानीको व्यवस्था गरिएको थियो। ‘यसले गर्दा शंकर झन् हाई–हाई भएका छन्।’ –स्थानीय ज्ञानकाजी महर्जनले भने।

शंकरले नै २०७० सालमा सम्झौता मार्गको भित्री बाटोमा ब्लक छाप्ने कार्य गरी स्थानीयको मन जितेका छन्।

यति मात्र होइन विद्युत् प्राधिकरणसँग मिली २०७३ सालमा नवसंगम मार्गमा उनले बिजुलीको ट्रान्सफरमर राख्ने कार्य पनि सम्पन्न गरेका छन्।

हाल उनी गत भदौ ६ गते देखि रेडहन कलेज र कोइराला मार्ग वरपरका ५२ घरधुरीलाई पुग्ने गरी खानेपानीको पाइप बिछ्याउने कार्यमा व्यस्त छन्।
सोही महिनादेखि सामाखुसी रानीबारी तथा सङ्कल्प मार्गमा स्थानीयबासीको मागबमोजिम बिजुलीको ठूलो खम्बा राखिएको छ।
‘हाम्रो एउटै आवाज, समृद्धि र विकसित समाज’ भन्ने उनको नारा रहेको छ।
उनको अन्य कार्य ः
  •  लैनचोर वरपर खानेपानी पाइप लाइनको विस्तार कार्य अगाडि बढाइँदै।
  •  नयाँ बसपार्क जोड्ने दुप्चेश्वर मार्गमा खानेपानीको विस्तार।
  •  दुप्चेश्वर मार्गमा नै सडकबत्ती हाल्ने कार्य सम्पन्न।
  •  हनुमान गल्लीको शाखा मार्गमा सडक बत्ती राख्ने र ब्लक छाप्ने कार्य सम्पन्न।
  •  २०७३ सालमा म्हैपी मूल जीएलडी सडकलाई ८ मिटर बनाई कालोपत्रे गरिएको।
  •  म्हैपी जनमार्गमा ब्लक छाप्ने कार्य सम्पन्न।
  • ड्ड गुरु नानक मठको दक्षिणपूर्वी टोलमा खानेपानी पाइपलाइन र सडक कालोपत्रे गर्ने कार्य सम्पन्न।

उनले यीबाहेक अन्य साना ठूला कार्य अनगिन्तीरूपमा गरेका छन्। साँच्चै भन्ने हो भने शंकर र विकास भनेको पर्यायवाची शब्द हो भन्छन् स्थानीय बासिन्दा।सिन्धुपाल्चोक घर भई लैनचौर बस्ने सुरेश तामाङले विशेष गरी २६ नम्बर वडामा शंकरको पहलमा धेरै नै योजना सम्पन्न भएको बताउँदै उनी एक होनाहार समाजसेवी भएको उल्लेख गरे। शंकर भन्छन्– ‘मैले हालसम्म निःस्वार्थ समाजसेवा गरें। अब पनि यही कार्यलाई नै अगाडि बढाउने मेरो चाहाना छ।’

प्रतिक्रिया दिनुहोस्