त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा 



भारत ।
भारतको पाहुना टोली मोलवे एफसी असामलाई पहिलो चरणमै पराजित गर्दै त्रिभुवन आर्मी क्लब जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

झापाको डोमालाल राजवंशी रङ्गशालामा बुधबार भएको तेस्रो क्वाटरफाइनलमा २–० गोलले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित ८० मिनेटको खेलमा आर्मीले पहिलो र दोस्रो हाफमा १–१ गोल गरेको हो ।

आर्मीका लागि टेकबहादुर बुढाथोकी र दिपक गुरुङले गोल गरेका हुन् । खेलको ६ मिनेटमै गोल गरेर आर्मीले अग्रता लिएको थियो । जसमा टेकबहादुर बुढाथोकीले सम्झनालायक गोल गरेका थिए ।

दायाँ कर्नरबाट टङ्क बस्नेतले दिएको क्रस पासमा टेकबहादुरले गोल गरेका हुन् । टङ्कको क्रसमा आएको ‘एयर बल’लाई चिप गर्दै टेकबहादुरले गोलपोस्टको दिशा दिएका थिए । प्रतिस्पर्धात्मक खेलमा अधिकांश समय आर्मीले असामको गोलपोस्टमा आक्रमण बुनेको थियो । त्यस्तै असामले आर्मीविरुद्ध सङ्घर्षपूर्ण प्रदर्शन गरेर झापाली दर्शकको समर्थन बटुलेका थिए । तर असामका खेलाडीको फ्रन्ट लाइनमा फिनिसिङ राम्रो नहुँदा स्कोर भने हुन सकेन ।

असामका खेलाडीले खेलको ७४ मिनेटसम्म आर्मीलाई १–० को स्थितिमा रोकेको थियो । तर असामका गोलरक्षक अल्वर्ट ह्मारको कमजोरीले आर्मीले अग्रता दोब्बर बनाएको थियो ।

खेलको ७४ औँ मिनेटमा पाएको फ्रिकिकमा दिपक गुरुङको प्रहार गोलमा परिणत भएको थियो । दिपकको सोझै प्रहार गोलरक्षक अल्वर्टको हातमा परे पनि बल फुत्किएर जाली चुमेको थियो ।

खेलको म्यान अफ दी म्याच खेलको पहिलो गोलकर्ता आर्मीका टेकबहादुर बुढाथोकी घोषित भए । पुरस्कार सौजन्यकर्ता समाजसेवी श्याम गुरुङले नगद रु १० हजार प्रदान गरेका छन् । बिहीबार चर्च ब्वाइज एफसी काठमाडौँविरुद्ध गोर्खा ब्वाइज एफसी बुटबलबीच प्रतिस्पर्धा हुने बताइएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्