प्रदेश २ को विद्युतीकरणमा नर्वेको साढे चार अर्ब अनुदान



नेपाल समाचारपत्र, काठमाडौं।

प्रदेश नम्बर २ को विद्युत् आपूर्ति सुदृढीकरण र विस्तारका निम्ति नर्वेले चार करोड अमेरिकी डलर (करिब साढे चार अर्ब रुपियाँ) अनुदान दिने भएको छ।नर्वेले प्रदेश तथा स्थानीय तह शासकीय सुधार सहयोग कार्यक्रमअन्तर्गत उपलब्ध गराउने १० करोड डलरमध्ये प्रदेश २ मा विद्युत् आपूर्ति सुधारका लागि चार करोड डलर खर्च गर्नेछ।

अनुदान सम्झौतामा अर्थ मन्त्रालय सचिव राजन खनाल र नेपालस्थित नर्वेली राजदूत लास्से जोर्न जोहानेसेंले हस्ताक्षर गर्नु भएको हो।नर्वेली सरकारले उपलब्ध गराउने अनुदान रकम प्रदेश २ का जिल्लामा विद्युतीकरण र विद्युत् आपूर्तिलाई विश्वसनीय, गुणस्तरीय तथा भरपर्दो बनाउन खर्च गरिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो।

‘अनुदान रकम प्रदेश २ को विद्यत् आपूर्ति सुधार तथा विस्तारका लागि ९ वटा नयाँ सबस्टेसन निर्माण, प्राविधिक चुहावट नियन्त्रण, विद्युतीय सुरक्षा, विद्युतीकरण लगायतमा खर्च हुने छ,’ उहाँले भन्नुभयो–‘काम गर्न ठेकेदार छनोटका लागि तत्काल टेन्डर गरी काम शुरु गर्ने छौं, २/३ वर्षभित्रमा काम सक्ने छौं।’ प्रदेश २ मा रहेका ८ जिल्लामँ ७९.७७ प्रतिशत विद्युतीकरण भएको छ।

प्रतिक्रिया दिनुहोस्