छाउ : एक सामाजिक पीडा



रजश्वला वा महिनावारी हुँदा नछुने बार्ने चलन नेपालको खस, मैथिल, कुमाईं, बाहुन, क्षत्री परिवारमा चर्को छ। पश्चिम नेपालको उत्तरी भागमा रजश्वला हुँदा र सुत्केरी हुने दुवै अवस्थामा छाउ बार्ने वा छाउगोठमा राख्ने चलनले अद्यापि कहालीलाग्दा नतिजा निकाल्ने गरेको कुरा प्रायः समाचारमा आइराखेका छन्।

नारीको यो मासिक धर्मको निश्चित समयमा तिनको स्पर्शतालाई निषेध गरेर महिलालाई अछूत बनाउने चलनलाई छाउपडी र नछुने भएको भनेरै चिनाउने गरिएको छ। मानवअधिकारका दृष्टिले छाउपडी र नछुनेका नाममा महिलााथि हुने भेदभाव, वञ्चिती वा निषेध एक प्रकारको ज्यादती हो।

देउता रिसाउने, अशुभ हुने लगायत सामाजिक मान्यताका कारण जाजरकोटका अधिकांश घरका महिलाले महिनावारी हुँदा छाउ बार्ने गरेको पाइन्छ। जिल्लाका केही ठाउँमा अहिले पनि छाउगोठमै गएर बस्ने प्रचलनका कारण धेरै महिलाको ज्यानसमेत गएको छ।

परम्परागत सोच र सामाजिक परम्पराको दबाबमा छाउगोठमा बस्ने प्रचलन अशिक्षित मात्रै होइन शिक्षित वर्गमा पनि व्याप्त रहेको छ। छाउगोठ बस्दा चिसोले समस्या हुने मात्रै होइन सर्पले टोकेर समेत कतिपय महिलाले अकालमा ज्यान गुमाउन पुगेका घटना भएका छन्।

केही समयअघि छाउगोठमा निसास्सिएर दुई बालक छोरासहित आमाको मृत्यु भएको थियो। महिनावारी महिलाको प्रजनन स्वास्थ्यमा हुने एक सामान्य प्रक्रिया हो, यसलाई अशुभ मान्ने प्रचलनका कारण महिला तथा बालबालिकाको ज्यान जाँदा छाउगोठ हटाउन नसक्नु लज्जाको विषय हो।

देउती रिसाउँछिन् भनेर पुरुषहरूले नै महिलालाई गोठमा जान बाध्य पार्ने प्रचलन जबसम्म हटाउन सकिँदैन तबसम्म महिला तथा बालबालिका सुरक्षित जीवनयापन गर्न पाउँदैनन्। पुरुषमा रहेको असामाजिक चेतनालाई सबैभन्दा पहिला निर्मूल पार्न जरुरी छ।

जनप्रतिनिधिदेखि शिक्षक, राजनीतिक दलका परिवारमा समेत महिनावारी हुँदा बाहिर सर्ने चलन विगतदेखि नै चलिआएको नागरिक अगुवा बताउँछन्।

आफ्नो गाउँठाउँलाई परिवर्तनको दिशातिर उन्मुख गराउने प्रतिबद्वता जनाएका जनप्रतिनिधिले छाउगोठमा बस्नुपर्ने बाध्यतात्मक अवस्था हटाउन नसक्नु लोकलाजको विषय हो।

जबसम्म शिक्षित वर्ग र जनप्रतिनिधिहरूले छाउगोठमा बस्ने कुप्रथालाई हटाउन सचेतना भूमिका खेल्न सक्दैनन् तबसम्म मानव विकासले गति लिन सक्दैन।

जबसम्म मानव विकास हुँदैन तबसम्म आफ्नो गाउँठाउँको विकास हुने पनि सम्भावना हुँदैन। विज्ञानले दुनियाँलाई डिजिटलाइज गरेको युगमा पनि महिनावारी हुँदा छाउगोठमा बस्नुपर्ने प्रचलनले नेपालीको मानव विकास कुन गतिमा छ भन्ने पनि प्रस्ट पारेको छ।

अशिक्षित वर्ग त चेतनाको कारण छाउगोठ बस्नु सहज भएपनि शिक्षित वर्गनै यसलाई मलजल गर्न तल्लीन हुनु भने आफ्नो खुट्टामा आफैं बन्चरो प्रहार गर्नु हो।

अर्काेतर्फ विद्यालयमा लाजका कारण स्वास्थ्य तथा शारीरिक विषयसमेत राम्रोसँग पढाइ नहुँदा अर्को समस्या आएकोमा कसैको पनि दुईमत छैन।

देशका दुर्गम क्षेत्रमा प्रजनन स्वास्थ्यको विषयमा सहजरूपमा पठनपाठन पनि हुन नसकेको थुप्रै उदाहरण छन्। स्वास्थ्यका शिक्षकले खुलेर प्रजनन स्वास्थ्यका विषयमा कक्षा लिन र दिन नसक्दा व्यवहारमा लागू हुने कुरा पनि भएन।

उमेर बढ्दै जाँदा शरीरमा देखा पर्ने विभिन्न खालका परिवर्तनका विषयमा शिक्षकले कक्षामा पढाउन खोज्दा छात्रा टाउको निहुँ¥याएर बस्ने र छात्रहरूले हाँसेर उडाउने प्रचलन कायम छ।

विद्यालयमा पढाएका कुरा स्वयं शिक्षकले घरमा लागू गर्न नसक्नु अर्को दुर्भाग्य हो। शिक्षा दिने शिक्षक–शिक्षिकाले जबसम्म महिनावारीको विषयमा घरमै व्यावहारिक रूपमा लागू गर्न सक्दैनन् तबसम्म छाउगोठ बस्ने प्रचलन हट्ने कोरा कल्पना मात्र हुनेछ।

छाउगोठले धेरै महिला र बालबालिकाको ज्यान लिएको देख्दा पनि अन्धो बन्ने प्रवृत्ति तबसम्म हामीले त्याग्दैनौं तबसम्म यसको कहरले ज्यान लिइरहन्छ।

महिनावारीकै कारण महिलाहरू टिमुरजस्तै खुम्चने गरेको पाइन्छ। उनीहरू खुम्चिएर बस्न बाध्य छन्। महिनावारी बार्ने कुरालाई लिएर मानसिक रोगले गर्दा पाठेघरसम्बन्धी समस्या हुने, मृगौलासम्बन्धी रोग लाग्ने, मूत्रप्रणालीमा समस्या आउने देखिन्छ।

महिनावारीसँग अन्य रोग लाग्ने पनि हुनसक्छ। अर्को पुस्ता पनि खुम्चिँदै जानेजस्ता समस्याको बीजारोपण हुने गर्दछ। छाउपडी प्रथाले गर्दा समाजमा महिलाहरूका लागि महिनावारी मुख्य समस्या बन्दै गएको छ।

तसर्थ, छउपडी प्रथाको अन्त्य गर्न समाजमा व्यापक सचेतना अभियान सञ्चालन गर्नुपर्छ। समाजमा वर्षौंदेखि गाडिएको प्रथाको अन्त्य गर्न हरेक नागरिक सक्रिय भएर लाग्नुपर्छ। सबैलाई सचेतना दिएर छाउगोठ आफैं भत्काउने अभियान थालनी गर्नु जरुरी छ।

 

प्रतिक्रिया दिनुहोस्